भक्तपुरमा साहित्यिक भेटघाट तथा शुभकामनापत्र समर्णण कार्यक्रम सम्पन्न
जेठ ८, २०७९, आइतबार | दिउँसो ०३:५१ बजे | 20
भक्तपुर । नेपाल कला, संस्कृति, साहित्य प्रतिष्ठानको आयोजनामा आइतबार साहित्यिक भेटघाट तथा शुभकामना अर्पण कार्यक्रमको सम्पन्न भयो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष डा इन्दुल केसीको सभापतित्व, जीवनाथ अधिकारीको सञ्चालन, बुद्धिकुमार घोको स्वागत तथा हरिबहादुर श्रेष्ठको धन्यवाद ज्ञापनमा सम्पन्न गरियो । कार्यक्रम आदर्श माध्यमिक विद्यालय, लाय्कु, ठिमीमा भएको थियो । कार्यक्रममा सर्वप्रथम छन्द कविता मञ्चका सदस्य बिरजा घिमिरेको शुभजन्मदिनको पावन अवसरमा छन्द कविता मञ्चका तर्फबाट शुभकामनापत्र समर्पण गरियो । सो शुभकामनापत्र छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले वाचन गर्नुभएको थियो भने आदर्श माविका प्रअ तथा कवि बुद्धिकुमार घो बिगुलले खादा पहिराउनुका साथै डा इन्दुल केसीले शुभकामनापत्र समर्पण गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा साहित्यकार द्वय पदम दाहाल र प्रजापति तिमल्सिनाले गर्नुभएका साहित्यिक यात्राका अनुभूति प्रस्तुत गर्नुभयो । पदम दाहालले रामेछाप, ओखलढुङ्गा, रुम्जाटार, हलेसी, दिक्तेल, दावाँ, भोजपुर–टक्सार, दिङ्ला, खाँदबारी, धनकुटालगायतका स्थानको भ्रमणबाट साहित्य लेखनमा आफूहरूले थप उर्जा प्राप्त गरेको उल्लेख गर्नुभयो । त्यस्तै प्रजापति तिमल्सिनाले कर्णाली प्रदेश, सिँजा उपत्यका, मुगु, रारालगायतका स्थानको भ्रमणको विवरण रोचक शैलीमा प्रस्तुतुत गर्नुभयो । कार्यक्रका बारेमा पूर्व जिल्ला शिक्षा अधिकारी शङ्कर मानन्धरले कार्यक्रम रोचक र ज्ञानवर्धक रहेको बताउनुभयो । त्यसै गरी कार्यक्रमबारे टिप्पणी गर्दै डा सीता सुवेदी पन्थीले कार्यक्रमको औचित्य प्रस्ट्याउनुभयो ।
कार्यक्रममा जीवनाथ अधिकारी, पदम दाहाल, बिरजा घिमिरे, बुद्धिकुमार घो बिगुल, लालबहादुर भुजेल, साधुराम गिरी, चुडाप्रसाद चौँलागाईँ, सीता सुवेदी पन्थीलगायतका कविले कविता वाचन गर्नुभएको थिया, प्रजापति तिमल्सिनाले गीत प्रस्तुत गर्नुभयो भने पत्रकार कृष्ण किसीले यस्ता कार्यक्रमले साहित्यलाई उर्वरा बनाउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।
सभापतिको आसनबाट डा इन्दुल केसीले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । कार्यक्रम करिब साढे दुईघण्टा चलेको थियो ।