बाराही साकोसको २३ औं स्थापना दिवस सम्पन्न


2022-03-04 11:02:09

News Image

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बाराही बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं स्थापना दिवसको एक समारोहबीच उद्घाटन गर्नुभयो ।
बाराही साकोसको स्थापना दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख प्रजापतिले कोभिड महामारीको समयमा ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न भक्तपुर नपाभित्र सञ्चालित सहकारी संस्थाले गरेको सहयोग अमूल्य भएको बताउनुभयो ।
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलगायतका क्षेत्रमा गरिरहेको उदाहरणीय कामबारे प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले देशलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ भक्तपुर नपाले आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको छ भन्नुभयो ।
सहकारी संस्थाले नाफा–नोक्सानलाई भन्दा सामूहिक हितका कामहरुमा जोड दिनुपर्ने बताउनुहुँदै उहाँले सहकारी संस्थाहरु रकम लेनदेनमा मात्रै सीमित नरही संस्थामा जम्मा भएको पुँजीलाई रोजगारीमूलक उद्योग स्थापनातिर ध्यान दिनु आवश्यक भएको उहाँले बताउनुभयो ।
भक्तपुर नपाभित्र गैरकानुनी ढंगले सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थाको अनुगमन र नियमनलाई नपाले जोड दिइरहेको बताउनुहुँदै उहाँले नपाबासीको बचत रकम सुरक्षित होस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र पारिरहेको बताउनुभयो ।
एमसीसीका बुँदाहरु राष्ट्रघाती छन् भन्दै उहाँले एमसीसी संसदबाट अनुमोदन गर्न शासक दलले जनतालाई अनेक छलछाम गरिरहेकोतर्फ सचेत पार्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले प्रदेश सहकारी शाखामा दर्ता भएर आएका बहुउद्देशीय सहकारीहरु कानुनविपरीत सञ्चालनमा रहेको र त्यस्ता सहकारीहरुमा बचत नगर्न टोलटोलमा नागरिकहरुलाई सचेत पार्नुपर्ने बताउनुभयो ।
त्यस्तै बाराही साकोसका सचिव राधेश्याम सुवालले संस्थाबाट सञ्चालित विविध गतिविधिहरुबारे अवगत गर्नुहुँदै संस्थाको विकास र प्रगति सदस्यहरुको हातमा हुने बताउनुभयो ।
कार्यक्रममा बाराही साकोस सञ्चालक समितिका अध्यक्ष विश्वराम त्वायना, सञ्चालक सदस्य कृष्णभक्त पोडे, पुनेन्द्रप्रसाद कुसीले पनि बोल्नुभएको थियो ।
बाराही साकोसले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा संस्थाका ७ जना बाल बचत कर्ता र ७ जना नियमित बचत कर्तालाई समेत सम्मान गरेको थियो ।




Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *