साहित्यकार रीतादेवीका दुई कृति विमोचित
मंसिर ९, २०७८, बिहीबार | विहान ०६:३९ बजे | 5
ललितपुर । नेपालभाषा तथा नेपाली भाषाका साहित्यकार रीतादेवी प्रधान जोशी रुमाठका दुई कृति फय् वःगु लँय् र तापालय् थ्वःगु सःको एक समारोहका बीच सार्वजनिक गरिएका छन् । सिर्जना अभियान समाज र नेवाः हाइकु ख्यःको आयोजनामा भएको सो समारोहमा शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार धु्व मधिकर्मी र अनेसासका पूर्व अध्यक्ष तथा नियात्राकार गीता खत्रीले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभयो ।
समारोहमा वांगमय शताब्दी पुरुष जोशीले साहित्यकार रीतादेवीको कृति प्रकाशित भएकोमा खुशी व्यक्त गर्दै भाषा साहित्यको विकासका लागि विदेशमा बसेका लेखकहरुबाट पनि योगदान थपिंदै गएको छ भन्नुभयो ।
प्रज्ञासभा सदस्य साहित्यकार मधिकर्मीले स्रष्टाहरुले अग्रजको प्रभावलाई पचाएर आफ्नो लेखनको बाटो फरक बनाउँदै पहिचान स्थापित गर्नुपर्ने बताउँदै रीतादेवीका कथाहरुमा विदेशमा बस्ने नेपालीहरुको प्रवृत्ति र पीडालाई मार्मिक रुपले अभिव्यक्ति दिइएको छ भन्नुभयो ।
नियात्राकार खत्रीले विदेशमा नेपाली भाषा र साहित्यको पहिचान बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै साहित्यकार रीतादेवी पनि आफ्नो क्षेत्रमा निकै सक्रियतापूर्वक लेखन तथा सामाजिक कार्यमा जुटिरहनुभएको छ भन्नुभयो ।
विदेशमा रहेका कारण कृतिका स्रष्टा प्रधानले जूम प्रविधि मार्फत आफ्ना विचारहरु राख्दै कृतिको विमोचन भएकोमा खुशी व्यक्त गर्दै सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधानको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकारहरु पुर्ण ताम्राकार, पुष्पराज राजकर्णिकार, शाक्य सुरेन, तुयु पुं र पूर्णिमा शाक्यले पनि मन्तव्य व्यक्ति गर्नुभएको थियो ।