नव कविता वाचन कार्यक्रमको सातौँ शृङ्खला सम्पन्न


माघ २२, २०७८, शनिबार | दिउँसो ०३:१२ बजे | 30


नव कविता वाचन कार्यक्रमको सातौँ शृङ्खला सम्पन्न

शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्र तथा प्राञ्जल नेपालको आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार सञ्चालित नव कविता वाचन कार्यक्रमको सातौँ शृङ्खला ‘नारी विशेष शृङ्खला’ का रूपमा माघ २२ गते शनिबार सम्पन्न भयो । भर्चुअल रूपमा जुमका माध्यमबाट पाक्षिक रूपमा सञ्चालन हुने सातौँ शृङ्खलामा तेह्रजना महिला कविहरूले विविध प्रकृतिका कविता वाचन गरेर सुनाउनुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको प्रमुख आतिथ्य तथा डा इन्दुल केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले गर्नुभएको थियो भने कवि विमला पोख्रेलले वाचित कविताहरूको समीक्षात्मक टिप्पणी गर्दै आनाउनुभएको थियो । कविता वाचन गर्ने महिला कविहरू गीता मञ्जुश्री काभ्रेपलान्चोक, टीका श्रेष्ठ खोटाङ, नवीना श्रेष्ठ ललितपुर, निर्मला श्रेष्ठ काभ्रेपलान्चोक, पुण्यवती घले काभ्रेपलान्चोक, बास्मती राना थारू  कञ्चनपुर, बिरजा घिमिरे काठमाडौँ, लक्ष्मी तिवारी ढकाल स्याङ्जा, लक्ष्मी बडाल काभ्रेपलान्चोक, रश्मि अधिकारी हुमागाईँ भक्तपुर, शर्मिला पौडेल सिन्धुपाल्चोक, सीता सुवेदी पन्थी भक्तपुर तथा सुन्दरी घिमिरे खतिवडा सङ्खुवासभा हुनुहुन्थ्यो । वाचित कविताका बारेमा टिप्पणी गर्दै समीक्षक विमला पोखरेलले समग्रमा कविता सुन्दर रहेका र समसामयिक विषयवस्तुलाई टपक्क टिप्न सफल रहेको बताउनुभयो । प्रमुख अतिथि हरि मञ्जुश्रीले कार्यक्रमको महत्तव र उपादेयतामाथि प्रकाश पार्नुभयो भने सभापतिको आसनबाट डा इन्दुल केसीले कार्यक्रमलाई सकेसम्म समावेशी बनाउन प्रयत्नरत रहेको जानकारी दिनुभयो । आगामी कार्यक्रम आठौँ शृङ्खला फागुन १४ गते शनिबार हुने जानकारी छन्द कविता मञ्चका संयोजक तथा कार्यक्रम सञ्चालक जीवनाथ अधिकारीले दिनुभयो ।

Comments