भक्तपुरमा व्यायामशाला तथा नगरव्यापी तेक्वाण्डे खेल प्रतियोगिता सुरु
चैत १६, २०७८, बुधबार | दिउँसो ०२:२२ बजे | 0
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ५ को आयोजनामा भएको व्यायामशाला तथा नगरव्यापी तेक्वाण्डो खेल प्रतियोगिताको बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले नगरका २३ वटा ठाउँमा खुल्ला व्यायामशाला स्थापना गरी नगरबासीलाई स्वस्थ बनाउने अभियानलाई सार्थकता दिएको बताउनुहुँदै वडा वडामा स्थापित व्यायामशालाको संरक्षण र नियमित मर्मत सम्भारमा विशेष जोड दिन आग्रह गर्नुभयो ।
उहाँले खेलकुद हारजीत भन्दा पनि मित्रता र अनुशासनको निमित खेल्नुपर्छ भन्दै विद्यार्थीहरुले शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाउन सके सबै ठाउँमा सफलता हासिल गर्न मद्दत पुग्ने बताउनुभयो ।
भक्तपुरका वडा वडामा स्वास्थ्य केन्द्रहरु निर्माण गरी नगरबासीहरुलाई छिटो छरिटो स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुसार भक्तपुर नपा वडा नं. २ व्यासी, वडा नं. ५ भगवति स्थान र वडा नं. १ सल्लाघारीमा आधारभूत स्वास्थ्य केन्द्र संचालन गरी सेवा प्रदान गर्दै आएकोमा वडा नं. १० मा पनि आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइरहेको उहाँले अवगत गराउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुर नपाले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुहुँदै जीवनलाई सन्तुलित राख्न र मनोरञ्जनको लागि खेलकुदको महत्व धेरै भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा ५ वडाका इन्चार्ज नारायणप्रसाद त्वानाबासु, वडा सदस्य तथा ५ वडा खेलकुद समितिका संयोजक बलराम न्हिसुतु र ५ वडाका नारायणकृष्ण माकले पनि बोल्नुभएको थियो । नगर प्रमुख प्रजापतिले खेल सामाग्री प्रदान गरी तेक्वाण्डो खेलको उद्घाटन गर्नुभएको थियो ।