ललितपुरमा महिला उद्यमी मेला शुरु
फाल्गुन २७, २०७८, शुक्रबार | दिउँसो १२:३२ बजे | 35
ललितपुर । महिला सशक्तिकरणको आधार ः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ ललितपुरको नागबहालमा शुक्रबारदेखि महिला उद्यमी मेला शुरु भएको छ ।
१ सय १२ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुुर महानगरपालिका– १६ ले सो मेलाको आयोजना गरेको हो । मेलाको उद्घाटन गर्दै वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले महिलाद्वारा उत्पादित सामग्री प्रवद्र्धन गर्न यस किसिमका मेलाहरु उपयोगी रहेको धारणा राख्नुभयो।मन्त्री लामाले ललितपुरमा हस्तकलाका सामग्री अन्तर्राष्ट्रिय बजारमै ठूलो माग हुने गरेको र नेपालले तुलनात्मक लाभ लिन सकिने सामग्री रहेको बताउँदै यसको प्रर्वद्धनमा राज्यले ठोस र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
सो अवसरमा वाग्मती प्रदेशका सांसद् शोभा शाक्यले ललितपुरलाई विश्वको ३५ औं कला नगरीको घोषणा गरेको तीन वर्ष बितिसक्दा पनि त्यस दिशामा खासै काम नभएको बताउनुभयो।
ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले महिलालाई आर्थिक रुपमा सबलीकरण नगरेसम्म महिला व्यावहारिक र वास्तविक रुपमा सशक्तिकरण नहुने धारणा राख्नुभयो ।
मेलाका मुख्य संयोजक एवं वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाले पूर्वाधार विकाससंगै मानवीय विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको जानकारी दिदै मेला यसैको एउटा कडी रहेको धारणा राख्नुभयो ।
आईतबारसम्म सञ्चालन हुने सो मेलामा महिलाद्वारा उत्पादित र महिला संलग्न रहेको व्यवसाय सम्बद्ध ५१ वटा स्टलहरु राखिएको छ ।धातुका मूर्तिहरुका बुट्टा कोर्ने, परम्परागत रुपमा सूकुल बुन्ने तरिका विषयमा जीवन्त प्रदर्शनी मेलामा हर्न सकिने छ ।ललितपुर उद्योग वाणिज्यले ललितपुरमा उत्पादित वस्तुको प्रवद्र्धन अघि सारेको मेड इन ललितपुरकोृ अवधारणा अनुरुप ललितपुरमा उत्पादित वस्तुको स्टल विशेष महत्वका साथ राखिएको छ ।नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघको तर्फबाट धातुका मूर्तिहरु र अन्य हस्तकलाका सामग्रीहरु पनि प्रदर्शन तथा बिक्री वितरणको लागि राखिएको छ ।