तेखापुखु फल्चा तथा शारीरिक व्यायाम सामाग्री उद्घाटन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ३ तेखापुखुस्थित तेखापुखु फल्चा र शारीरिक व्यायाम सामाग्री शुक्रबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले स्थानीय निर्वाचनमा निर्वाचित भई सपथ ग्रहण गरेकै मितिदेखि नगर र नगरबासीहरुको हितलाई केन्द्रमा राखी काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरलाई देशको नमुना नगरको रुपमा विकास गर्न निरन्तर क्रियाशील रहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाबाट भएका विकास निर्माण र सुशासनबारे सिक्न देशका ६० वटा भन्दा बढी स्थानीय तहका जनप्रतिनिधिहरुसँग अनुभव आदानप्रदान भइसकेको बताउनुभयो ।
भक्तपुरको मौलिकता जगेर्ना गर्ने उद्देश्यले भक्तपुर नपाले यहाँका मूर्त र अमूर्त सम्पदा पुनःनिर्माण लाई विशेष प्राथमिकतामा राखी काम अगाडि बढाइरहेको चर्चा गर्नुहुँदै उहाँले नगरबासीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पताललाई १०० शैय्याको बनाउने तयारीमा जुटिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नेमकिपाको मार्गनिर्देशनअनुसार घोषणापत्र अक्षरशः पालना गर्दै वडाका गतिविधि सञ्चालन गर्दैै आइरहेको बताउनुहुँदै नगरबासी जनताको स्वास्थ्यलाई ध्यानमा राखी तेखापुखु परिसरमा व्यायामसामाग्री स्थापना गरेको बताउनुभयो ।
पूर्व वडाध्यक्ष रामहरि गोराले भक्तपुरका सम्पदाहरु उपभोक्ता समितिबाट सफलतापूर्वक सम्पन्न गरिरहेको बताउनुहुँदै स्थानीय जनताको साथ र सहयोगबाट यस किसिमको उपलब्धी हासिल भएको हो भन्नुभयो ।
कार्यक्रममा तेखापुखु पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर खाताखोले पाटी पुनःनिर्माणमा खटिनुभएका सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो भने समितिका कोषाध्यक्ष मणिरत्न शिल्पकारले पाटीको आय व्यय प्रस्तुत गर्दै उक्त पाटी रु. २१ लाख ९९ हजार ३१४ मा निर्माण सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।