घिसिङलाई राखेप सदस्य सचिवका रुपमा काम गर्न बाटो खुल्यो
चैत २२, २०७८, मङ्गलबार | दिउँसो ०३:३२ बजे | 5
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको नियुक्ति सदर गरिदिएको छ । परिषदबाट आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध तत्कालीन सदस्यसचिव रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गर्दै घिसिङको नियुक्ति सदर गर्ने फैसला गरेको हो ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
रिट खारेजीपछि वर्तमान सदस्य सचिव टंकलाल घिसिङलाई राखेप सदस्य सचिवका रुपमा काम गर्न बाटो खुलेको छ । सरकारले गत १ कात्तिकमा बर्खास्त गरेको थियो । १२ मंसिरमा खुला प्रतिस्पर्धाबाट घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । तर सिलवालले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध २८ कात्तिकमा सर्वोच्चमा रिट दायर गरेका थिए ।