भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत पुनःनिर्माण भएको भक्तपुर नपा वडा नं. ३ बाराहीस्थानको हनुमान (भुजू) पाटी मंगलबार एक समारोहबीच रिबन काटेर उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्मित संरचनाहरु इस्टिमेटभन्दा कम लागतमा गुणस्तरीय ढंगले निर्माण हुने बताउनुहुँदै भक्तपुर नपाले युगसुहाउँदो समाज निर्माणमा जोड दिइरहेको बताउनुभयो ।
भक्तपुरको रानीपोखरी हालै उद्घाटन भइसकेको र सर्वसाधारणको निम्ति पनि खुला भएको अवगत गराउनुहुँदै उहाँले देशकै सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले आवश्यक सहयोग पु¥याइ सम्पदा संरक्षणमा ठूलो उपलब्धी हासिल गरेको बताउनुभयो ।
भक्तपुरबासी जनताको सेवा र सहयोगी भावनाले यहाँ विकास निर्माणका काम गर्न सजिलो भएको छ भन्दै उहाँले सम्पदा पुनःनिर्माणमा कुनै पनि लापहरी र कमजोरी हुन नदिएको बताउनुभयो ।
पर्यटकीय नगर भक्तपुर सांस्कृतिक र ऐतिहासिक रुपले पनि महत्वपूर्ण नगर भएको बताउनुहुँदै उहाँले नगरपालिकाले जनताको सेवालाई नै पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गाराले नगरस्तरीय बजेटबाट निर्मित पाटीमा प्राप्त स्थानीय जनताको सुझाव र सहयोग अमूल्य भएको बताउनुहुँदै जनताको स्वास्थ्य सेवा पहुँच र स्तरीय स्वास्थ्य प्रदान गर्ने उद्देश्यले ख्वप अस्पताल निर्माण भएको बताउनुभयो ।
उपभोक्ता समितिका कोषाध्यक्ष कुमार जाकिबन्जारले पाटी पुनःनिर्माणको आय—व्यय प्रस्तुत गर्दै रु. ३७ लाख १० हजार २८७ मा लागत इस्टिमेट भएको पाटीको खुद खर्च रु. २४ लाख १३ हजार १२२ रहेको अवगत गराउनुभयो ।
पाटी उद्घाटन कार्यक्रममा हनुमान पाटी उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर खाताखो, स्थानीय चन्द्रभक्त भुजू, कार्यपालिका सदस्य सुनिता अवाल र वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।
    


...

All Comments.......


Please Login/Register To Comments