सकियो ठूलो व्यासीस्थित छोसो फल्चाको पुननिर्माण


फाल्गुन ८, २०७८, आइतबार | विहान ०५:४४ बजे | 50


सकियो ठूलो व्यासीस्थित छोसो फल्चाको पुननिर्माण

भक्तपुर । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. २ ठूलो व्यासीस्थित छोसो फल्चाको शनिबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले जनताको सेवा गर्ने भावनाले जनताकै साथ र सहयोगमा विकास निर्माणका कामलाई अगाडि बढाएको बताउनुहुँदै भक्तपुरका मौलिक संरचनालाई जीवन्तता दिने प्रयासमा अग्रसर रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई १०० शैय्याको अस्पताल नभएको भनी शिक्षा मन्त्रालयले नर्सिङको भर्नामा रोक लगाउनु केन्द्र सरकारको जनविरोधी काम भएको बताउनुहुँदै उहाँले भक्तपुर नपाले स्तरी ख्वप अस्पतालबाट अन्तरंग सेवा सुरु गरिसकेको, ज्येष्ठ नागरिकहरुको लागि आदर निकेतनको भवन निर्माण भइरहेको, वडा वडामा नियमित रुपमा स्वास्थ्य शिविर सञ्चालन, घरदैलो नर्सिङ सेवा सञ्चालनलगायतका गतिविधिहरु भइरहेको अवगत गराउनुभयो ।
हामी विदेशीसँग भिख मागेर बनाएका सम्पदाहरुबाट खुशी हुनुभन्दा आप्mनै पौरखमा जीर्णोद्धार र पुनःनिर्माण भएको सम्पदाहरुप्रति गर्व गर्छौं भन्दै उहाँले नेपालको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रतामाथि गम्भीर आँच पुग्ने राष्ट्रिय हित तथा असंलग्न परराष्ट्र नीति विपरीतको एमसीसी सम्झौता तत्काल खारेज गराउन नेमकिपाले खबरदारी जुलुस तथा सभाहरुको आयोजना गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले वडाबाट सञ्चालित विविध गतिविधिबारे अवगत गराउनुहुँदै देको मिवा इतापाके आवास योजना छिटो सम्पन्न गर्ने तयारीमा रहेको बताउनुभयो ।
शिक्षासेवी बालमुकुन्द्र बासुकलाले भक्तपुरको शैक्षिक उन्नति र विकासमा नेमकिपाले खेलेको भूमिकामाथि प्रष्ट पार्नुहुँदै भक्तपुर नपाले मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा खेलिरहेको भूमिका उल्लेखनीय भएको चर्चा गर्नुभयो ।
छोसो पाटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष सत्यनारायण बासुकलाले २०७८ वैशाख २० गतेबाट पुनःनिर्माण भएको पाटी रु. १४ लाख ८ हजार ३४७ बराबरको आर्थिक लागतमा पुनःनिर्माण सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा २ नंं. वडाका इन्चार्ज गणेशप्रसाद सुवाल, जनप्रतिनिधि श्यामसुन्दर मार्ता, नेक्रामहिला संघ २ वडाका अध्यक्ष बबीमैंया लघु र २ वडाका राजकुमार लघुले पनि बोल्नुभएको थियो ।

Comments