सम्मानित भए भक्तपुरका खेलाडीहरु


चैत २०, २०७८, आइतबार | दिउँसो १२:४३ बजे | 5


सम्मानित भए भक्तपुरका खेलाडीहरु

भक्तपुर, २० चैत । पूर्व बक्सिङ्ग खेलाडी समूह २०६७ को आयोजनामा खेलाडी सम्मान कार्यक्रम युवा तथा खेलकुद समितिका संयोजक एवम् १ नं वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीको प्रमुख आतिथ्यतामा आइतबार कमलबिनायक बक्सिङ्ग कर्वड हलमा एक समारोह बीच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य र सम्पदा लगायत हरेकमा उत्कृष्ट बनाउने सोचले काम गर्दा अहिले नेपालको उत्कृष्ट नगरको रुपमा कहलिएको समाचारहरुले प्रष्ट हुन्छ भन्नुभयो । उहाँले खेल जगतमा पनि नमुनाको रुपमा अगाडि बढाउन घोषणापत्र अनुसार काम गरेको साथै समाजवादी देशहरुको अध्ययन गरी शारिरीक व्यायामहरु राखेको बताउनुभयो । उहाँले खेलको विकास गर्न भौतिक पूर्वाधार विना असम्भव हुने भएकोले पूर्वाधारमा जोड दिएको बताउनुभयो । उहाँले खेल मार्फत आफ्नो जन्मथलो र देश नाम उँचो राख्ने र इज्जत बढाई दिने बताउनुभयो । उहाँले विगत अनुभवहरु बटुले अगाडि बढ्नुपर्ने बताउँदै भक्तपुर भनेपनि हेर्ने दृष्टिकोण फरक रहेकोले समय अनुसार चल्न सक्नुपर्ने बताउनुभयो । उहाँले खेलकुदमा राम्रो देश सैनिक रुपमा पनि राम्रो हुने बताउँदै कर्वड हल बनाउने, स्विमिङ्ग पुल, महेश्वरी खेल मैदानमा पाराफिट बनाउने, हेल्थ क्लब आदिमा जोड दिएको बताउनुभयो ।
त्यस्तै १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले खेलाडी हारेको सिपाई जस्तै मजबुत भई तयार हुने र विजेताहरु भनेको निर्मल पानी जस्तै हो भन्नुभयो । उहाँले खेलकुद र खेलाडीहरुले देश र जनताको सेवाको निम्ति हुनु पर्ने बताउनुभयो । उहाँले डा.चेग्वेभारा पनि खेलाडी हुनुका साथै क्युबामा शसस्त्र क्रान्ति सफलता प्राप्त गरी बोलिभियामा जीवन बलिदान गर्नुभएको थियो । उहाँले समस्याबाट भाग्ने भन्दा समाधानका लागि छलफल गर्नुपर्ने र खेल जगत निष्पक्ष ढंगले खेल्नुपर्ने बताउनु भयो । उहाँले आज राष्ट्रिय सहकारी दिवस परेको तर सहकारीमा भएको अनियमिताले गर्दा ओरिन्टलले भक्तपुरको करौंडौं रकम लिएर भागेको बताउनु भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिले वातावरण प्रदुषण, खानपानले नयाँ नयाँ रोगहरु देखा परेको छ त्यसैले समय, वातावरण र खानपानबाट शरीरलाई अनुकुलन बनाउन शारीरिक कसरत आवश्यक भएकोले खेलकुदलाई जीवनको अभिन्न अंगको रुपमा विकास गर्नु पर्ने बताउनु भयो । उहाँले खेलाडी देशका गहना र अनुसाशनका पर्यावाची भएको बताउँदै युद्धले जित्न नसक्ने देशलाई खेलकुदले जित्न सकिन्छ साथै आफ्नो देशको झण्डा विदेशमा फहराउन सकिन्छ भन्नुभयो । उहाँले खेलाडीको लागि आफ्नो गुरुहरु भनेको अभिभावक भएकोले आमा जतिकै सम्मान गर्नु पर्ने  र सुरुमा खेलेको कवर्ड हलको जन्मथलो जतिकै माया हुने बताउनुभयो ।
कार्यक्रम पूर्व बक्सिङ्ग खेलाडी समुहका अध्यक्ष एवम् प्रशिक्षक कृष्णसुन्दर प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक केदार तुईतुई, खेलाडी अस्मिता दुवाल र भक्तपुर जिल्ला बक्सिङ्ग संघका कोषाध्यक्ष लक्ष्मी प्रसाद दुवालले पनि बोल्नु भएको थियो । बागमति प्रदेश स्तरीय क्षेत्रीय प्रतियोगितमा भक्तपुरले प्रथम दुई, द्धितीय तीन र तृतीय दुई हासिल गरेको थियो । प्रथम द्धितीय र तृतीय स्थान हासिल गर्नु हुने खेलाडीलाई प्रमुख अतिथि श्यामकृष्ण खत्रीले मायाको चिनो प्रदान गरेको थियो ।


Comments