प्रस्तुतिमा विविधता


पुष १३, २०७८, मङ्गलबार | विहान ०५:०५ बजे | 15


प्रस्तुतिमा विविधता

डा इन्दुल केसी

सबैजना आफूलाई प्रस्तुत गर्छन् आ–आफ्नै ढाँचामा ।

आभूषण पहिरन, नाना सिंगार पटारमा
आफ्नै जातिय परम्परागत पहिरन–पहिचानमा
राष्ट्रिय पोशाक – दौरा सुरुवाल टोपीमा ।

विदेशी कोट, इस्टकोट, क्याप, ह्याटमा
सुट बुट टाइको पासो आफ्नै घाँटीमा
सबैजना आफूलाई प्रस्तुत गर्छन् आ–आफ्नै ढाँचामा ।

दारी जुँगा – कार्लमाक्र्स, होचीमिन्ह, हिटलरको नक्कलमा
शरीर भरी खरानी घसी नागाबाबा निर्वश्त्रमा ।

नाक–कान छेडेर गर–गहना प्रदर्शनमा
गाउँघरका महिला फरिया, चोली, पछ्यौरामा
सहरका महिला कुर्ता, सलवार, मिनिस्कर्ट, पाइन्टमा ।

कोही आफ्ना वैभव घर बङ्गगाल निजीघर प्रदर्शनमा
कोही आफ्ना अकूत कालोधन जुटाउन र लुकाउनमा ।


हाम्रा नेताहरु आकर्षक भाषण र गालिगलौजमा
सोजा सिधा नेपाली स्रोताहरु रणभूल्लमा ।
सबैजना आफूलाई प्रस्तुत गर्छन् आ–आफ्नै ढाँचामा ।

कोही आ–आफ्ना लेख, रचना, किताब प्रकाशनमा
जिज्ञासु पाठकहरु खोजी–खोजी पठन पाठनमा ।

उद्योगी, व्यापारी धेरै अनुचित नाफामा
उपभोक्ता आकर्षित विज्ञापनको प्रभावमा ।

कोही धर्म, पूजा, पाठ कर्मकाण्डीमा
कोही अधर्म, साम्प्रदायिक अनेकतामा विभाजनमा ।
सबैजना आफूलाई प्रस्तुत गर्छन् आ–आफ्नै ढाँचामा ।

Comments