व्यासीमा भक्तपुर नगरपालिकाको नयाँं पर्यटक सूचना तथा सेवा केन्द्र उद्घाटन
चैत ४, २०७८, शुक्रबार | दिउँसो ०१:३८ बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुरमा पर्यटन उद्योग तथा व्यवसाय प्रवद्र्धन एवम् पर्यटकलाई आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सञ्चालनमा ल्याएको पर्यटक सूचना केन्द्रको उद्घाटन गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित भक्तपुर नगरपालिकाको भवनसँगै रहेको पर्यटक सूचना तथा सेवा केन्द्रको शुक्रबार साँझ उद्घाटन गर्नुभयो । सोही क्रममा अध्यक्ष बिजुक्छेँले सूचना केन्द्रको भवनमा राखिएको डिजिटल बोर्ड र नपाको समेत वेभसाइट शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको भौगोलिक, धार्मिक तथा सांस्कृतिक महतव बोकेका स्थानहरुको विषयमा आवश्यक पर्ने सबै खालका सूचना उपलब्ध गराउन र भक्तपुरको पर्यटन उद्योगमा टेवा पुग्ने ढंगले पर्यटक सेवा केन्द्र सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिका नगरबासी जनताको साझा संस्था भएको बताउनुहुँदै उहाँले भक्तपुरमा पर्यटकहरुको संख्या वृद्धिसँगै यहाँका स्थानीय जनताहरुको जीवनस्तरमा सुधार आउने, रोजगारीको अवसर सिर्जना हुने तथा पर्यटन व्यवसायीहरु यसबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले पर्यटन प्रवद्र्धन गर्न भक्तपुरको सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुहुँदै उहाँले पर्यटकहरुले आफूले घुमेको ठाउँको विषयमा देश—विदेशमा समेत प्रचारप्रसार गर्ने हुँदा पर्यटकहरुलाई सकारात्मक ढंगले आकर्षित गर्न सक्नु नेपालीहरुको निम्ति उपलब्धीमूलक हुने बताउनुभयो ।
भक्तपुरको मौलिकता कायम गर्नु नै यहाँको पहिचान गर्नु हो भन्दै उहाँले पर्यटकहरुलाई राम्रो र असल व्यवहार मात्र गर्न सके पनि पर्यटकहरुमा सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक र पर्यटकीय हिसाबले भक्तपुर महत्वपूर्ण ठाउँ भएको बताउनुहुँदै भक्तपुर नपाले यहाँको मौलिक शैली र प्रविधिलाई जोगाइराख्ने विविध गतिविधिलाई चालु राख्दै आएको बताउनुभयो ।
विश्व सम्पदामा सूचीकृत यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई पहिलो प्राथमिकतामा राखी २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त अधिकांश सबै सम्पदाहरुको जीर्णोद्धार तथा पुनःनिर्माण समेत सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ‘सय वर्ष पछिको भक्तपुर’ लाई आधार मान्दै नगरपालिकाले सम्पदा संरक्षणका गतिविधिलाई जोड दिँदै आएको बताउनुहुँदै भक्तपुर नपाको पर्यटक सूचना केन्द्रको सेवाबाट पर्यटकहरु लाभान्वित हुने र देश विदेशमा भक्तपुरको प्रचार हुनेमा आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर पर्यटन व्यवसायले यहाँका जनताको जीवनस्तर उकास्ने बताउनुहुँदै कोभिडका कारण भक्तपुर महोत्सव अन्तिम समयमा आएर स्थगित गर्नुपरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको थियो ।