३२ वटै वडा भवन मौलिकता झल्किने, परम्परागत नेपाली शैली र एकै स्वरुपका हुनेछन्ः मेयर शाक्य


2022-02-07 03:17:14

News Image

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ । आज वडा–२७ को वडा भवन शिलान्यास गर्ने सिलसिलामा उहाँले यस्तो बताउनु भएको हो । ‘२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो,’ शाक्यले भन्नुभयो, ‘महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक संरचनालाई अहिलेको आवश्यकता अनुसार सेवामैत्री बनाउने र जहाँ भवन छैनन् त्यहाँ नयाँ भवन निर्माण गर्ने नीति नै लिएको थियो । पहिलो बैठकबाट गरेको त्यो निर्णय अहिले हाम्रै कार्यकालमा कार्यान्वयनको चरणमा छ ।’
उहाँले त्यहि नीति अनुसार अघि बढ्दा जनप्रतिनिधि मात्रै होइन सेवाग्राही पनि खुशी भएको बताउनुभयो । ‘हामीले कतै नयाँ भवन निर्माण गरेका छौँ । कतै तला थपेका छौँ । अनि कतै सार्वजनिक र केही आफ्नै स्वामित्वमा रहेका जग्गामा भवन निर्माण गरिरहेका छौँ । केही ठाउँमा स्थानीयसँग सहकार्य गरेर पनि अघि बढेका छौँ ।’
उहाँले अहिलेको कार्यकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि स्वर्णयुग भएको पनि स्मरण गराउनुभयो । ‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ शाक्यले भन्नुभयो, ‘अहिले जति सम्पदा निर्माण–पुर्ननिर्माणको काम यस अघि भएको थिएन । हामी गौरवका साथ भन्न सक्छौँ । हाम्रो पालामा जति सम्पदा निर्माण, पुर्ननिर्माणको काम यस अघिका जनप्रतिनिधिबाट भएको थिएन ।’
प्रमुख शाक्यले वडा नम्बर ३, ४, ९, १४, १८ र २६ ले नयाँ भवनबाट सेवाग्रहीलाई सेवा सुरु गरेको जानकारी दिनुभयो । ‘वडा–२, ६, १२, १६, २०, २१, २२, ३१ को निर्माण कार्य भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘५, ७, १०, १५, १७, ३२ को तला थपेर सञ्चालनमा छन् ।’ वडा ८ र ११ को  खरिद प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । ‘वडा–२७ को आज शिलान्यास भयो । २९ र ३० को जग्गा खरिद प्रक्रिया अघि बढेको छ ।’
उहाँले वडा–१९ को जग्गा खरिद प्रक्रियामा केही समस्या भएकाले ढिलाई भैरहेको भन्दै वडा–१३, २४ र २५ बन्न बाँकी रहेको बताउनुभयो । महानगरपालिकाले दिएको जानकारी अनुसार २८ को भवन निर्माणका लागि जग्गा खोजिरहेको छ भने वडा–२३ भाडामा सञ्चालित छ ।
शाक्यले अहिले जति पनि वडा कार्यालय भवन बनेका छन् ती मेयर, उपमेयर वा वडाध्यक्ष– सदस्यका लागि नभई स्थानीय जनताका भएको पनि बताउनुभयो । ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका छौँ । हामी कहिले काँहीे मेयर वा वडाध्यक्षका पालामा बनाएपछि उसैको हुने हो कि भन्ने भ्रममा पर्ने गर्छौ,’ उहाँले भन्नुभयो, ‘जुनसुकै वडा कार्यालय बन्दा मेयर वा वडाध्यक्षले हाम्रो पालामा काम सम्पन्न गर्न पायौँ भन्ने आत्मसन्तुष्टि मात्रै लिने हुन् । सेवा–सुविधा त स्थानीयले लिने हो नि रु’
शाक्यले काठमाडौँ महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि जानकारी दिनुभयो । ‘हामीले निर्माण गरेका र गर्ने तयारी गरेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ,’ उहाँले भन्नुभयो, ‘भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ ।’
हरिभवनलाई बागदरबार भन्नु भनेको मरेको मान्छे जिउँदो छ भने जस्तै हो
उहाँले केन्द्रीय भवन निर्माणमा मुद्धा–मामिलाले समस्या भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । अहिलेको हरिभवनलाई बागदरबार हो भनेर प्रमाणित गरेर देखाउन पनि उहाँले चुनौती दिनुभयो । ‘कसैको अनावश्यक चरित्र हत्या गरेर, आरोप लगाएर आफ्नो प्रतिष्ठा उच्चो हुँदैन,’ उहाँले भन्नुभयो, ‘अरुलाई सम्मान गर्न सक्यो भने मात्रै आफ्नो पनि प्रतिष्ठा बढ्छ ।’
उहाँले हरिभवनलाई बागदरवार भनेर मुद्धा हाल्ने काम गरी अवरोध गरेको गुनासो गर्नुभया । ‘मलाई मेयरले बागदरबार मास्नेभयो भनेर आरोप लगाइयो । त्यो प्रमाणित कसैले गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘बागदरवार एक जनाले बेचिसक्यो अर्कोले किनेर प्लटिङ गरेर बेचिसक्यो । बागदरबार बेच्ने सुशील शम्सेर जबरा अहिले जिउँदै हुनुहुन्छ । बागदरबार किनेर प्लटिङ गरेर बेच्ने दिलविकास राजभण्डारी पनि जिउँदै हुनुहुन्छ ।’ उहाँले तर, मुद्धाचाँहि भीमसेन थापा कालिन बागदरबार भत्काउने मेयरलाई कारबाही गरिपाउँ भनेर हालिएको भन्दै गुनासो गर्नुभयो । ‘बेच्ने पनि यहिँ छ, किन्ने पनि यहिँ छ,’ उहाँले भन्नुभयो, ‘तपाईँहरु आफैँ कल्पना गर्नुहोस् ।  यस्तो कुरा मरेको मान्छेलाई जिउँदै छ भनेर जिद्धी गरे जस्तै हो ।’ कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा–२७ का अध्यक्ष चिनियामान बज्राचार्यलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।  
करीब ४ आना क्षेत्रफमा निर्माण हुने वडा–२७ को भवनको इष्टिमेट रकम ३ करोड ७९ लाख २७ हजार ७ सय १८ रुपैँया रहेको र कार्यादेश रकम भ्याट समेत २ करोड ८० लाख ८१ हजार ६ सय ३१ रुपैयाँ रहेको छ । लिफ्टसहितको अपाङ्गमैत्री भवन ६ तलाको हुनेछ । सोही भवनमा क्लव पनि रहने छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *