क्रूरता


पुष ११, २०७८, आइतबार | विहान ०५:५० बजे | 45


क्रूरता

जीवनाथ अधिकारी

पानी नपर्दा
कुहिराभित्र
काग रुमल्लिएझैँ
मानिसहरू
अलमलिरहँदा
हावाले पनि चिन्न छोडेछ
उता सयौँ छेपाराहरू
कालो ओड्नेभित्र
दिनदिनै
रूप फेर्दै
नयाँपन
देखाउने
उपक्रममा
हैरान पार्दै हामीलाई
रगतसित
स्वार्थ साट्ने
अन्तराकाङ्क्षामा
ती छेपाराहरू
सल्बलाउँदै
कहिले हिमाल
कहिले पहाड
अनि कहिले मधेसका
ठेकेदारहरू
स्वघोषित
नायक भएर
हामीलाई
फ्याउराको
गिद्धे नजरले
प्रेमिल वाणीमा
निहाल्दै छन्
क्रूर हृदयले ।

Comments