पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा भक्तपुरमा मशाल जुलुस
जेठ १२, २०७९, बिहीबार | विहान ०५:०७ बजे | 20
विनिता थापा
सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्वि गरेको भन्दै उक्त मूल्यवृद्धिविरुद्धमा बुधबार सिर्जनानगर भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ ।
पेट्रोलियम पदार्थ, खाधान्नलगायतका दैनिक उपभोग्य बस्तुमा भएको चरम मूल्यवृद्विविरूद्व बुधबार साँंझ वृहत् मशाल जुलुस गरेको हो ।
मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले जीवन नै धन्न गारो हुने भएकाले यसलाई स्वीकार्न नसकिने भन्दै युवाहरूले बृहत् मशाल जुलुस गरेको हो ।
राष्ट्रिय युवा संघ नेपालको भक्तपुर जिल्ला कमिटी अध्यक्ष पुष्पराज बस्नेतले खाधान्नलगायतका दैनिक उपभोग्य बस्तुमा भएको चरम मूल्यवृद्विले समग्र क्षेत्रमा प्रभाव पार्ने र जनतालाई दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न नै समस्या परेकाले वृहत मशाल जुलुस गरेको बताउनुभयो ।
कार्यक्रमको नेतृत्व राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य प्रदिप खत्री तथा जिल्ला कमिटी भक्तपुर उपाध्यक्ष एबं युथ फोर्स बिभाग प्रमुख रविन थापाले गरेका थिए ।
नेपाल आयल निगमले आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु २०० वृद्धि गरेको थियो ।