भक्तपुरका बौद्ध सम्पदाको दर्शनमा साइकल यात्रीहरू
जेठ १, २०७९, आइतबार | विहान १०:३५ बजे | 25
भक्तपुर । भक्तपुरका अधिकांश बासिन्दाहरू हरेक बिहान विभिन्न मठ, मन्दिर, बिहार तथा नगरको हरेक कुनामा रहेका पौराणिक मुर्तिहरूमा प्राण भर्दै भगवानलाई पुजेर दिनको शुरूवाट गर्ने गर्दछन्। यसरी नै यहाँका सम्पदाहरू सदैव जीवन्त भइरहेका छन्। यही ऐतिहासिक नगरी भक्तपुरमा हरेक वर्ष झै यस वर्ष पनि विभिन्न कार्यक्रम सहित विश्व शान्तिका अग्रदुत भगवान् बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगको पवित्र पूर्ण दिन बैशाख पुर्णिमा बुद्ध संवत २५६६ को बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैछ। यस पावन अवसरमा शनिबार बुद्ध जयन्ती मुल समारोह समिति – भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजना “भक्तपुरका बौद्ध सम्पदा दर्शन साइकल यात्रा” सम्पन्न भएको छ। सो साइकल यात्रामा भक्तपुर, पाटन, काठमाडौँ र बनेपाबाट सय जना भन्दा धेरै साइकल यात्रीहरू सहभागी भएका थिए।
भक्तपुर इनाचो अवस्थित मुनि बिहारका प्रमुख भिक्षु विपस्सी महास्थवीरद्वारा शील प्राथना पश्चात साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालालाई बौद्ध झण्डा हस्तान्तरण गरेपछि साइकल यात्रा शुरू भएको थियो। सम्पदा अध्यता तथा लेखक गणेशराम रञ्जितले सहभागीहरूलाई यात्राको दौरान प्रत्यक महाबिहार, बहा तथा बही सम्बन्धित इतिहास, किंवदन्ती तथा सो स्थानमा मनाइने चाड तथा परम्पराको विषयमा वर्णन गरी ती सम्पदाको बारे ज्ञान दिएर साइकल यात्रालाई रोचक र ज्ञानमुलक बनाउनु भएको थियो।
“भक्तपुर आउँदा सधैँ दरबार स्वायर र मुख्य बाटो मात्र हिड्ने गर्थ्यौ, आजको यात्रामा वास्तविक भक्तपुरको गल्ली तथा यहाँको विभिन्न बिहार, चैत्यहरू घुम्दै जानकारी लिन पाउँदा निक्कै नै उत्साहित छु”– यात्राका सहभागी कमला पुनले बताउनु भयो।
“मठ– मन्दिरले सजिएको नगर भक्तपुरमा यति धेरै बिहार तथा चैत्यहरू छन् भनेर कहिले याद गरेको थिएन। गल्ली भित्र साइकल चलाउदाँको रौनकता पनि बेग्लै, कार्यक्रम आयोजकलाई धेरै धेरै धन्यावाद” – पाटनबाट आउनु भएका सहभागी राजेश महर्जनले खुसी व्यक्त गर्नु भयो।
करिब ७ कि.मिको साइकल यात्रा धर्मोत्तम महाबिहार (मुनि बिहार)– खँचा बाट शुरु भइ ईन्द्रवर्ण महाबिहार – ईनाचो, मंगल धर्मदिप महाबिहार ( झौरबही)– गोलमढी, लुँ बहा, सुकुलढोका – चतुरब्रह्म महाबिहार – साकोठा बाट टौमढी हुदै अखण्डशील महाबिहार – बोलाछेँ, नासमना हुदैँ खौमा बहा – खौमा, पद्मपानी लोकेश्वर (लस्क द्य) – इनाछेँ, जेतवर्ण महाविहार – तेखापुखु, समक्रित महाबिहार (कुटु बही)– भार्वाचो, जयक्रिती महाबिहार (थथु बही)– नः पुखू, पुण्य जेतवन महाबिहार– इटाछे बाट भक्तपुर दरबार स्वायर – बालाखु – त्रीपुरासुन्दरी – छुमागणेश – महालक्ष्मी – मञ्जुवर्ण महाविहार (वाउँ बहा), बेखाल , प्रशन्नशील महाबिहार– क्वाथन्दौ बाट नवदुर्गा– गछें हुदै आदिपद्म महाविहार– सूर्यमढी बाट जेंंला – वाचु टोल हुदैँ पुनः मुनि बिहारमा पुगेर समापन भएको थियो। कार्यक्रमको अन्त्यमा बौद्ध सम्पदा दर्शन साइकल यात्रामा सहभागी भइ भगवान् बुद्धको शान्ती, मैत्री र करूणाको सु–सन्देश फैलाउन पुराएको योगदानको सम्मान गर्दै भिक्षु विपस्सी महास्थवीरले सम्पूर्ण सहभागीहरूलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। साथै भक्तपुरको बौद्ध संस्कृति तथा सम्पदाको विषयमा आफ्नो अमुल्य ज्ञान बाडेर कार्यक्रमलाई सफल बनाउनु भएकोमा सम्पदा अध्यता तथा लेखक गणेशराम रञ्जितलाई विशेष सम्मान पत्र प्रदान गर्नुभएको थियो।