माहेश्वरीघाट भगवती मन्दिर र दुव्यंकेगु फल्चा उद्घाटन


फाल्गुन २८, २०७८, शनिबार | दिउँसो ०१:४० बजे | 15


माहेश्वरीघाट भगवती मन्दिर र दुव्यंकेगु फल्चा उद्घाटन

भक्तपुर नपा वडा नं. ८ स्थित माहेश्वरीघाट भगवती मन्दिर र दुव्यंकेगु फल्चा उद्घाटन सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार एक समारोहबीच माहेश्वरीघाट भगवती मन्दिर र दुव्यंकेगु फल्चाको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले जनताको भावनाअनुसार शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
ठेकेदारबाट हुने कमसल निर्माणको व्यापक विरोध हुँदै आएको प्रसंग जोड्दै उहाँले भक्तपुरको उपभोक्ता मोडल अन्य स्थानीय तहले पनि सिके देश छिटो विकास हुने बताउनुभयो ।
भक्तपुर नपाले हालेको शिक्षाको जगले आज शिक्षा क्षेत्रमा भक्तपुर देशकै उत्कृष्ट गन्तव्यस्थल बनेको चर्चा गर्नुहुँद्रै उहाँले नपाबाट सञ्चालित कलेजहरुले देशकै उत्कृष्ट विद्यार्थी उत्पादन गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाले मौलिक स्वरुप संरक्षण गर्नुका साथै यहाँका जनताको जीवन उकास्ने विविध कार्यक्रमलाई जोड दिँदै आएको साथै स्थानीय सीप र प्रविधिको पनि संरक्षण भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले फल्ना पुनःनिर्माणमा यहाँका स्थानीय जनताबाट जनश्रमदान समेत प्राप्त भएको बताउनुहुँदै उहाँले फल्चा पुनःनिर्माणमा लिबाली भूकम्प पीडितहरुको तर्फबाट रु ५१ हजार आर्थिक सहयोग प्राप्त भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष एवम् निर्माण समितिका संयोजक उकेश कवांले भक्तपुरबासी जनताको साथ र सहयोग निकै प्रशंसनीय भएको बताउनुहुँदै ठेकेदारी कामको गुणस्तर र विश्वसनीय कम भइरहेको हुँदा भक्तपुर नपाले उपभोक्ता मोडललाई जोड दिँदै आएको बताउनुभयो ।
दुव्यंकेगु फल्चा परिसरमा ढुंगा छपाई उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालले उक्त क्षेत्रको ढुंगा छपाईंमा रु. १३ लाख ६९ हजार खर्च भएको बताउनुभयो ।
साथै दुव्यंकेगु फल्चा निर्माण समितिका अध्यक्ष लक्ष्मण फेलुले आर्थिक विवरण प्रस्तुत गर्दै फल्चा पुनःनिर्माणमा कूल रु. ३० लाख ४१ हजार खर्च भएको बताउनुभयो भने भण्डारण कक्ष उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र खायमलीले फल्चा परिसरको भण्डारण कक्ष निर्माणमा कूल खर्च रु. ५ लाख ३० हजार ७९८ रहेको अवगत गराउनुभयो ।
कार्यक्रममा नेमकिपा ८ वडा एकाइ समितिका अध्यक्ष कृष्णप्रसाद कोजु, लिबाली एकाइ समितिका अध्यक्ष बलराम प्रजापति र वडा सदस्य शिवप्रसाद बालाले पनि बोल्नुभएको थियो ।

Comments