लघुकथा जूनेली किरण ३ ः फेरि मायाको अंकुर !
माघ ७, २०७८, शुक्रबार | दिउँसो ०२:११ बजे | 30
अनन्तराज बज्राचार्य
रात निकै छिपिसकेको छ। किरणसंग भेटेर आएदेखि जूनेलीको मनको छटपटी झन बढेको छ। सुनसान रातमा उनको साथ दिने मात्र सिङ्गो चन्द्रमा छ। उनी त्यही चन्द्रमा हेरेर टोलाइरकी छिन्। ठिक अगाडितिरको भित्तामा झुण्डिएको भित्ते घडीको टिकटिक आवाजमा नानाथरी कुराहरु उनको मनको मैदानमा परेड खेलिरहेका छ्न्।
उनले आफ्नो छेउमै झुण्डिएको बत्तिको स्विच अन गर्छिन्। ट्याक्क अन भएको आवाजसंगै घडिको सिसामा बलेको चिम टल्किन्छ। उनको आँखा भित्ते घडिमा पर्छ।
ओहो! एक बजिसकेछ! उनी मनमनै सोच्छिन् । मेरो निन्द्रा हराम गरेर आफू मजाले सुतिरहेको होला किरा! जूनेलीले किरणलाई मायाले किरा भन्ने गरेकी थिइन्। उनले किरणले फर्काएको औँठी खाटसंगैको साइड टेबुलबाट उठाउँछिन् । हेर्छिन् र आफैलाई खिस्सी गरे जस्तै गरि फिस्स हाँस्छिन्।
किन फर्काउनु परेको होला उसलाई यो औंठी? आफैसंग राखिराखेको भए पनि मलाई यति गाह्रो हुने थिएन नि! बेइमान मान्छे! जमूना एक्लै बरबराउँछिन्।
लामो सुस्केरा हाल्दै उनले औँठी आफ्नो चोर औंलामा लगाउँछिन्। ह्वार्ल्याङ ह्वार्ल्याङ हुन्छ। सुतिरहेकी मान्छे उठ्छिन्। खाट मै दुई खुट्टा झारेर मेचमा जस्तै बस्छिन् । औँठी खोलेर फेरि बुढी औंलामा घुसार्छिन् र ओल्टाई पल्टाई आफ्नै हत्केला हेर्छिन्।
जे पर्ला पर्ला एक पटक त म उसलाई रिङ्ग बजाउँछु बजाउँछु आज। जूनेलीले मनमनै सोच्छिन् र मोबाइल उठाउँछिन्। पहिला पहिला त म घर पुगें कि पुगिन भनेर फोन गर्ने मान्छे। अहिले त बाल मतलब नाइ यार ! अति हुन्छ नि ! उनले डाइल गर्छिन् । दुई घण्टी जान नपाउँदै फोन उठ्छ।
दबिएको आवाजमा उताबाट किरणको आवाज सुनिन्छ – हेलो ...
किरणको आवाज सुन्ने बितिकै जूनेलीमा एक किसिमको उर्जा आए जस्तै हुन्छ। उनी तरङ्गित हुन्छिन्। उनले किरण अरु कसैको भैसकेको पनि बिर्सिन्छिन् क्या रे !
मलाई मिस गरिरा’ हो ...
एक छिन् त किरणलाई के गरौ, के नगरौं हुन्छ । उसले बिस्तारै संगै सुतिरहेकी प्राश्ना तिर हेर्छ र उठेर सुटुक्क कोठा बाहिर रहेको बाथरुम भित्र जान्छ।
यति राती ... दबिएकै आवाजमा किरणले सोध्छ । किन गरेको ...?
ए .... सरि सरि ... तिमी एक्लै होइनौ। यु आर म्यारिड नाउ ... मैले भुलेछु। एक्चुली आइ एम मिसिङ्ग यु अ लट काले ....
किरणले जूनेलीको आवाजमा पहिले जस्तै कामूकता अनुभूति गर्छ। उ केही बोल्न सल्दैन। एक छिन मौन नै हुन्छ।
संगै बुढी छ हो?
सानो स्वरमा किरणले जवाफ फर्काउँछ – ए अँ । अहिले म बाथरुममा आइसकें।
एकछिन कुरा गरौं न प्लिज । जूनेलीले आग्रह गर्छिन्।
यति राती ? के कुरा गर्ने?
एक छिन् कुरा गर्नु छ क्या, प्लिज न। जूनेलीले लाडिएर अनुरोध गर्छिन्। एकदम मिस भयो क्या तिमी ....
बरु भोलि भेटुंला नि ...किरण कुराकानी टुङ्याउन चहान्छ।
तिमीले पनि मलाई मिस गरिरा’ हो ...
भोलि आज कै रेष्टुरेन्टमा त्यही टाइममा बाइ ... टुं ... टुं ... टुं....
काले राखिदिएछ ...
अर्को दिन फेरि किरणलाई भेट्न पाउने भएपछी जूनेली फुरुङ्ग हुन्छिन्। दंग पर्दै उनी खाटमा डङरङ्ग पल्टिन्छ्न्। आनन्दको सास फेर्छिन्। जूनेलीको मुहारमा एक किसिमको मुस्कान छाउँछ। भर्खर भर्खर मायामा परेकी युवतीमा आफ्नी प्रेमी भेट्न पाउँदा देखिएको खुसी जूनेलीमा पनि देखिन्छ। यस्तो खुसी त उनी किरणले सुरुमा प्रपोज गर्दा पनि भएको थिएन सायद!