फागुन २७ गते नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुँदै
फाल्गुन २५, २०७८, बुधबार | विहान ११:२४ बजे | 5
भक्तपुरको सास्कृतिक विधाहरुको संरक्षण सम्र्बद्धन गर्नुका साथै नागरिकहरुमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७८ फागुन २७ गते, शुक्रबार भक्तपुर दरवार क्षेत्र लायकुमा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुँदैछ । सोही अवसरमा आज नगरपालिकाले नगरस्तरीय पछिमा बाजा प्रतियोगिताका सहभागी टोलीहरुको भेला कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले नगरपालिकाको आयोजना गर्दै आएको सांस्कृतिक प्रतियोगिताहरुले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुरको ख्वप मोडलबारे चर्चा गर्नुहुँदै उहाँले नगरपालिकाले नगरको सन्तुलित विकास र आर्थिक पारदर्शिकता र अनुशासनमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेका अधिकांश सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको अवगत गराउनुहुँदै उहाँले स्वास्थ्य, शिक्षा, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत समग्र विकासमा भक्तपुर नगरपालिका नमुना बनिरहेको बताउनुभयो ।
उपभोक्ता समितिमार्फत् काम गराउँदा स्थानीयले नै रोजगारी पाउने र सम्पदाप्रति अपनत्व महसुस हुने हुँदा भक्तपुर नपाले उपभोक्ता मोडललाई नै जोड दिँदै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले प्रतियोगिताका नियमहरुमाथि प्रष्ट पार्नुहुँदै प्रथम हुनेलाई प्रथम पुरस्कार नगद रु. २०,०००। का साथै पछिमा १ थान, सिछ्या १ थान, त“ १ थान, बाँसुरी ४ थान, द्वितीय पुरस्कार – नगद रु. १५,०००। का साथै पछिमा १ थान, सिछ्या १ थान, त“ १ थान, तृतीय पुरस्कार – नगद रु. १०,०००। का साथै पछिमा १ थान, सिछ्या १ थान, सान्त्वना पुरस्कार – नगद रु. ५,०००। का साथै पछिमा १ थान, सान्त्वना पुरस्कार – नगद रु. ५,०००। का साथ पछिमा १ थान र प्रत्येक सहभागी टोलीलाई पछिमा बाजा १÷१ थान प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्रतियोगितालाई भव्य र सफल पार्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।