बालकथा : फुच्चे मुखिया


पुष २, २०७८, शुक्रबार | विहान ०४:३९ बजे | 10


बालकथा : फुच्चे मुखिया

अनन्तराज बज्राचार्य
गाउँका सबै गाउँलेहरुका लागि राम्रो काम गर्ने र सबैको भलो गर्ने भएकोले मुखिया बा लाई सबैले सम्मान गर्थे। सबैले माया गर्थे। मुखिया बा ले भनेपछि सबैले सजिलै मान्थे।  राजकुमार तिनै मुखिया बा का छोरा थिए।  सानै छंदादेखि नै राजकुमारले आफ्ना बुवाले गाउँ र त्यहाँका गाउँले दाजुभाइ, दिदिबहिनीहरुका लागि गरेका सेवा र गाउँको सुधारका कामलाई नजिकैबाट हेरिरहेका थिए। उ आफ्ना बुवा जस्तै गाउँमा सबैको प्यारो मान्छे बन्न रुचाउँथ्यो। उसले पनि बुवाको सिको गरेर गाउँका सबैलाई सकेजति सहयोग गर्ने गर्थे। त्यसैले उ गाउँभरि नै फुच्चे मुखिया भनेर चिनिन्थ्यो।
राजकुमारको एकजना डल्ले नाम गरेको साथी थियो। एक दिन डल्ले नयाँ भकुण्डो लिएर उसको बुवासंग मुखिया बा को घर आइपुग्यो। मुखिया बा र डल्लेको बुवा घर भित्र गफ गर्नमा भुल्छ। डल्ले भने घर बाहिर भकुण्डो खेल्न थाल्छ। राजकुमार झ्यालबाट डल्लेलाई हेरिरहेको  हुन्छ।  खेल्दा खेल्दै डल्लेको भकुण्डो भिरको छेउतिर पुग्छ। डल्ले पनि आफ्नो भकुण्डो टिप्न भिर छेउतिर कुद्दै जान्छ। उसले आफुलाई भिर छेउ रोक्न सक्दैन र भकुण्डोसंगै गुल्टिएर भिरबाट खस्छ। गफमा मस्त डल्लेको बुवा र मुखिया बालाई यो सबै थाहा हुने कुरै भएन। यो सबै हेरिरहेका राजकुमार आँतिदै चिच्याउन पुग्छ – डल्ले ‘! उ चिच्याएको न त मुखिया बा ले सुन्छ न डल्लेको बुवाले। राजकुमार आफै डल्लेलाई भिरबाट तान्न तम्सिन्छ र भिर तिर कुद्दै जान्छ। तल भिरमा डल्ले आय्या, आय्या भन्दै छट्पटाइरहेको हुन्छ। राजकुमारको हातले डल्लेलाई भ्याउने कुरै भएन। उसले नजिकै खसी बाँधेर राखेको डोरि फुकाएर डोरिको एउटा टुप्पो रुखमा बाँध्छ र अर्को टुप्पो डल्ले तिर खसाउँछ।
डल्ले! नआँत्ती ‘ डोरि समात ‘ म तिमिलाई तान्छु ।
डल्ले ले सकि नसकी डोरिको टुप्पो भेट्टाउँछ र उसको भकुण्डो अर्को हातले टिप्न खोज्छ। फुच्चे मुखियाले यो देखेर कराउँछ।
“डल्ले, भकुण्डो छोड्दे । दुबै हातले डोरि समात र खुट्टाको बलले माथी चढ।“ डल्लेले पनि राजकुमारले भने जसरी नै उक्लिन प्रयास गर्छ। तर उसले सक्दैन। उ एक्लैको बलले डल्लेलाई माथी तान्न सक्दैन। उसले भित्र गफमा मस्त डल्लेको बुवा र मुखिया बालाई खबर गर्छ। पछि सबै मिलेर डल्लेलाई भिर तलबाट माथी तान्न सफल हुन्छ। डल्लेको हात, खुट्टा र शरिरमा चोट लागेको हुन्छ। उसलाई तुरुन्तै अस्पतालमा उपचारको लागि लगिन्छ।
करिव एक महिना जति पछि हात र खुट्टामा ब्याण्डेज लगाएका डल्ले आफ्ना बुवासंग मुखियाको घरमा आइपुग्छ। त्यो बेला राजकुमार डल्लेको भकुण्डो खेलिरहेको हुन्छ। डल्लेलाई देखेर राजकुमारलाई केही अप्ठ्यारो महसुस हुन्छ। खेलिरहेको भकुण्डो हातमा उठाएर उसले मनमनै सोच्छ।
ला ... मैले डल्लेको भकुण्डो पो खेलिरहेको छु। फर्काउनु पर्ने ! उसले के सोचिरहेको होला!
राजकुमारलाई देख्ने बितिकै डल्ले खुसी हुँदै टाढैबाट बोलाउँछ।
राजकुमार ...!
राजकुमार भकुण्डो छेउ मै फालेर डल्ले भए तिर जान्छ र हात समाएर ल्याउँछ। आफू भिरबाट लडेको बेला माथी तान्नको लागि समयमा नै हारगुहार गरेको र सहयोग गरेकोले राजकुमारलाई डल्लेले उपहार सहित धन्यबाद दिन्छ।
मैले तिमेलाई केही ल्याइदिएको छु। उपहारको बट्टा दिंदै डल्लेले भन्छ।
राजकुमारले हतार हतार बट्टा खोल्छ।
ओहो! हेलिकप्टर ....!
उ खुसी हुन्छ र डल्लेको भकुण्डो उसलाई दिन्छ ।
मैले खेलेर अलि पुरानो बनाइ दिएं। मलाई माफ गर है।
केही छैन। मैले खेले पनि पुरानै हुने त हो नि।
राजकुमार हेलिकप्टर उडाउन थाल्छ। दुबै खुसी हुँदै आँगनमा खेल्न थाल्छन्।
फेरि लड्लाउ .... भिर छेउ तिर नजाउ । डल्लेको बुबाले सचेत गराउँछ।

कथाको सिकाईः
१) सबैलाई बिना कुनै स्वार्थ सहयोग गर्नु पर्छ।
२) आफुलाई सहयोग गर्नेलाई धन्यबाद सहित उपहार दिनु राम्रो काम हो ।
३) कसैको सामान आफुसंग छ भने फर्काउनु पर्छ।


Comments