सौन्दर्य थप्दै भक्तपुरका पोखरी
जेठ ८, २०७९, आइतबार | दिउँसो ०१:५२ बजे | 10
सविना कार्की
भक्तपुर । पछिल्लो समय भक्तपुर जिल्लाका विभिन्न ऐतिहासिक एवं पुरातात्कि पोखरीहरुले शहरको आकर्षण बढाएका छन् । कतिपय पुननिर्माण भएका छन् भने कतिपय नवनिर्माण भएका छन् ।
भक्तपुरको रानीपोखरी, मध्यपुर ठिमीको दुईपोखरी जस्ता सम्पदा पुनर्निमाणले आन्तरिक पर्यटक समेत थपेको स्थानीयबासीको भनाई छ ।
भक्तपुरलाई पोखरीको शहर समेत भनिन्छ । विभिन्न कारणले यो जिल्लामा रहेका अनेकौं पोखरी बेवारिसे अवस्थामा पुगेका थिए । तिनको संरक्षणाका लागि नगरपालिकाले योजनाबद्ध काम अघि बढाएको थियो ।
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणका लागि विशेष कार्यक्रम नै ल्यायो र सम्पदाविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा पोखरी अध्ययन अनुसन्धान समिति गठन गरेर काम थालेको थियो
।
मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ पोखरी र सम्पदा पुननिर्माणमा आफै सक्रिय भए । उनी अहोरात्र आफ्नो नगरपालिकाको टोलीलाई परिचालन गरेर पोखरीलाई हेर्न लायक बनाउने काममा सफल भए ।
‘हाम्रो पहिलो प्राथमिकता नै सम्पदा बचाउनु थियो । सोही अनुसार बजेट तर्जुमा गरी काम थाल्यौं । सफल पनि भएका छौं, मेयर श्रेष्ठले भने ।
भक्तपुर नगरपालिकामा भने पोखरीको अध्ययन गर्दै जाँदा भक्तपुर(१ मा रहेको भाज्यापोखरी काठमाडौंको रानीपोखरीभन्दा पनि पुरानो र ऐतिहासिक भएको तथ्य फेला प¥यो। “पोखरीमा रहेको भग्नावशेषमा भेटिएका इँटा, मूर्ति तथा पोखरीसँग सम्बन्धित सम्पदाको अध्ययनपछि यो पोखरी काठमाडौंको रानीपोखरीभन्दा पाँच सय वर्षअघिको भएको देखियो,” श्रेष्ठले भने, “भाज्यापोखरीको मध्यभागमा मन्दिर थियो भन्ने कुरा यसअघि जानकारीमा थिएन।”
मन्दिर मल्लकालको उत्तरार्धमा जीर्णोद्धार अभावमा भत्किएर विस्मृतिमा परेको थियो। यसै कारण मल्लकालपछिका पुस्ताले त्यहाँ मन्दिर थियो भन्ने बिर्से। यसको विनाशमा प्राकृतिक र राजनीतिक दुवै कारण भएको हुन सक्ने श्रेष्ठको अनुमान छ। शाहकालमा यो मन्दिर ओझेलमा परेको उनले जनाए। पोखरीको मध्य भागमा अवस्थित शिखर शैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको छ।
उनका अनुसार, नेपाल संवत् ८०१ ९विक्रम संवत् १७३८० मा नेपालमण्डलमा ठूलो भूकम्प गएको थियो। भूकम्पमा परी मन्दिर भत्किएको र पछि राजा भएका जितामित्र मल्ल र उनका छोरा भूपतीन्द्र मल्लको ध्यान जीर्णोद्धार, पुनर्निर्माण र नवनिर्माणतिर गएको देखिन्छ। “भक्तपुरको सौन्दर्यीकरणमा पनि यिनै बाबुछोराको योगदान देखिन्छ,” श्रेष्ठ भन्छन्।
भक्तपुर नगरपालिकामा पुराना पोखरी पुनर्निर्माण गर्ने क्रममा भएका पोखरीसँगै अन्य तीन वटा पोखरीले पनि जीवन्तता पाएका छन्।
सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय परिसरमा रहेको रानी पोखरी भक्तपुरका राजा जगज्योति मल्लले १६८७ सालमा रानी राजलक्ष्मीको सम्झनामा बनाउन लगाएको बताइन्छ। त्यसको करीब ४० वर्षपछि मात्र प्रताप मल्लले काठमाडौंको रानीपोखरी बनाउन लगाएका थिए।
२०४० सालतिर सैनिक तालीम केन्द्र बनेपछि नागरिकको पहुँच बाहिर प¥यो। नागरिकलाई त्यहाँ आउजाउमा रोक लगाइयो।
कुलदेवताको पूजा गर्न चाहनेलाई दुई दिन जान दिइए पनि अन्य दिन जान बन्द गरियो। सेनाको नियन्त्रणमा रहेको पोखरी खुला गर्न स्थानीयले वर्षौंदेखि माग गर्दै आएका थिए।
नगरपालिकाको पहलमा सर्वसाधारणका लागि पुनः खुला गर्ने गरी मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएको छ। रानीपोखरीलाई पनि पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना छ।
भक्तपुर नगरपालिकाको सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ भक्तपुर नगरपालिकाभित्र अहिले जम्मा ३२ वटा पोखरी रहेको बताउँछन्। “भाज्या पुखु, रानी पुखु बाहेक नगरपालिकाले लोप भइसकेका भक्तपुर(६ को भोलाछे पुखु र भक्तपुर(८ को जेला पुखुलाई पनि पुनर्निर्माण सम्पन्न गरिसकेको छ,” उनले भने।
नगरपालिकाभित्र रानी पुखु ९पोखरी०, सिद्ध पुखु, भाज्या पुखु, न पुखु, काल ढचा, टेखा पुखु, भन ९भन्डारखाल० पुखु, नाग पुखु, मंगल कुण्ड, देगमना पुखु, लैंको पुखु, मेलुखेल पुखु, कुमारी पुखु, व्यासी(१ पुखु, व्यासी(२ पुखुको पुनर्निर्माण गरिएको छ ।
यसैगरी भोलाछें पुखु, क्वाठण्डौं पुखु, अंचा पुखु, नाग पुखु, बेखाल पुखु, याता पुखु, कमल पुखु, लामगाल पुखु, खंचा पुखु, चोर्चा पुखु, संला गणेश पुखु, जेला पुखु, गोङ्ग पुखु, कमलपोखरी पुखु, च्याम्हासिंह पुखु छन् । यी सबै पुखुलाई संरक्षण गरेर पहिलाकै अवस्थामा ल्याउन संरक्षणका कार्य भइरहेको छ ।
स्थानीय तहको सक्रियतामा यी पोखरीको पुनर्निमाण भएपछि जनतामा नयाँ खालको आशा समेत पलाएको छ ।