उहिल्यै चिनेको अहिले बुझेको


मंसिर २१, २०७८, मङ्गलबार | दिउँसो ०१:२४ बजे | 30


उहिल्यै चिनेको अहिले बुझेको

द्रोणप्रसाद श्रेष्ठ मुण्डाघरे
नेपालको प्राचीन र ऐतिहासिक सहर भक्तपुर । भक्तपुरको मङ्गलाछे टोल । त्यहाँ घर भएको मैथिल ब्राह्मण परिवार । उनीहरूको थर झा । पुस्तौंपुस्ता अघिदेखि भक्तपुरमा बस्दै आएको त्यो परिवार । त्यहाँ परिवारका ब्राह्मण केदारनाथ झाले नेवारकन्यासँग विवाह गरेका । शेरकुमारी (कान्छी) ती कन्याको नाउँ । त्यस बेलाको अवस्थामा त्यो एकदमै क्रान्तिकारी कदम । अहिले त बाहुन र नेवारका बीचमा बिहे गर्न हिचकिचाइन्छ भने आजभन्दा ९० वर्षजति अघिको परम्परागत समाज कस्तो होला ? तैपनि क्रान्तिकारी कदम चाले श्री केदारनाथ झाले ।
तिनै केदारनाथ र शेरकुमारीका सुपुत्रका रूपमा १९९८ साल मङसिर २७ गते जन्मेका हुन इन्दुल झा । तर विद्यालयका शिक्षकले उनको थरमा केसी लेखिदिए । त्यसपछि उनी इन्दुल केसी बने । प्राकृतिक चिकित्सा विधामा भारतबाट विद्यावारिधि गरेका हुनाले ‘डा.’ लेख्न पाए । त्यसैले किताबहरूमा उनको नाउँ पढन पाइन्छ डा. इन्दुल केसी भनेर ।
इन्दु भनेको चन्द्रमा हो । ‘इन्दुल’ को अर्थचाहिँ मलाई थाहा छैन । जे होस, डा. इन्दुल इन्दुजस्ता चाहिँ छैनन, सूर्यजस्ता छन – तातोपना भएका, तेजश्वी, ओजश्वी । जब उनी ठट्टा गर्न थाल्छन, तब मात्र चन्द्रमाजस्ता शीतल लाग्छन । जवानीमा त उनी उनकै पिताजीको स्वभावअनुसारका थिए – क्रान्तिकारी, निडर, हक्की, स्वाभिमानी । चित्त नबुझेको कुरामा तुरुन्तै प्रतिवाद गरिहाल्थे, आँटेको काम गरिहाल्थे र आफूभन्दा माथिका मान्छेसँग झुक्तैनथे । त्यसैले जागिरमा हुनुपर्नेजति पदोन्नति उनको हुन सकेन । उपसचिवभन्दा माथि पुगेनन । योग्यता र क्षमताले त उनी सचिव हुनुपर्ने मान्छे थिए ।
डा. इन्दुल केसीसँग हाम्रो परिवारका धेरै मान्छेहरूको सम्पर्क छ । उनको जन्मजिल्ला भक्तपुरमा मेरा बुबा चण्डिप्रसाद श्रेष्ठ प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । त्यस बेला मेरा बुबासँग पनि उनको सम्पर्क रहेको थियो । मेरा भाइ सुप्रसिद्ध गायक, सङ्गीतकार, गीतकार तथा साहित्यकार हिरण्य भोजपुरे र उनले सँगै जागिर खाएका थिए । मेरी भाइबुहारी सुप्रसिद्ध गायिका तथा लेखिका उर्मिला श्रेष्ठ भोजपुरे र उनी घरेलु विभागमा एकैपटक डिपुटी डाइरेक्टर बनेका थिए । दुवैले सँगै काम गरेका थिए । मेरी बहिनी सरस्वती श्रेष्ठको विवाह भक्तपुरनिवासी समाजसेवी नारायणप्रसाद वैद्यसँग भएको हो । मेरा बहिनीज्वाइँ नारायणप्रसाद वैद्य पनि उनका साथी हुनुहुन्छ । मेरो पनि धेरै वर्षअघि इन्दुल केसीसँग चिनजान भएको हो । हामी दुवै जागिरे थियौँ सरकारको दानापानी खाएका । त्यति बेला उनको र मेरो भेटघाट भइरहन्थ्यो । जागिरे जीवनबाट अवकाश लिइसकेपछि पनि विभिन्न कार्यक्रमहरूमा हाम्रो भेटघाट हुने गथ्र्यो । त्यति बेला मलाई उनी बहुमुखी प्रतिभाशाली व्यक्ति होलान जस्तो लागेको थिएन । मैले उनलाई जागिरे मित्रका रूपमा मात्र हेर्ने गरेको थिएँ ।
हामी दुवैले अवकाशप्राप्त जीवन बिताउन थालेको धेरै वर्षपछि हामी दुवैका भाइ हरि मञ्जुश्रीका कारणले हाम्रो पुनर्मिलन भयो । शब्दयात्रा प्रकाशन हाम्रो पुनर्मिलनको थलो बन्यो । त्यस संस्थाबाट हामी दुवैका किताब छापिए । त्यस संस्थाका कार्यक्रममा हामी दुवै सहभागी हुन थाल्यौँ । त्यसैले हाम्रो पुरानो सम्बन्ध नयाँ रूपमा प्रकट हुन थाल्यो । त्यसपछि पो मैले थाहा पाएँ मेरा पुराना जागिरे साथी इन्दुल केसी त प्राकृतिक चिकित्सक, लेखक, सम्पादक, समाजसेवी, आध्यात्मिक चिन्तक, भजनगायक डा. इन्दुल केसी पो भइसकेका रहेछन ।
एक दिन शब्दयात्रा प्रकाशनको कार्यक्रममा बनेपामा भेटघाट हुँदा स्वयम् लेखक–सम्पादक भई शब्दयात्राबाट प्रकाशित ’व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ नामक पुस्तक उनले मेरो हातमा थमाइदिए र छोटो प्रतिक्रिया अथवा सानो अनुभूति लेखिदिन आगह गरे । त्यो दिन र त्यसपछिका केही दिनहरूमा पनि उनको विगत र वर्तमानको छवि मेरा मनमा आइरह्यो । जागिरे जीवनमा चिन्न नसकेका उनको छवि अहिले बुझ्न सकेकोमा म हर्षित बनेको छु ।
अहिले हामी दुवैले आठ दशक उमेर पार गरिसकेका छौँ । हामी दुवैलाई थाहा छ – हामीले अब परिवारका लागि भनेर धेरै समय छुटयाउनु आवश्यक छैन । अब त बाचुन्जेल जेजति काम गर्नुछ, समाज र राष्ट्रको हितमा नै गर्नुछ । दुवैजना त्यहाँ गर्दैछौँ । त्यसका लागि दुवैजनाले संस्थागत रूपमा शब्दयात्रा प्रकाशनलाई माध्यम बनाएका छौँ ।
मेरा मित्र डा. इन्दुल केसीले पाच कोरी (१०० वर्ष) आयु पूरा गरून । त्यति आयुभरि उनी समाजको हितमा सक्रिय रहून । मेरो शुभकामना छ ।
(साभारः ठुमरीकी रानी (लेखसङ्ग्रह – द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’)   
               मेलवादेवी                        डा. इन्दुल केसी, भक्तपुर
(प्रथम नेपाली महिला संगीतकार तथा गायिका)                 ९८४१३३४११३

Comments