सन्दर्भ ः भेलेन्टाइन प्रोमिस डे
माघ २८, २०७८, शुक्रबार | दिउँसो १२:०९ बजे | 25
सुनील सापकोटा
भेलेन्टाइन सप्ताहको हिजो प्रोमिस डे रहेछ । हुन त यो हाम्रो संस्कृति होइन । तर अचेलका केही शहरिया आधुनिक भनाउँदा फेसनेबुल युवा युवतीहरुले यो आयातित अङ्ग्रेजी संस्कृतिलाई मनाएको देख्छु । यो हाम्रो संस्कृति नभएपनि सबैलाई प्रेम गर्ने काम चाहिँ राम्रै काम हो ।
मलाई लाग्छ प्रेम र सत्ता वाचाको जगको बिश्वासमा अडेको हुन्छ । तर गजबको कुरा के छ भने यही दुई क्षेत्रमा वाचाहरु बढी तोडिएको देख्छु अचेल । आजको दिन दुनियाँभरिका प्रेमीहरु र प्रेमिकाहरुले एकआर्कालाई मनाउन म तिमिले भनेको सबै कुराहरु मान्छु भनेर विभिन्न वाचाहरु गरी बिश्वास दिलाउने कोशिश गरेका हुन्छन् । तर तिनीहरुबीच बिवाहा भइहाल्यो भने पनि नुन तेल र ब्यवहारको चक्करमा त्यो सबै पहिलेका ती वाचाहरु टुटेर कता पुग्छ कता कता । त्यस्तै बिवाहा पछि प्रेमी र प्रेमिकाकोबीचमा जुन पहिलेको प्रेम थियो, त्यो पनि हावा झैं उडेर कता पुग्छ । त्यसैले मलाई के लाग्छ भने प्रेमको मृत्यु बिवाहा हो । यो विषयमा हिन्दी सिनेमाका निर्माता निर्देशनक एवं कथाकार गुलजारको फिल्म इजाजत भन्ने हिन्दी सिनेमा हेर्दा हुन्छ । त्यहाँ प्रेमको अन्त्य बिवाहा हो भन्ने कुरा देखाउन खोजिएको छ ।
मलाई प्रेम एउटा बाहिरी उत्प्रेरक तरङ्ग हो जस्तो लाग्छ, जसले हाम्रो मस्तिष्कका शिराहरुलाई आफ्नो स्पर्शबाट झंकृत गरिरहेको हुन्छ र हामीलाई एउटा स्वप्निल संसारमा लगेर हाम्रो मनलाई आनन्दको स्थितिमा पुर्याउँछ । मलाई के लाग्छ भने बाहिरी उत्प्रेरणाले भित्री चेतनालाई जुन प्रभाव पार्छ, त्यो अदृश्य आनन्द नै प्रेम होला । प्रेममा हामी कसैको देह ( रुप ) कसैको ममतामयी स्पर्श, कसैको बोली , कसैको सानिध्य , कसैको स्वार्थ रहित माया आदिले जुन प्रभाव पार्छ र त्यो ब्यक्ति न हुँदा पनि जब पारी रहन्छ, त्यो नै प्रेमोन्मत्त स्थिती होला। त्यो प्रेम नै इश्वरको आभास होला जस्तो मलाई लाग्छ । खैर जे होस .... । प्रेम बारे धेरै के लेखुँ । आज प्रेमको विषयमा “ प्रोमिस डे “ मा येत्ती नै । इति।