प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ उद्घाटन


चैत ९, २०७८, बुधबार | विहान १०:४९ बजे | 15


प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ उद्घाटन

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा २०७८ चैत्र ९ देखि १२ गते सम्म हुने प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ को बुधबार लिबालीको कभर्ड हलमा एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन  गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रमका बोल्नुहुँदै प्रमुख अतिथि प्रजापतिले खेलकुद प्रतियोगिता हार र जीत भन्दा पनि अनुशासन र मित्रताको लागि खेल्नुपर्ने बताउनुभयो ।
खेलकुद विकासको सम्बद्र्धन, प्रवद्र्धनको लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक भएको बताउनुहुँदै उहाँले राष्ट्रको गौरव बढाउने र अनुशासित ढंगले खेलाडीहरुले खेल प्रतियोगितामा भाग लिनु आवश्यक भएको बताउनुभयो ।
उहाँले खेलकुदलाई नागरिकहरुको मौलिक अधिकारको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै भक्तपुर नगरपालिकाले भक्तपुरमा खेलकुद पूर्वाधारको विकासको निम्ति विविध खेलकुद प्रतियोगिताहरु आयोजना गर्नुका साथै नगरका विभिन्न स्थानहरुमा कभर्ड हल समेत निर्माणमा तीव्रता दिइरहेको बताउनुभयो ।
नेपाल सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै खेलकुदबारे विश्वविद्यालय स्थापना गरी खेलाडीहरु दिक्षित गर्ने अवसर प्रदान गर्नुपर्ने भन्दै प्रमुख प्रजापतिले माहेश्वरी खेलमैदानमा स्टेडियम बनाउन आवश्यक पहलहरु भइरहेको छ भन्नुभयो नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगिता पूर्ण सफलताको कामना गर्नुहुँदै भक्तपुर जिल्ला ब्याडमिन्टन संघ स्थापनाले ब्याडमिन्टन क्षेत्रको विकास र प्रवद्धनमा सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले खेलाडीहरुलाई उत्साहित गर्न यस किसिमको प्रतियोगिता आयोजना गरिनुपर्ने भन्दै खेलाडीहरुमा लुकेका प्रतिभा पहिचान र आफूमा भएको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले संघ स्थापनाको उद्देश्य र खेल विकासको लागि गर्दै आइरहेको भूमिकाबारे प्रष्ट पार्नुहुँदै भक्तपुर नपाले निर्माण गरेको कभर्ड हलका कारण प्रतियोगिता सहज ढंगले सञ्चालन गर्न सहयोगी भूमिका खेलेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा संघका उपाध्यक्ष नबिन प्रजापतिले पनि बोल्नुभएको थियो भने रेफ्रीका तर्फबाट अनुपरत्न शाक्य र खेलाडीका तर्फबाट आयुष प्रजापतिले निष्पक्ष र अनुशासित ढंगले खेल सम्पन्न गर्न सपथ ग्रहण गर्नुभएको छ ।
खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरुले ब्याडमिन्टन खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रम सुरु हुनु अगाडि भक्तपुरको सूर्यमढी हुँदै लिबाली कभर्ड हलसम्म ¥याली भएको थियो ।
    
    


Comments