तृष्णामा अल्झिएको जीवन सार्वजनिक
फाल्गुन १२, २०७८, बिहीबार | दिउँसो ०१:२३ बजे | 30
भक्तपुर । कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेको दुई कृति एकसाथ बिहीबार विमोचन गरिएको छ ।
भक्तपुर नगरपालिका वडा नं. २ तेखापुखु टोलमा २००९ मंसिर २ गते जन्मेका जोन्छेको ‘तृष्णामा अल्झिएको जीवन’ नाम लेख संग्रह र ‘जीवन एक ः यात्रा अनेक’ नामक कविता संग्रह गरी दुई कृति बिमोचन गरिएका हुन् । ती कृतिहरु संस्कृतिविद् जगमान गुरुङले बिमोचन गरे । सो क्रममा संस्कृतिविद् गुरुङले नेवाः समुदायमाथ विभिन्न किसिमले आक्रमण र अतिक्रमण हुनु दुखद् भएकाले नेवाः समुदाय एक हुनुपर्नेममा जोड दिए ।
२०४४ सालदेखि ०६७ सालसम्म सरकारी सेवा कार्यरत जोन्छेले ३१ औं शिक्षा दिवसको अवसरमा शिक्षा पदक समेत पाइसकेका छन् । उनै लेखकको कृति विमोचन कार्यक्रममा संस्कृतिवद् गुरुङले भक्तपुर जिल्लाको धार्मिक तथा ऐतिहासिक महत्वबारे प्रष्ट पार्दै नेवाः समुदायको रहनसहन, खानपान, संस्कार विश्वमै उत्कृष्ट रहेको चर्चा गरे ।
कार्यक्रममा अक्षरमार्ग साहित्यिक पत्रिकाका सम्पादक एवं साहित्यकार सूर्यप्रसाद लाकोजूले विमोचित कृतिबारे आफ्नो धारणा राख्दै कृति मार्मिक भएको बताए। सोह अवसरमा उनले कवि जोन्छेको विवाहको ४८ औ बर्षगाठको अवसर समे भएको उल्लेख गर्दै अक्षरमार्गको तर्फबाट कदर पत्र समेत प्रदान गरे ।
लेखक जोन्छेले निकै भावुक भएर आफूले जीवनमा भोगेका अनुभवहरु सुनाए। कवि ध्रुव मधिकर्मीले स्रष्टाको कृतिबारे बोले।