धिमेबाजा सिकेकाहरुलाई दिइयो प्रमाणपत्र
चैत १३, २०७८, आइतबार | विहान ०७:२१ बजे | 5
भक्तपुर, १२ चैत । भक्तपुरको इनाचोस्थित निओ फ्युजन कम्प्युटर इन्ष्टिच्युटले सञ्चालन गरेको धिमेबाजा प्रशिक्षणको प्रमाणपत्र वितरण गरिएको छ । समूहको आयोजनामा धिमेबाजाका प्रशिक्षार्थीहरुलाई बागमती प्रदेशकी सांसद सृजना सैंजूले प्रमाणपत्र वितरण गरिन् ।
सो क्रममा उनले नेपाल मजदुर किसान पार्टीले स्थापनाकालदेखि नयाँ पुस्ताको भविष्यका लागि काम गर्दै आएको र त्यसका लागि सडकदेखि संदनसम्म आवाज उठाइ रहेको चर्चा गरिन् ।
उनले नेकपा एमालेले दोहोरो चरित्र देखाएर एमसिसीलाई सदनबाट पास गराउन सहयोग गरेको बताउँदै एमसिसीकै कारण देशको सार्वभौमिकता खतरामा परेकाले नयाँ पुस्ताले सो विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
उनले सिकेका सिपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई सुझाव समेत दिइन् ।
कार्यक्रममा धिमेबाजा प्रशिक्षक उगेन बोयजूले प्रशिक्षणमा भक्तपुर नगरपालिकाका मात्र नयाँ पुस्ता नभइृ सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रशिक्षार्थीहरुको पनि सहभागिता रहेको बताए ।
इन्ष्टिच्युटका सञ्चालक एवं निर्देशक बालकृष्ण बनमालाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उनले एक शेक्षिक संस्थाले शैक्षिक क्रियाकलापका साथै साँस्कृतिक सम्पदा जर्गेनाका लागि समेत काम गरिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताए ।