शब्द चित्रमा म
कार्तिक २४, २०७८, बुधबार | विहान ०५:३२ बजे | 20
डा इन्दुल केसी
मैले आफ्नो जीवनको आठांै दसक पार गरेँ
आज आफूले आफँैलाई नियाली हेरेँ ।
ऐना अगाडि आफू उभिएर हेर्दा चाल पाएँ
आफू डाडाँपारीको घाम भइसकेको आभास पाएँ ।
दाँत झरेको, छाला चाउरिएको, निधार खुम्चेको देखेँ
फुस्रो अनुहार, होचो कदको मेरो प्रतिबिम्ब नियालेँ ।
व्यतीत घटनाहरूका परिदृष्यहरू देख्न थालेँ
मेरो जीवनका किताबी पन्नाहरू पल्टिन थाले ।
हाँस–खेल, रसरंग, घुमफिर कति–कति गरेँ
बालक, जवान अधबैंसे हुँदै वृद्धमा रूपान्तरित भएँ ।
स्कुल, कलेज, विश्वविद्यालयहरू धाएँ
ज्ञानगुणका शिक्षा दीक्षाहरूमा रमाएँ ।
आर्जित उक्त ज्ञानगुणहरू अरूलाई पनि बाडेँ
विद्यार्थी, शिक्षक, प्रशिक्षक भई यत्रतत्र समय बिताएँ ।
आफ्नै देशका हिमाल पहाडहरूमा उकाली ओराली गरेँ
लेक, बेंसी, मैदान, जङ्गल, तराईमा डुलेँ ।
कन्दरा, गुफाहरूमा भित्र–भित्रै पसेर फर्केँ
कोशी, गण्डकी, महाकाली नदीमा स्नान गरेँ ।
नाउ, डुंगा, पानी जहाज, हवाइ जहाज चढेँ
समुद्रपारिका महाद्वीपहरूमा पनि पुगेँ ।
एसिया, युरोप र अमेरिकाका केही मुलुकहरू डुलेँ
त्यहाँका कला संस्कृति, रहनसहन नजिकबाट देखेँ ।
तीर्थयात्री, पदयात्री, पर्यटक भई यात्री भएँ
सामाजिक, साहित्यिक, आध्यात्मिक संस्थाहरूमा आवद्ध भएँ ।
अनेकौं विषयका ग्रन्थहरूको म स्वयम् पाठक भएँ
स्वदेश विदेशका लेखकहरूले आफ्ना रचनाहरूमा मलाई चित्रण गरेको पाएँ ।
मैले नेपाल र नेपाली जनताको समृद्धि चाहेँ
राजनैतिक, सामाजिक आन्दोलनहरूमा सहभागी भएँ ।
जिन्दावाद, मुर्दावादका नाराहरू लगाएँ
सूर्य चन्द्र अङ्कित राष्ट्रिय झण्डा बोकी फर्फराएँ ।
प्रहरीको लाठी र हप्की दब्की खाएँ
कारागारमा पनि केही दिन डेरा जमाएँ ।
भोजनको लागि आफँै भान्छे पनि भएँ
अँध्यारो, चीसो बन्दीगृहको कठोर अनुभव गरेँ ।
बहिदार, खरदार, सुब्बा, अफिसर र हाकिम पदमा बसँे
कार्यालय, विभाग, मन्त्रालयहरूमा राष्ट्रसेवक भई बसेँ ।
बुद्धि, विवेक लगाई कार्य गर्दा आफ्नै पसिनामा नुहाएँ
सीमित पारिश्रमिकमा मेरा परिवारजन पालेँ ।
योग ध्यान सिकेँ, योगी र योग गुरू पनि भएँ
वैकल्पिक उपचारमा डाक्टरको उपाधि पनि पाएँ ।
धेरै रोगीहरूलाई सफल उपचार सेवा पु¥याएँ
लाभान्वित हुनुभएकाहरूबाट धन्यवाद पाएँ ।
मेरा परोपकारी कार्यहरूको परिणाम स्वरूप
सज्जनहरूबाट स्याबासी र ताली पाएँ ।
कतिपय दुष्टजनबाट इष्र्या र गाली पाएँ
प्राप्त ताली र गाली दुवैलाई मनले स्वीकारेँ ।
सटल, पाटी, पौवा, मन्दिर, पोखरी, जलासयको
जीर्णोद्धार, नवनिर्माण सामाजिक कार्यहरूमा अगुवाई गरेँ ।
निर्मित ती पाटी पौवाहरूको सदुपयोग भएको देखेँ
आफूले सम्पादित कार्यहरूबाट आफू पुलकित भएँ ।
भक्तिभावले ईश्वर–परमात्माको
सगुण निर्गुण भावमा भजन गाएँ ।
यसैमा आफ्नो मनको भित्र शान्ति पाएँ
आखिर मानव जीवनको सार्थकता बुझेँ ।
मेरो बाँकी जीवन पनि यसरी सत्कर्महरूमा
हाँसी खुसी भै लाग्न सकूँ भनी इच्छ्याएँ ।
मैले जीवनको आठौं दसक पार गरेँ
आज आफूले आफैँलाई नियाली हेरेँ ।।