गाँठो शीर्षकको गद्य कविता पढेपछिः––


माघ २२, २०७८, शनिबार | विहान ०८:१५ बजे | 35


गाँठो शीर्षकको गद्य कविता पढेपछिः––

पदम दाहाल
डा केसीले उक्त कवितामाथि तपाईँको विचार के छ भन्नु भएपछिको मेरो धारणामा उहाँ समसामयिक सामाजिक, राजनीतिक गतिविधिउपर तीखो व्यङ्ग्य प्रहार गर्ने कविवर व्यक्तित्व हुनुहुन्छ। समाजलाई नयाँ बाटो देखाउन चाहनुहुन्छ। समाजमा देखिएका अड्चन, बाधा र ब्यवधानलाई नयाँ पाराले हेर्नुहुन्छ। उहाँका कवितामा प्रतीक र बिम्बको प्रयोग पाइन्छ।यहाँ उहाँले ’गाँठो’ शब्दलाई बिम्बको रूपमा प्रयोग गर्दै शीर्षक नै गाँठो भनेर न्वारन गर्नुभएको छ भन्ने लाग्छ।
उहाँले यस कवितामा तीनवटा विषयवस्तुका बारे व्यङ्ग्य पोख्नु भएको छ।
पहिलो कुरा, डा केसीको यस कवितामा जन्मेदेखि मृत्युतकको हाम्रो मानवजीवन अनेकौं समस्या भोग्न आइपुगेको छ।हाम्रो जीवन अनेकौं गाँठाले जेलिएको छ।गाँठो अर्थात् समस्याद्वारा बन्धित छ।विवाहको लगनगाँठोले महिला र पुरुषलाई जोडी बनाएर एकै जोडामा गाँठो पारिदिन्छ।मन मिलुन्जेलसम्म गाँठो कसिएकै हुन्छ,सुन्दर घर बन्दछ।जब मनमा तुषारापात हुन्छ,उक्त गाँठो खुस्किएर पारपाचुकेमा परिणत हुन्छ।जीवनरूपी गाँठो खुस्काउन मानवलाई कानुनले पनि छुट दिएकोछ।बिहे गरेर हामी संस्कारगत गाँठोमा जेलिन्छौं÷ बाँधिन्छौं।तर मन नमिल्दा गाँठो खुस्किन सक्तछ र अर्काे गाँठोभित्र मानवीय जीवन उनिन्छ।
दोस्रो कुरा,तागाधारीको परम्परागत जनैले कसैलाई संस्कारमा बेर्ने गर्थ्यो पहिले पहिले तर त्यसको अनिवार्यता हामी आफैंले गुमाइरहेछौं।हामी फपश्चिमा संस्कृतिबाट प्रभावित भैसकेका छौं।जनैको सट्टा कसैले टाई लगाएमा किन लगाइस् भनेर भन्ने आँट छैन यहाँ।समयले गाँठो फुकाइसकेको छ न कसैले जनै किन लगाइनस् नै भन्न सक्छ न किन टाई लगाइस् भन्छ।हामी अहिले आफ्नो संस्कारपालनामा सङ्कटग्रस्त छौं।जन्मिदाखेरि एक किसिमको कपडा लाइदिएर सामाजिक जन्जालभित्र गाँठो पारिन्छ व्यक्तिलाई फेरि उही मर्दाखेरि संस्कारगत गाँठोको कात्रोमा बेरिएपछि मान्छेले जीवनबाट उन्मुक्ति प्राप्त गर्दछ अनि जीवनरूपी बन्धनबाट छुट्कारा पाउँछ।यसप्रकार हाम्रो संस्कारगत मान्यतालाई उहाँले गहिरिएर विचार अभिव्यक्त गर्नुभएझैं लाग्छ।
तेस्रो कुरा,आज एमसीसी भित्र्याएर राज्य पक्षले विदेशी चलखेल बढाउने गाँठो÷ समस्या पारिरहेछ।यसले देश भड्खालामा पर्ला कि भन्ने कविलाई ठूलो चिन्ता छ।यो सिङ्गै नेपालीको चिन्ताको विषय हो ।यसको गाँठो कसरी खुस्किने हो भन्दै एमसीसी राष्ट्रका लागि चिन्तनको  गाँठो भएको कुरा कवितामार्फत् समसामयिक कविता बनाई  पाठकमाझ पस्किनुले उहाँ एक जल्दोबल्दो कविका रूपमा हामीबिचका समस्याहरू उजागर गर्न लाग्नुभएको छ भन्ने लाग्छ।यस्ता कविता उहाँबाट अझै रसास्वादन गर्न पाइरहने आशा गरौं।कविजीलाई शुभकामना!!

Comments