लघुकथा : नासो मायाको


पुष ६, २०७८, मङ्गलबार | विहान ०३:४८ बजे | 35


लघुकथा : नासो मायाको

अनन्तराज बज्राचार्य

जाडो महिना भएकोले साँझको ६:०० बजे नै झ्याप्पै अँध्यारो भैसकेको छ। पर आकासमा सिङ्गो चन्द्रमा चम्किरहेको छ। पिक आवर भएकोले वायुसेवा निगमको मूख्य कार्यालय भवनको अगाडि रहेको बस बिसौनी देखि सुन्धारा कर्नरसम्म पनि मानिसको घुँइचो निकै छ। सबै आ आफ्नो घर जान गाडिको लागि संघर्ष गरिरहेका छन्। सडकमा सवारीहरु धिमा गतिमा गुडिरहेका छ्न्। गाडिको आवाज, हर्न अनि त्यससंगै सडक पेटिमा राखिएका पसलहरुको हल्ला बिच काठमाडौं मलको कफि सपमा किरण र जुनेली मौन बसिरहेका छन्। टेबुलको आमने(सामने बसिरहेका छन् तर एक अर्कासंग बोल्न दुबैले कुनै शब्द भेटाएका छैनन्। जुनेली टेबुलमा रहेको गिलास खेलाउन थाल्छिन् । किरण मोबाइल खेलाउँदै छन्।  छिनछिनमा दुबै केही भन्न खोजे जस्तो एक अर्कालाई हेर्छन् । फिस्स हाँस्छ्न्। तर बोली फुट्दैनन्। त्यस्तो क्रम चलेको अलि समय भइसकेको हुन्छ। वेटर अर्डरको लागि अगाडि आइपुग्छ।


सर, के लिनु हुन्छ ?
कफि दुई वटा गरिदिनु न । एउटा हार्ड, एउटा लाइट है !
अरु केही सररु
अहिले यति नै ...

सम्बन्ध टुटिसकेपछिको करिव ६ वर्ष पछिको भेटघाट हो त्यो। जुनेलीले गफ सुरु गर्न बिषय पाए जस्तै गरि खेलाइरहेको सिसाको गिलास दुबै हत्केला बिचमा रोल गर्दै भन्छिन्।

अहिले पनि हार्ड कफि नै र ?
मेरो च्वाइस चेन्ज भएको छैन । तिमीलाई लाइट मगाएं ...
होइन ठिक छ।

फेरि केही समय दुबै मौन । यतिबेला जूनेली आफ्नो चिउँडोलाई हत्केलाले आड दिंदै कुहिनाले टेबुलमा टेकेर चम्किरहेको चन्द्रमा एकनासले हेरिरहेकि छिन् । लाग्छ उनि आकासको एक्लो जूनसंग आफ्नो तुलना गर्दैछिन् । किरण टेबुलबाट उठेर नजिकैको टेबुलमा रहेको मेनु कार्ड लिएर आउँछ र फेरि त्यहिं आएर बस्छ। बस्दा कमिजको कलर भित्रबाट उसले लगाएको सुनको सिक्री बाहिर देखिन्छ। जुनेलीको आँखा किरणको कमिजको कलर भित्र गलामा टल्किएको सुनको सानो सिक्रीमा पर्छ । उनको मनमा कताकता चसक्क बिझे झैं हुन्छ। एकाएक मुहार मलिन हुन्छ। उनले मनमनै सोच्छिन्। कतै किरणले बिवाह पो गर्‍यो कि१ किरणको मुहारमा पुलुक्क हेर्छिन् र मनको कौतुहलता मेटाउन खोज्छिन्।

म एउटा कुरा सोधौं ?
के कुरा ?
टेबुलमा रहेको खाली सिसाको गिलास खेलाउँदै गरेको हुन्छिन् जुनेली।
तिमीले बिवाह गरेको हो ?

किरण केही बोल्दैन । लामो सास छोड्दै टाउको निहुराएर आफ्नो आँखा लुकाउँछ। किरणको आँखा अनायासै भरिसकेको हुन्छ।

पिन्चे ...

किरणलाई नर्मल बनाउन जुनेलीले योगेश्वर अमात्यको गीत गुनगुनाउँछिन्।

लोग्ने मान्छे भएर रुनु हुन्न रे, मर्दको छोरोले आँसु झार्न हुन्न रे.. आफै हाँस्छिन् । किरण पनि मुस्कुराउँछ्न् र हत्केलाले आँसु पुच्छ्न्। जुनेली टेबुलको न्यापकिन् दिंदै ...

चल छोड् ... ! एनिवेज् ... कङ्ग्राचुलेसन तिमिलाई ! ... म एकदम खुसी छु तिम्रो लागि। कमसेकम अब तिमी एक्लो हुँदैनौं।

यति भनिराख्दा जुनेलीले आफ्नो आँसु रोक्न पटक पटक प्रयास गरिन्। आँसु थाम्न र रुवाई रोक्न जुनेलीले आफ्नो ओठ धेरै पटक टोकिन् । आखिर मनै त हो कसरी मान्छ र ! उनको आँखा भरिएर आयो। स्वर काँप्न थाल्यो। जुनेलीले आफ्नो आँखामा टिल्पिलाएको आँसु न्यापकिन लिएर पुछिन् र आफू खुसी छु भनी देखाउन मन्द मुस्काउँछिन्।

तिमी चाहिँ किन रोएको नि ?
छैन रोएको ... अलि गाह्रो हुँदो रैछ ... (न्यापकिनले आँसु सोच्दै) लामो समयसंगै बिताएको मान्छे ...  एकैचोटी तिमी टाढा भए जस्तो फिल भयो ....  खैर भयो छोडिदेउ ...
तिम्रो बुढिको फोटो देखाउँदै नौ ?

किरणले आफ्नो मोबाइलमा भएको फोटो देखाउँछ।

यो जुनेली भन्दा त कति राम्री कति .. म त फिक्का ।। नाम के नि ?
प्रास्ना ...
यति राम्री बुढी पा छौ .. खुसी पो हुनु पर्छ ... एरेन्ज नै होला !
के फरक पर्छ र रु अनि तिम्रो के छ ? सुनाउ ...
म इण्डियामा थिएं ।
इण्डियामा !
आएर पहिलो कल तिमीलाई नै हो ...

कुरा अगाडि बढ्न नपाउँदै वेटरले कफि ल्याइपुर्‍याउँछ । जुनेलीले किरणको कपमा चार चम्चा चिनी राखिदिन्छिन्।

मेरो बानी अहिलेसम्म याद छ।
केही पनि बिर्सेको छैन । लेउ कफि ...
तिमीले एकदम गलत गर्‍यौ काली ...
तर म तिम्रो लागि खुसी छु। अब तिमी बिस्तारै सेटल हुन्छौ।
अनि तिमी .. ?
(लामो सुस्केरा हाल्दै) मेरो के छ र .. एक्लो ज्यान ... जता लागे पनि भै गो नि ...
किन त्यति निरास भा को ? उ आकासको चन्द्रमा हेर त। उ पनि एक्लो छ तर उज्यालो मुहार छ त। जुनेलीलाई सम्झाउँदै किरणले भन्छ।

जुनेली फिस्स हाँस्छिन्।

 त्यो चन्द्रमालाई त उज्यालो दिने सूर्य छ। साथ पाएको छ उसले। खै मलाई साथ कसले दिन्छ छ र म खुसी हुनुरु
कारण तिमी हौ ... यो अवस्थाको ... म टाढा गएको होइन काली ... तिम्रै इच्छा थियो त ... तिमिले हाम्रो सम्बन्धलाई नाम दिन चाहेनौ ... खै किन हो ... मैले त्यही गरें जे तिमिले चाहायौ ... अनि किन दुखि तिमी !
म जस्तोलाई यस्तै हुनु पर्छ ... सोचेजस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन ... भनेको हो रैछ। खैर बिर्सिदेउ पुराना यादहरु ...

कफिको अन्तिम सीप खाँदै ...
अब जाने होइन ...
कता जान्छौ ?
केही दिन दिदि कहाँ बस्छु । अनि गाउँ जान्छु होला ...
हामी फेरि भेट्छौं भोलि ?
खै हेरौं ...
म कल गरौं ...
तिम्रो बुढिले मार्ला नि ... !

दुबै उठ्छन्। छुटिनु अगाडि जुनेलीले आफ्नो दुबै हात फिजाउँदै मनको इच्छा ब्यक्त गर्छिन्।

मलाई एक पटक टाइट हग दिन्नौ काले पहिला जस्तै ।

दुबै एक अर्काको अंगालोमा बाँधिन्छ्न्। किरणले जुनेलीको कपाल सुम्सुमाउँछ। जुनेलीले आँखाबाट बर्बरी आँसु झार्छिन् ।  लाग्छ उनलाई आफुले बिगतमा गरेको निर्णयबाट पछुतो छ र सच्याउन चाहान्छिन् ।

किरण ! आइ एम सरि ! मैले तिमीलाई धेरै दुःख दिएं। तिमीलाई यति नजिकबाट चिनेर पनि ... आइ एम रियल्ली सरि काले !
अब निकै ढिला भैसक्यो काली ... गाडी स्टेशनबाट छुटि सक्यो ।
हो ... म छुटिसकें । अब गाडी भेटिन असम्भव छ।

जुनेलीको अंगालोबाट छुट्टेर किरणले पकेटमा केही चिज झिकेर जुनेलीलाई दिन्छ।

तिम्रो एउटा नासो छ म संग । लिएर जान्छौ !

 किरणले उनिहरुको मायाको चिनो पहिला जुनेलीले नै दिएको औँठी उसैको हातमा राखि दिन्छ।

यो औँठी तिमीले अहिलेसम्म राखी राखेको छौ ।
यु आर रियल्ली क्रेजी काले ।

दुबै फेरि अंगालोमा बाँधिन्छन्। जुनेलीले कस्सिएर औँठी मुठिमा कस्छिन् ( त्यो औँठी नै उसको जीवनको सहारा जस्तै गरि !

Comments