अर्काे शीतयुध्द


फाल्गुन ८, २०७८, आइतबार | विहान ११:३४ बजे | 60


अर्काे शीतयुध्द

पदम दाहाल, लोकन्थली,भक्तपुर।      
अहिले शीतयुध्दको फन्दामा
घिसारिंदैछ मेरो देश
दुई ढुङ्गाबिचको तरुल न हो यो
सायद बिथोलिंदैछ बुध्दको देश
कोही नाथ तैनाथ छन् शीतयुध्द हुत्याउन
राष्ट्रियताको ढुङ्गाइँटा बर्साउँदैछन्
कोही तैनाथ छन् शीतयुध्द भित्र्याउन
त्यसैले पानीका फोहोरा र अश्रुग्याँसले तर्साउँदैछन्

राष्ट्रियता सुम्पिन नचाहनेलाई सु–याउँदैछन्
बुझाउन चाहनेलाई सुम्सुम्याउँदैछन्
शासक र शासित एकै देशका
कोही बैरी हुन सक्छन् र?
तर जुधिरहेछन् आफू आफू
र किन अलपत्र देश खुँदिरहेछन्?
आपसमा बर्बराइरहेछन् हड्बडाइरहेछन्
भिडन्त बोकेर जोरीपारी हँसाइरहेछन्।

बुध्दको ध्यानस्थ भङ्ग भएको हेर्न
यहाँ कसैले नौलो अभ्यास गरिरहेछ
सुन्दर पटाङ्गिनी मानेर आमाको छातीमाथि
अर्काे हाहाकार रचिरहेछ
कसैको अधीनस्थ नहुने कोही दाउ हेर्दैछ
कोही विकास र वैभवका नाउँमा
आफैंलाई अधीनस्थ गराउने
कुनै साहु वा राहुलाई डो–याइरहेछ।

अर्काे शीतयुध्दको बाछिटाले भिजिरहेछ देश
भिजिलान्ते जमजमाएर फेरि एकपल्ट
बुध्दको बुध्दत्व  बुध्दिको बुध्दमार्ग
बिथोलिरहेछ परिवेश
त्यसैले यो वेला हाँसिरहेछ शक्तिसम्पन्नता
खैलाबैलामा देखाइरहेछ बहादुरीता
घरैपिच्छे डुलेकोछ हडताल
नेपालबन्दको यहाँ हुन्न कहिल्यै अनिकाल
हाँडीगाउँको जात्रा चलिरहेछ
बाँझो नपरोस् राष्ट्रियताको
जुलुस उठाएर आफ्नै घरआँगनमा
शीतयुध्द छिमलिरहेछ असंलग्न देश
इतिहासको कालो कर्तुत नबनोस् कोही पनि
कालोनिलो हुने नगरोस् हर्कत कोही पनि
लाग्छ, कसैले नबिराउने बाटो बिराइरहेछ
नहिंडाउने बाटो हिंडाइरहेछ
देशमा अपूर्व चोट र कुख्याति छिराइरहेछ
हो,यहाँ कसैले जानाजान बाटो बिराइरहेछ  
जुनीभर तोरीको फूल देख्ने
रिँगटा चलाइरहेछ।

Comments