आरम्भ नेपालद्वारा भक्तपुरमा क्यानभास नामक एकदिने कार्यशाला सम्पन्न
चैत १७, २०७८, बिहीबार | दिउँसो ०१:४० बजे | 0
सत्यराम कासिछवा
आरम्भ नेपालको आयोजनामा हुने तीनदिने पुस्तक प्रदर्शनीको प्रचारार्थ स्याटर डे प्ले एयर (शनिबारीय कला अभियान) समूहको विशेष संयोजनमा बिहीबार दत्तात्रयमा “भक्तपुरमा क्यानभास“ नामक एकदिने कला कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रममा आयोजक आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले एकदिने कला कार्यशालाका संयोजक पूण्यराम मातांलाई क्यानभास वितरण गरेर सुरु गरेको कार्यक्रममा काठमाडौं उपत्यकाका २५ जना चित्रकलाका कलाकारहरूको सहभागिता रह्यो ।
कार्यक्रममा सहभागी कलाकारहरूको कला क्यानभास मिति २०७८ चैत २१ देखि २३ गतेसम्म हुने आरम्भ पुस्तक प्रदर्शनी २०७८ मा प्रदर्शन तथा बिक्री समेत हुने आरम्भ नेपालले जनाएको छ ।
कार्यक्रममा स्याटर डे प्ले एयर अभियानका संयोजक दिवेश प्रधानले ऐतिहासिक सम्पदाहरूको पूर्णःनिर्माणमा चित्रकलाको माध्यमबाट थप ऐतिहासिक मार्ग चित्रण गर्न सहयोग हुने र चित्रकलामा नयाँ पुस्ताको अभिरुचिले थप उर्जा प्राप्त भएकोले सम्पदाको जगेर्ना गर्न यस्ता कार्यक्रम समयसमयमा गर्नुपर्ने बताउनुभएको छ ।
उक्त एकदिने कला कार्यशाला कार्यक्रमका संयोजक पूण्यराम मातांले सम्पदाको चित्रमा आफ्नो सीप देखाउने ठाउँमा पार्किङले बाधा सिर्जना गरेको र कार्यक्रमको लक्ष्य अनुसार नयाँ पुराना कलाकारहरूले आफ्नो सीपको माध्यमबाट भक्तपुरको कलासंस्कृति तथा रहनसहन बारे भक्तपुरलाई चिनाउन मद्दत गरेको बताउनुभएको छ ।