प्यारीसँग


माघ २४, २०७८, सोमबार | विहान ११:४० बजे | 35


प्यारीसँग

जीवनाथ अधिकारी
मायाप्रेम सबै भुसुक्क कसरी पाखा लगाई दियौ
ऐले क्रूर भयौ तथापि पहिले रोमाञ्च प्रेमी थियौ ।
भुल्थ्यौँ स्वर्ग धरा मुसुक्क मनले मुस्काउँदा सर्वथा
केले हो यसरी सुभाव बदल्यौ प्यारी भयौ कर्कशा ।।१।।

तिम्रा बात थिए सुकाव्य रसिला घुम्थे सधैँ माहुरी
तिम्रा गान हटाउँथे वदनका रेखा सबै चाउरी ।
ऐले सुन्दछु शब्द शब्द रिसका भाका भरेका दशा
केले हो यसरी सुभाव बदल्यौ प्यारी भयौ कर्कशा ।।२।।

सुन्थेँ ती पदचाप तालसुरमा सङ्गीतकी रागिनी
तिम्रो धप्प मुहारको चमकता झल्कन्थ्यो सौदामिनी ।
ऐले छ्यौ रणचण्डिका, समरकी देवी समानै छटा
केले हो यसरी सुभाव बदल्यौ प्यारी भयौ कर्कशा ।।३।।

आएछन् यदि पाहुना अतिथि भै सत्कारमा रम्दथ्यौ
खोजी गोरस ढङ्गले दिनदिनै मिष्ठान्नमा जम्दथ्यौ ।
छाडी धर्म गृहस्थको, अतिथिमा गर्दी भयौ दुर्दशा
केले हो यसरी सुभाव बदल्यौ प्यारी भयौ कर्कशा ।।४।।


साना बालक चुम्दथ्यौ, नयनले अमृत बर्साउँथ्यौ
छातीभित्र अथाह स्नेह ममता मातृत्व छल्काउँथ्यौ ।
हेर्दैमा कसरी अचानक प्रिया ! माया हरायौ कता
केले हो यसरी सुभाव बदल्यौ प्यारी भयौ कर्कशा ।।५।।

आशातीत थिए र शिल्प गृुणका धारा बहेका थिए
तिम्रो त्यो विनयी कलाबिच सबै हाँगा नुहेका थिए ।
फेरी जन्ड उजन्डका जलधिमा, नारी भयौ अन्यथा
केले हो यसरी सुभाव बदल्यौ प्यारी भयौ कर्कशा ।।६।।

माताको ममता अथाह गरिमा वात्सल्यले पूर्णता
माटाको ममता र प्यार दिलको उर्लन्थ्यो रे सर्वदा ।
जीर्णाजीर्ण भएर आज प्रियसी ! छाती भयो शुष्कता
केले हो यसरी सुभाव बदल्यौ प्यारी ! भयौ कर्कशा ।।७।।

टल्कन्थे घरभित्र वर्तनहरू, भन्थ्यौ “यता आउनू
यी यी काम हजुरका बरु छिटो हाँसेर सिध्याउनू ।”
ऐले खालि उतर्सिएसरि भयौ कूचा कराही कता
केले हो यसरी सुभाव बदल्यौ प्यारी ! भयौ कर्कशा ।।८।।

आऊ प्रेम छचल्किँदो गगनमा पानी भरेको मन
प्यारीको दिलझैँ भए गगन यो हुन्नन् कुनै निर्धन ।
पीडा छन् यदि भित्र चोटसरिका आऊ फुकाऊँ तल
हट्ने छन् सहकार्यले प्रिय ! सदा ती दुक्खका बादल ।।९।।

भान्सामा तिमी अग्नि जोर म झिँजा खोजेर भित्र्याउँला
जस्तो शान्ति थियो अगाडि घरमा सम्पूर्ण फर्काउँला ।
आत्मालोचन गर्दछौँ अब दुवै यौटै बनी मानस
गङ्गाको घरझैँ सजावट गरौँ संसारकी पालक ।।१०।।

Comments