शब्दचित्रमा म
माघ ९, २०७८, आइतबार | दिउँसो १२:४६ बजे | 20
ड इन्दुल केसी
(कविता)
मैलै आफ्नो जीवनको आठौँ दशक पार गरेँ
आज आफूले आफैँलाई नियाली हेरेँ । १
ऐनाअगाडि आफू उभिएर हेर्दा चाल पाएँ
आफू डाडाँपारिको घाम भइसकेको आभास पाएँ ।
दाँत झरेको, छाला चाउरिएको, निधार खुम्चेको देखेँ
फुस्रो अनुहार, होचो कदको मेरो प्रतिबिम्ब नियालेँ । २
व्यतीत घटनाहरुका परिदृश्यहरु देख्न थालेँ
मेरो जीवनका किताबी पन्नाहरु पल्टिन थाले ।
हाँस–खेल, रसरङ्ग, घुमफिर कति–कति गरेँ
बालक, जवान अधबैँसे हुँदै वृद्धमा रुपान्तरित भएँ । ३
स्कुल, कजेल, विश्वविद्यालयहरुमा धाएँ
ज्ञानगुणका शिक्षादिक्षाहरुमा रमाएँ ।
आर्जित ज्ञानगुणहरु अरुलाई पनि बाँडेँ
विद्यार्थी, शिक्षक, प्रशिक्षक भई यत्रतत्र समय बिताएँ । ४
आफ्नै देशका हिमाल पहाडहरुमा उकाली ओराली गरेँ
लेक, बेँसी, मैदान जङ्गल तराईमा डुलेँ ।
कन्दरा, गुफाहरुमा भित्र भित्रै पसेर फर्केँ
कोसी, गण्डकी, महाकाली नदीमा स्नान गरेँ । ५
नाउ, डुङ्गा , पानीजहाज, हवाइजहाज चढेँ ।
समुद्रपारिका महाद्धीपहरुमा पनि पुगेँ ।
एसिया, युरोप र अमेरिका केही मुलुकहरु डुलेँ
त्यहाँका कला, संस्कृति, रहनसहन नजिकबाट देखेँ । ६
तीर्थयात्री, पदयात्री, पर्यटक भई यात्री भएँ
सामाजिक, साहित्यिक, आध्यात्मिक संस्थाहरुमा आवद्ध भएँ ।
अनेकौँ विषयका ग्रन्थहरुको म स्वयम् पाठक भएँ
स्वदेश विदेशका लेखकहरुले आफ्ना रचनाहरुमा मलाई चित्रण गरेको पाएँ । ७
मैले नेपाल र नेपाली जनताको समृद्धि चाहेँ
राजनीतिक, सामाजिक आन्दोलनहरुमा सहभागी भएँ ।
जिन्दावाद, मुर्दावादका नाराहरु लगाएँ
सूर्यचन्द्र अङ्कित राष्ट्रिय झन्डा बोकी फर्फराएँ । ८
शब्दचित्रमा “हामी’ कविता संग्रह भित्र डा. इन्दुल के.सी.
–चुडाप्रसाद चौलागाई
समालोचक ÷टिप्पणीकार
‘कविता’ साहित्य विधामध्ये एउटा प्रमुख विधा हो । कवितालाई पनि पाँच प्रकारमा विभाजन गरेको पाइन्छ । महाकाव्य, खण्डकाव्य, फुटकर कविता, संगीत तथा मुक्तक आदि । आखिर कविता के हो ? भन्ने बारेमा बुझ्न आवश्यक छ जसलाई धेरैले भिन्न भिन्न परिभाषा गरेका छन् । सबैको परिभाषालाई यहाँ समावेश गर्न सम्भव छैन तैपनि केही परिभाषालाई समावेश गर्नु अर्घल्याइँ हुनेछैन । अग्नी पुराणमा प्रस्तुत गरिएको परिभाषाअनुसार “अभिष्ट भावलाई संक्षेपमा व्यक्त गर्ने पदावली काव्य हो ।” त्यसै गरी विश्वनाथ बताउँछन्, “रसात्मक वाक्य काव्य हो ।” नेपाली कविता फाँटका धनी माधवप्रसाद घिमिरेका अनुसार, “शब्द, संगीत, अर्थ र अभिप्रायमा तदाकार भएर जो अनौठो अनुभूति हुन्छ, त्यही नै कविता हो ।” कविको कर्म काव्य हो । भाषिक कला काव्य हो । आफूलाई लाग्छ, “कविता भनेको सल्लाको रुखबाट निस्कने खोटोरुपी रस हो, कविता भनेको अन्तरमनबाट फुटेको भावना हो । रस, छन्द, लय आदिमा रचिएको शब्दको माला कविता हो । जसले जुन प्रकारको कविता रच्दछ त्यो काव्य हो । सहज कवि छहराको छाँगो हो जहाँबाट शब्दहरुलाई बटार्दे कविता रच्दछ त्यो काव्य हो । सहज कविता छहराको छाँगो हो जसले मावन जीवनको सुख दुःखको घटनाहरुलाई कवितामार्फत पोख्न सक्दछ । कविता साहित्य विशाल सागर हो जसले जसरी नुहाउँछ, डुबुल्की मार्दछ त्यसैमा यसको महत्व राख्दछ ।
हालै शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क कार्यालय भक्तपुरबाट प्रकाशित प्रस्तुत शब्द चित्रमा ‘हामी’ नामक कविता स्रंगहमा जम्मा ३७ कविहरुका भाव यहाँ प्रस्तुत गरिएको छ । सबैको एउटै शीर्षक छ, ‘शब्द चित्रमा म’ । यहाँ सबै मिलेर हामी बनेको छ जुन बहुवचनमा प्रस्तुत छ । यहाँ मैले ३७ कविताहरु भित्रका मध्ये डा. इन्दुल के.सी. ले लेख्नुभएको कविताभित्र पसेर आफु अल्पज्ञ भएतापनि केही खोतल्न खोजेको छु । प्रत्येक मानिसको जीवनमा सहजताको लागि अनेकौँ कष्ट सहन बाध्य हुनुपर्दछ । मानिस जहिल्यै पनि असल कर्मको लागि दुःख भोग्दछ । मलाई लाग्छ डा. इन्दुल के.सी. विशाल पहाडबाट विशाल आकारको ढुङ्गा जसरी पहाड फुटेर ठक्कर खाँदै खहरेमा पुगेको, खहरेले बगाउँदै नदी–नालामा बग्दै बग्देै टाढा पूगेर सागरको नजिकै बालुवाको थुप्रोमा पसारिएको एउटा चिल्लो विभिन्न आकार दिने चित्र सहितको स्तम्भ हो । उचाल्नै नसकिने टल्कने आकारको शिवजीको मुर्ति जस्तै व्यक्ति हो डा. इन्दुल के.सी । डा. इन्दुल के. सी. आयमिक होइन बहुआयमिक, बहुचर्चित व्यक्तित्व हो । उहाँको कवितामा के छैन ? सबै चिज छ, जे खोज्यो त्यही चिज छ । कविताभित्र अनुभवको धन्सार छ । ८१ वर्षको उमेरमा पुग्दाको अनुभवको अनुभूतिले ऊ के होइन ? सबै चिज हो । जसरी पहाडको उकालो चढ्दै जाँदा सबैभन्दा माथि पुगेर फर्किएर पहिला हिडेको बाटो र हिडिरहेको कठीन अनुभव बगेको पसिना, भोकाइएको अवस्था हुँदा हँुदै पनि फर्केर तल्तिर, वरपर हेर्दा जस्तो अनुभूति उहाँको कविता हो । सगरमाथा हेर्दा रमाइलो हुन्छ । हिँड्दै जाँदा चुचुरोमा पुगेर हेर्दाको दृष्टिले जस्तो अनुभूति हुन्छ त्यस्तै ८१ वर्षसम्मको अनुभव र अुनुभूतिलाई प्रस्तुत कविताले पाठकसामु पोख्ने काम गरेको छ । व्यतित घटनाहरुको परिदृष्यलाई फर्केर हेर्न खोज्दा एकातिर बुढ्याइँको चिन्ता लागेछ भने अर्कोतिर अनुभवका घटनाहरुलाई कविताले जाँगर बढाएछ । बाल्य अवस्थाको घटना, बालककालदेखिको यात्रा गर्दा गर्दा वृद्धामा रुपान्तरण भएको कारणले सायद सकारात्मक जाँगर आएछ कवितामा पोखिन । आफ्नो देशका भूगोलको अग्ला, होचा, हिमाल पहाड, उकाली, ओराली, लेक, वेसी, मैदान, जंगल, तराई आदि क्षेत्रमा भोगिएको बटुलिएको अनुभवलाई कवितामा पोख्न जाँगर चलेछ । पवित्र नदीहरु कोशी, गण्डकी, जस्ता विशाल, नदीहरुमा स्नान गर्दाका घटनाहरुलाई समेत सम्झेर क्रमश ः कविता लेखिएछ । यो जीवनको अमुल्य अनुभवको प्रस्तुति हो ।
डा. इन्दुल के.सी. ले के गर्न बाँकी राखेको रहेछ र ? कुन ठाउँमा पुग्न बाँकी रहेछ र ? कहिले हवाइजहाजको यात्रा, कहिले कतै नाउ वा डुङ्गा, कतै पानी जहाजको यात्राको सम्झना गरेको कुरा प्रति मार्मिक ढङ्गले नढाँकिकन प्रस्तुत गरेको पाइन्छ । समुन्द्र पारिका मुलुकको अनुभव, युरोप, अमेरिका लगायतका मुलुकहरुको भ्रमणले उहाँ कति खारिनुभको रहेछ भन्ने कुरा प्रष्ट मिल्छ । रिट्ठो नबिराइ अनुभवलाई कवितामा प्रस्तुत गरिएको छ । कहिले तीर्थयात्री त कहिले पदयात्री पर्यटक आदिको रुपमा जीवन चलाउनु कति मार्मिक छ । कतै सामाजिक, कतै साहित्यिक, कतै आध्यात्मिक, कतै डाक्टर, कतै वकिल, कतै योगसम्बन्धि ज्ञान यस्ता हरेक अभिनयले समाजसेवामा तल्लीन रहेको देखिन्छ । कतै साहित्यिक क्षेत्रमा कलम चलाएवापत अरुबाट प्रसंसा गरिएका अनुभवलाई पनि रोचक ढङ्गले प्रस्तुत गरेकोले कति स्मरणशक्ति छ कविमा ? नेपाली जनताको समृद्धिका लागि, सामाजिक रुपान्तरणको लागि राजनीतिक आन्दोलनमा होस् वा सामाजिक आन्दोलनमा समावेश हुँदै कहिले मूर्दावाद त कहिले जिन्दावादको नारा लगाउँदै सुर्य चन्द्रको झण्डा बोक्न क्रियाशील व्यक्तिको रुपमा रहँदै जाँदा प्रहरीको लाठी चार्ज खान पनि नपर्ने, कारागारमा बस्दा पनि माफी नमागी निरन्तर रुपमा लागिरहने, आफै भान्से बन्दै अँध्यारो, चिसो बन्दीगृहका अनुभव पनि बटुल्न पनि नपर्ने डा. इन्दुल के.सी. लाई कसरी विश्लेषण गर्ने ? डा. इन्दुल के.सी. ले नेपाल सरकारको कर्मचारी वैदार पददेखि खरदार, सुब्बा बन्दै अफिसर र हाकिमसमेत बन्न सफल हुनुभएका डा. इन्दुल के.सी. कोे सहास र वौद्धिक पक्षको प्रसंसा कसले नगर्ला र ? कार्यालय, विभाग र मन्त्रालयसम्म राष्ट्रसेवकको भूमिका निभाउन सफल बनेका व्यक्तिको अनुशासन र इमान्दारीताको परिणाम ठान्नुपर्दछ । उहाँको योग्यताको क्षमताको कदर कसले नगर्ला र ? कर्मचारीहरुले पाउने सीमित पेन्सनको आम्दानीले परिवार पालेर मुलुकको सेवामा निरन्तर लाग्ने व्यक्तिको रुपमा सबैले चिनेका छन् । पेशा व्यवसायमा मात्र होइन योगका ज्ञाता ध्यान गर्ने ध्यानीको रुपमा, योगी र गुरुको रुपमा, डाक्टरको रुपमा समेत रहेर सर्वपक्षीय ढंगमा समाजसेवा र देश सेवाको योग्य व्यक्तिको रुपमा प्रमाणित भएको उहाँको जीवनीबाट छर्लङ्ग हुन्छ । उहाँको सेवा र योगदानको कारणले महान व्यक्तित्वहरुबाट प्रशंसित भएको कुरा प्रष्टिन्छ ।
कर्मअनुसारको परिणामबाट कवि सन्तुष्ट देखिन्छन् । कहीँबाट ताली र कहीँबाट स्यावासीको कारणले उहाँलाई उत्साहित बनाएको छ । सधैँ खुसी रहने, कहिल्यै नरिसाउने, कसैलाई नहोच्याउने बानी उहाँको सम्पत्ति हो । उहाँलाई ईश्वरीय शक्ति प्रदान भएको छ । कार्य गर्दाको सन्दर्भमा कहिंकतैबाट पाएको गाली र विरोधलाई सहज रुपमा स्वीकार्न सक्ने संयमी व्यक्तिको रुपमा चिन्न सकिन्छ । सत्तल, पाटी, पौवा, मन्दिर, पोखरी जलाशय जस्ता महत्वपूर्ण स्थलहरुको निर्माण गर्नको लागि निरन्तर रुपमा लागिरहने व्यक्ति बिरलै पाइएला । तर उहाँबाट यस्तो कार्य गरेको कुरा कविकै लेखाइबाट विश्वस्त रहन सकिन्छ । त्यस्ता निर्माण गरिएका स्थलहरुमा गएर हेर्दा पुष्टि मिन्छ । डा. इन्दुल के.सी. भगवानको भक्त, ईश्वर प्रमात्माको शक्ति प्राप्त गर्ने सबल व्यक्तिको रुपमा मात्र होइन उहाँलाई सबैले गुरु ठान्नुपर्दछ । आफूले गरेका कर्महरुबाट कवि सन्तुष्ट देखिन्छन् । मावन जीवनको सार्थक पक्षका कर्महरु उहाँले सबैलाई दर्शाउनुभएको छ । उहाँको आशा छ बाँकी जीवन पनि त्यही रुपले अगाडि बढोस् । सबैसँग हाँसेर र हँसाएर बिताउने रहर छ । मलाई लाग्छ उहाँलाई १०० वर्षभन्दा माथि धर्तीमा रहेर समाजसेवामा लागिरहन सक्ने क्षमता प्रमात्माले प्रदान गर्नुहुने नै छ । उहाँको जीवनको अनुभवले पाठकलाई जसरी चन्द्रमाले शितलता दिन्छ त्यस्तै डा. इन्दुल के.सी. को जीवनीले दिन्छ । अन्तत ः उहाँ कृतिहरु यहाँ प्रस्तुत गरेको छु । १. भुँइचालो कविता संग्रह २. इन्दुल के.सी. व्यक्ति एक दृष्टि अनेक, ३. व्यक्तित्व र कृतित्वको तेस्रो आयम, ४. डा. के.सी.को चौथो आयाम, ५. एक अर्काको दृष्टि, दुई व्यक्तित्वको कृति (सहलेखन), ६. श्यामसुन्दर भजन माला, त्रिभाषी भजन संग्रह, ७. भजन सृष्टि विविध दृष्टि (टिप्पणी संग्रह) र ८. भक्तपुरमा प्रचलित भजनहरुमा दुईओटा अध्ययन प्रतिवेदन । यी बाहेक थुप्रै कविताहरु समय समयमा रचिएका छन् । उक्त उल्लेखित कृतिहरुले डा. इन्दुल के.सी. लाई थुप्रै उच्च ओहोदाका व्यक्तित्वहरुले प्रशंसा गरेका छन् ।
अस्तु