स्थानीय उत्पादनहरुको प्रवद्र्धनार्थ हाट बजार सञ्चालन


बैशाख १०, २०७९, शनिबार | विहान १०:१० बजे | 20


स्थानीय उत्पादनहरुको प्रवद्र्धनार्थ हाट बजार सञ्चालन

भक्तपुर चेम्बर अफ कमर्सको प्रस्तुतीमा भक्तपुरमा एकदिने हाट बजार सञ्चालन भएको छ । स्थानीय उत्पादनहरुको प्रवद्र्धनार्थ जुजु इभेण्टसले उक्त हाट बजारको आयोजना गरेको हो । भक्तपुर दरवार स्क्वायर परिसरमा रहेको वत्सला गार्डेन रेष्टुरेण्टमा सञ्चालन भएको हाट बजारमा २५ वटा स्टलहरु रहेका छन् । जसमा खाद्य सामग्री, हस्तकलाका सामग्री, कृषि उत्पादन, नेपाली लता कपडा आदिका स्टलहरु रहेका छन् ।
उक्त हाट बजारको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष्ँ श्री राजेन्द्र मल्लले एक समारोहका बीच गर्नु भयो । सो अवसरमा स्थानीय उत्पादनहरुको प्रवद्र्धनार्थ आयोजना हुने यस प्रक्रितिको कार्यक्रमको विशेष महत्व भएको बताउनु भयो । साथै आयात प्रतिस्थापन गर्न सकिने किसिमका उत्पादनहरुलाई विशेष प्रथमिकतामा राखेर प्रवद्र्धन गर्नु पर्नेमा पनि वहांले जोड दिनु भयो ।
यसै गरी कार्यक्रममा बोल्नु हुंदै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले सबैको सहकार्यबाट स्थानीय उत्पादनहरुको विकासमा सहयोग पुग्ने बताउनु भयो । साथै भक्तपुर चेम्बर अफ कसर्मले जिल्लाका विभिन्न स्थानहरुको यस प्रकृतिका हाटबजारहरु सञ्चालनका लागि प्रोत्साहन गर्दै जाने बताउनु भयो ।
कार्यक्रममा आयोजक संस्था जुजु इभेण्टसका श्री सुसान्त सुवालले सहभागीहरुलाई स्वागत गर्नु भएको थियो भने जुजु इभेण्टसका श्री आसिम वेंजुले हाट बजारको उद्देश्यका बारेमा बोल्नु भएको थियो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्य समिति सदस्यद्वय श्री रोशन भोयद्यो र श्री परसुराम दाहालले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटनकै अवसरमा भक्तपुर चेम्बर अफ कमर्सबाट नयां वर्ष २०७९ सालको अवसरमा प्रकाशन गरेको क्यालेण्डरको समेत विमोचन गरिएको छ । उक्त क्यालेण्डरको विमोचन प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष्ँ श्री राजेन्द्र मल्ल सहित अन्य अतिथिहरुबाट संयुक्त रुपमा गर्नु भएको थियो ।

Comments