भावनाया किचः सार्वजनिक


बैशाख १९, २०७९, सोमबार | विहान ०७:२३ बजे | 20


भावनाया किचः सार्वजनिक

उपन्यासकार तथा कवयित्री रीता महर्जनद्धारा लिखित भावनाया किचः नामक हाइकुसङ्ग्रह एक समारोहका बीच सार्वजनिक गरिएको छ । लुम्बिनी सम्यक् फाउण्डेशनको आयोजनामा भएको सो समारोहमा समालोचक डा. ज्योति तुलाधर र उपन्यासकार मथुरा साय्मीले कृतिको विमोचन गर्नुभयो ।
प्रमुख अतिथि डा. ज्योति तुलाधरले नेपालभाषामा हाइकुलेखन फष्टाउन थालेको बताउँदै यसलाई अब परिमार्जित र स्थापित गर्नेतर्फ स्रष्टाहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।
वरिष्ठ उपन्यासकार साय्मीले स्रष्टा महर्जनमा बहुमुखी प्रतिभा छ भन्दै उनको लेखनले अझ गति सकोस् भनेर कामना गर्नुभयो ।
पुस्तकमाथि टिप्पणी गर्दै कथाकार धु्रव मधिकर्मीले प्रेम, जातीय पहिचान, नारी मनोभावना र धर्म सम्पदा आदि विविध विषयसंग सम्बद्ध अनुभूतिलाई मानवीय संवेदनासित जोडेर प्रभावकारी हाइकु सिर्जना गरिएको बताउनुभयो ।
स्रष्टा रीता महर्जनले विद्यार्थीकालदेखि साहित्यमा रुचि भए पनि धेरैपछि मात्र प्रकाशनमा आएको बताउँदै आफ्नो लेखनमा सघाउनेहरुप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेवा हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधान, लोककवि राजभाइ जकमी, पौभा साय्मी, फाउण्डेशनका अध्यक्ष डा. माणिकरत्न शाक्य र महर्जन रत्नले पनि मन्तव्य राख्नुभएको थियो ।
स्रष्टा महर्जनको तेश्रो कृति भावनाया किचः हाइकुसङ्ग्रहमा प्रेम, नारी र प्रकृति, परम्परा र सम्पदा, धर्मको स्मरण शीर्षकमा लेखिएका डेढसय जति हाइकु ससंग्रहित छन् ।

Comments