भक्तपुर नगरपालिकामा आजदेखि टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु
चैत २५, २०७८, शुक्रबार | विहान ०६:३५ बजे | 35
भक्तपुर । भक्तपुर नगरपालिकामा आजदेखि टाइफाइड रोगविरुद्धको राष्ट्रिय खोप अभियान सुरु भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा भएको टाइफाइड रोगविरुद्धको खोप अभियान २०७८÷७९ को शुक्रबार एक समारोहबीच शुभारम्भ गर्नुभयो । कार्यक्रमको शुभारम्भ गर्नुहुँदै नगर प्रमुख प्रजापतिले टाइफाइडविरुद्धको खोप अभियानबाट देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिका लाभान्वित हुने बताउनुहुँदै यस खोप अभियानलाई सफल बनाउन सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले खोप अभियानबाट कोही पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले विद्यालयहरुमा खोप केन्द्र तोकिएको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले टाइफाइडविरुद्धको खोप मिति २०७८ चैत्र २५ गते शुक्रबारदेखि सञ्चालन हुने र सो खोप अभियानमा १५ महिनादेखि १५ वर्ष मुनिका उमेर समूहका सबै बालबालिकाहरूले आफ्नो विद्यालयको लागि तोकिएको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गर्नुभयो । कार्यक्रममा ख्वप अस्पतालका डाक्टरद्वय अमर प्रजापति र मजेश प्रताप मल्लले नेपालमा टाइफाइड रोगको उच्च संक्रमण हाल पनि यथावरत रहेको र विद्यार्थीहरुमा टाइफाइडविरुद्धको खोपको प्रभावकारिताबारे प्रष्ट पार्नुहुँदै बालबालिकाको निम्ति यो खोप निकै प्रभावकारी हुने बताउनुभयो ।