साहित्यकार माधव भँडारीलाई यसरी चिनेँ मैले


कार्तिक १२, २०७८, शुक्रबार | दिउँसो १२:४१ बजे | 0


साहित्यकार माधव भँडारीलाई यसरी चिनेँ मैले

पदम दाहाल
इलामको बरबोटेमा वि०सं० १९९३ माघ १६का दिन जन्मिनु भएका माधव भँडारी,सङ्खुवासभाका वानाली साहित्यकार चूडामणि रेग्मीद्वारा प्रेषित उहाँका विषयमा धेरैजना समीक्षकद्वारा विभिन्न कोणबाट चिनाउने उद्देश्यले लेखिएका सामग्रीहरूलाई मैले सर्सर्ती पढ्न भ्याएँ।माधव भँडारी र चूडामणि(चुमरे)दुवैजना समकालीन साहित्यकार व्यक्तित्व तथा त्रिवि प्राध्यापन सेवाबाट निवृत्त पनि।दुवैजना झर्राेवादी लेखन शैलीमा खप्पिस।प्रगतिवादी लेखन र चिन्तनमा दुवैजना सिध्दहस्त,सँगसँगैको मिल्दो उमेर।
   २०१४ सालमा ’नेपाली कथा साहित्य’नामक कथात्मक कृति उहाँहरू दुवैजनाका ३÷३ कथा समावेश भै प्रकाशित भएको संयुक्त कथा सँगालो थियो।त्यसलाई ४३ वर्षपछि अरू ३÷३ कथा थप गरी परिमार्जित परिबर्ध्दिदतरूपमा २०५८मा जुही प्रकाशनबाट दोस्रो संस्करण भै दोस्रो पुस्तकाकार कृति निस्किएछ।यसउसले गर्दा पनि उहाँहरू बीच साहित्यिक निकटता बढी नै रहेको हुनुपर्छ।
   माधव भँडारीज्यूलाई अरू सबै विधाभन्दा कथाकारिताका क्षेत्रमा उपल्लो स्थानमा  राख्नु उपयुक्त हुनेरहेछ किनकि उहाँले ’गाउँघर’,’माधव भँडारीका कथा’,’पार्वती परिणय’ गरी तीनवटा कथा कृति प्रकाशित गरिसक्नु भएको रहेछ।कथा लेखनमा उहाँले २०१३ सालमै जनसांस्कृतिक सभा चैनपुरबाट प्रकाशन भएको पत्रिकामार्फत ’माइत’भन्ने शीर्षकको कथा पहिलो कथाका रूपमा लेखिएको कथा छापिएको रहेछ।उहाँका थुप्रै कथामध्ये ’रिन’भन्ने कथा पढ्न पाउँदा अत्यन्त मार्मिक सामाजिक कथा लाग्यो।नेपाली सामाजिक परिवेश,दलित उत्पीडित वर्गप्रतिको सहानुभूति,शोषण दमनको खुलासा,लिङ्गगत भेदभाव,ग्रामीण समाजको दुरुस्त चित्रण आदि उहाँका कथाभित्रका विशेषता हुँदारहेछन्।
   उहाँ एक सशक्त उपन्यासकार पनि हुनुहुन्छ भन्ने कुरा उहाँको ’पूर्णिमा’भन्ने उपन्यासको कथावस्तु पढ्न पाउँदा अवगत भयो।२०१७ देखि २०३०सालसम्मको इलामेली समाज कुन रूपमा थियो पुरानो र नयाँ पिँढी तथा परम्पराको चेतनाको सङ्क्रमणकालीन अवस्थाको स्वरूपलाई जीवन्त पार्न उहाँ कतिसम्म सफल हुनुभएको रहेछ भन्ने कुरा बुझ्न धरणी गौतमको विश्लेषणले मद्दत गरेको छ।
   सर्जक माधव भँडारीले साहित्यिक इतिहास,साहित्य शास्त्र,नाटक आदि क्षेत्रमा पनि आफूलाई प्रस्तुत गर्नु भएको बताउनुहुन्छ प्रमोद प्रधानज्यू पनि।नेपाली ग्रामीण जीवनको सशक्त चित्रण उतार्नु,समाजका नकारात्मक पक्षलाई उखेलेर फाल्नु,महिलाप्रति गरिने भेदभाव र अन्यायका विरुध्द तीब्र रोष प्रकट गर्नु,सरस, सरल र झर्राे नेपाली भाषाको प्रयोग गर्नु नै उहाँको लेखनीय विशेषता रहेछ भन्ने लागो।
   उहाँ सम्पादक,निबन्धकार,कवि ,काव्यकारका रूपमा पनि उत्तिकै चिनिनु भएको व्यक्तित्व हुनुहुँदो रहेछ।२०१२सालमा छापिएको उहाँको ’मातृस्मृति’ कविता पहिलो कविता रहेछ भने ’भावका पंखहरू’२०५९ लघुकाव्य हो रहेछ र अरू थुप्रै कविता पत्रपत्रिकामा प्रकाशित रहेछन्।
   झर्राे नेपाली आन्दोलनका एकलव्य मानिएका माधव भँडारी नेपाली अभियन्ता साहित्यकारमध्ये एकजना पर्नुहुँदो रहेछ।पूर्वका साहित्यकारमध्ये एक निधि,पूर्वाञ्चलका एक उज्ज्वल प्रतिभा,इलामेली समाजका प्रतिविम्ब समेत भन्दै पुण्य खरेलज्यू उहाँको चिनारी दिनुहुन्छ। त्यस्तै छन्दकवि श्यामकृष्ण श्रेष्ठले उहाँलाई सामाजिक जीवनका विकृति विसङ्गतिको अभिव्यक्ति दिने साहित्यकार भनी उहाँका बारे प्रकाश पार्नु हुन्छ।
   समग्रमा भन्नु पर्दा माधव भँडारीज्यू बहुविधामा कलम चलाउनु हुने बहुआयामिक व्यक्तित्व हुनुहुँदोरहेछ भन्नुमा अतिशयोक्ति हुनेछैन।

Comments