आँसुको दह (कविता संग्रह)मा मेरो एक दृष्टि
कार्तिक ९, २०७८, मङ्गलबार | विहान १०:४० बजे | 60
डा इन्दुल केसी
कवि पदम दाहाल र किताबको संक्षिप्त परिचय
कवि पदम दाहालज्यू एक उदिएमान साहित्यकार हुनुहुन्छ । नेपाली साहित्य भण्डारमा कवि पदम दाहालज्यूको ‘आँसुको दह’ – कविता संग्रह एउटा नयाँ कृति थपिएको छ । दाहालजीका रचनाहरु नेपाल भूमि, हिमालय टाइम्स, गोरखापत्र, मधुपर्क आदि विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित भइ रहने भएकोले साहित्यिक पाठकहरुको माझ वहाँ चिरपरिचित हुनुहुन्छ । यसभन्दा पहिले वहाँका ३ वटा कृति ‘बादलका तरेलीहरु’ कविता संग्रह २०७६, ‘एक–अर्काका दृष्टिः दुई व्यक्तिका कृति’ कृति विश्लेषण, सहलेखन २०७७, ‘जीवन यात्रा (संस्मरण)ः डम्बरप्रसाद ढुंगान’ (सम्पादन, २०७६), किताबहरु प्रकाशित भइसकेका छन् ।
शब्द यात्रा प्रकाशनबाट प्रकाशन पुष्प १४० औं पुस्तकका रुपमा प्रकाशित यस किताबमा छन्द शास्त्रीय छन्दमा रचिएका ५३ वटा कविताहरु संग्रहित छन् । यस संग्रहमा स्राग्विणी छन्द, भुजङ प्रयात छन्द, अनुष्टुप छन्द, उपजाति छन्द, बसन्ततिलका छन्द, शार्दूल विक्रीडित छन्द, चित्रा छन्द र वंशस्थ छन्द गरी ८ वटा छन्दहरु आफ्नो कविताहरु पदमजीले पाठकको लागि पस्कनु भएको छ । छन्दले कवितालाई सरसता, ललितता, रोकता र मधुरता प्रदान गर्छ ।
यसमा संग्रहित रचनाहरुबारे शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीज्यूको प्रकाशकीय लेखमा पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञवर निरौलाज्यूले समीक्षात्मक भूमिकामा तथा रचनाकार स्वयम् दाहालज्यूको अग्रलेखनमा विविध पक्षबारे राम्ररी प्रकाश पार्नु भएको छ । किताबको शिर्षक आँसुको दह प्रतिकात्मक छ । संग्रहित ५३ वटा कविताहरुमा अनगिन्ती आँसुको थोपाहरु छन् । ती आँसुहरुको एउटा दह नै बन्न पुगेको छ । एउटा कविताको शीर्षकनै आँसुको दह रहेको छ । किताबको आवरण इ. रोशन मञ्जुश्रीले तयार गरेको आकर्षक आवरण चित्रमा आँखाबाट झरिरहेको आँसुका थोपाहरु तथा एउटा गहिरो दह रहेको छ ।
मानिसको सुखद् अवस्थाको हाँसोमा पनि आँसु निस्कन्छ, दुःखद् अवस्थाको रुवाइमा पनि आँसु निस्कन्छ । यी दुई अवस्थाको आँसुहरुलाई तुलना गर्दा सुखद् अवस्थाका हाँसकोका साथ निस्केका आँसु शीतल चिसो र दुःखमा रुदा निसक्ने आँसु केहि गरम नूनिलो हुन्छ । रसायन शास्त्रको आधारमा विश्लेषण वर्गीकरण गरिएको आँसुले स्वास्थ्यमा पर्ने प्रभावबारे एउटा छुट्टै चर्चा गर्न सकिएला । तर यहाँ साहित्यिक कुराको विवेचनालाई मात्र समावेश गर्नु सान्दर्भिक ठान्दछु ।
संकलित कविताहरुको शीर्षकहरुलाई केलाउँदा भक्तिवाभ ईश्वर वन्दना, प्रकृति प्रेम, राष्ट्र प्रेम, जन्मथलो, मातृभूमिको प्रेम, युवा प्रेम (जवानीको रसरङ), नेपालीहरुका चाडबाड, संस्कृतिका साथै सन्देशमूलक सचेतना प्रदान गर्ने आदि विषयमा कविताहरु रचिएका पाइन्छन् ।
कविजीले उल्लेखित विषयहरुमा आफ्नो मनमा उब्जेका भावहरुलाई पोखिँदै रचिएका ५३ वटा कविताहरु मध्ये एउटा कविताको शीर्षकनै आँसुको दह राख्नुभएको छ । अनुष्टुप छन्दमा रचिएको यस कवितालाई १२ वटा श्लोकमा विभक्त गरिएको छ । कविताको शीर्षक स्वयम् प्रतीकात्मक छ । कविताको छैठौं र ११ औं श्लोकमा गरी २ पटक आँसुको दह शब्द प्रयोग भएको छ । भिक्षा माग्न आउने भिक्षुकले शोक–सुर्ताको कारणले, नव जात बालकले आफ्नो गर्भबाट निस्कँदा पर्ने शारीरिक कष्टका कारणले आँसु झार्छन्, आँसु झार्दै भित्र मनमा परेको पीडालाई शान्त पार्न खोज्दछन् । तर यसरी आँसु झार्दैमा आँसुको दह संसारको रडाको दूर हुन्छ कि भनी कविजी प्रश्न गर्नुहुन्छ ।
आँसुको सुखद् कारण यौवनको अवस्थामा आफ्नी प्रियसीसँगको मिलनमा मनको पीर बोझ हटेको अनुभूति हुँदा आँखाबाट शीतल आँसु झर्ने कुरा यहाँ चर्चा गरिएको छ । आँसु बग्दा कविजी तेश्रो पक्षमा भन्नु हुन्छ ।
“पीडा आँसु तप्केको मर्म बुझ्ने मनुष्य हौ
दुखेको दिलमा शान्ति छर्ने बुद्ध र शिष्य हौ ।”
यस कविताको यो अन्तिम श्लोक कविजीले पाठकलाई दिनुभएको निचोड हो । चुनिएका सुन्दर शब्दहरु, छन्दोबद्ध लयात्मक भावभंगी र समाजलाई संंसारको यथार्थ सत्य सन्देश यस कविताले दिन खोजेको पाउन सकिन्छ ।
चुनिएका ८ वटा कविताहरु
यस कृतिमा रहेका ५३ वटा छन्दोबद्ध कविताहरुमध्ये ८ वटा प्रतिनिधि कवितालाई मैले छानेको छु । ती कविताहरुको संक्षिप्त रुपमा केहि चर्चा गर्ने जमर्को गरेको छु । हाम्रो धार्मिक मान्यता अनुसार कुनै पनि कार्यको सुरुवातमा सर्वप्रथम मङ्गालाचराको रुपमा शीर्षको कविता स्राग्विणी छन्दमा रचिएको सरस्वती बन्दना शीर्षक कविता रहेको छ । कविताको शीर्षकले नै यसको स्वरुपको आभाष दिन्छ । प्रत्येक वर्षको माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीको दिन विद्यादायिनी सरस्वतीको वन्दना, प्रार्थन गर्ने प्रचलन नेपाली समाजमा प्रचलित छ । हाँसको बाहन गरी हातले सङ्गीतको वाद्यवादन साधन विणा, पुस्तक धारण गरेकी सरस्वतीको मूर्ति या चित्र हामी सबैले देखिआएका छौं । ज्ञानको भण्डारको रुपमा रहेकी सरस्वती मातालाई सबैको आरध्य देवीका रुपमा पुजिन्छ ।
“बाहुमा तारबाजा लिने गीत हौ
ज्ञान भण्डारकी चाँदनी सीप हौ
भर्दिन् चेतना चेतमै उच्चता
सारथी देवकी धन्य हौ धीरता ।”
आध्यात्मिक भक्ति भावले भरिएको यस कवितालाई सस्वर बाचन गर्ने बेलामा सबैलाई देवी प्रति भक्तिभाव प्रकट गरिन्छ भन्ने लागेको छ । नेपाली भाषामा रचिएको यस कवितामा धेरै संस्कृत शब्दहरुको प्रयोग भएको देखिन्छ ।
छनौटमा परेको अर्को कविता वंशस्थ छन्दमा रचिएको “अनन्य ईश्वर” शीर्षकको कविता रहेको छ । यस कवितामा ब्रम्ह, ॐकार मन्त्र आत्मा, हंसमा रहेको चेतन तत्व जस्तो आध्यात्मिक विषयसँग सम्बद्ध अति गहन कुरा राखिएका छन् ।
“ मरेर मर्दैन जीवै मरे पनि
जलेर जल्दैन जीवै जले पनि
छ नित्य आत्मा हुनुछैन अन्त्य यो
छ हंसमा चेतनतत्व सत्वको ।”
गहन आध्यात्मिक विषयवस्तुलाई सरल रुपमा यस कविताको माध्यमबाट कवि पदमजीले प्रस्तुत गर्नुभएको छ । प्रचलित एउटा कहावट छ – बगेको खोला र बितेको समय फर्किदैन । समयका ३ वटा अवस्था भूत, वर्तमान र भविष्य हुन् । त्यसमा भूत र भविष्य मानिसका अधीनमा रहदैनन् । केवल वर्तमान समयलाई मात्र हामीले उचित तरिकाले प्रयोग गर्न सक्नु पर्छ, त्यसैमा सबैको हित छ । तर प्रायः मानिसको स्वभाव आफूले गर्नुपर्ने कतिपय महत्वपूर्ण काम वर्तमान समयमा नगरी पछि गरुँला भनी समय बिताइरहेको हुन्छ । कवि पदम दाहालजीले बसन्त तिलका छन्दमा “वेला बितेपछि पछुतो” शीर्षकको कविता रच्नुभएको छ । यस कवितामा मानिसहरु कमाउ धन्दमा मात्र लागेर पाठ पूजना धर्म कर्म जस्ता पवित्र कार्य पन्छाउनेहरुलाई बेला बितेपछि पछुताउनु पर्ला है भनी सचेत गराउन खोज्नुभएको छ ।
“दीर्घायु जीवन छ टन्न भनी बसेको
बेला छदैछ पछि गर्छु भनी पर्खेको
लाग्थ्यो कमाउन सकेजति लान्छु थैलो
बोक्नै दिँदैन तर काल अनिष्ट पैरो ।।७।।
बेला बितेपछि कठै ! पछुतो सिवाय
आत्मा उघार्न नपसे सुख छैन हाय ! ।।८।।
भनिन्छ, समय नै धन हो ।”
यहि सन्देश यस कविताले दिएको देखिन्छ ।
वर्तमान समयमा हाम्रो देशका धेरै मानिसहरु रोजगारी ‘नोकरी’ गरी धन कमाउने इच्छाले विदेश जाने गरेका छन् । विदेश गएकाले विदेशमा पसिना बगाई केही कमाइ पनि गरिरहेका छन् । विदेश जान म्यान पावर कम्पनिलाई लाखौं रुपैयाँ बुझाउन आफ्नो भएको खेतबारी बन्धक राखी चर्को ब्याज मोली ऋणमा डुबिरहेका हुन्छन् । कतिपय नेपाली विभिन्न कारणले विदेशको कारागारमा परिरहेका हुन्छ । अर्कोतर्फ दिनहुँ जसो विदेशमा मृत्यु वरण गरेका ठूलो संख्यामा नेपालहरुको लास नेपाल ल्याइरहेको कुरा पत्रपत्रिका समाचार प्रकाशन गरेबाट नै अवगत हुन्छ । कवि पदम दाहालज्यूले भुजङ्गप्रयात छन्दमा “म फिर्दैछु छोरो” शीर्षकको एउटा कविता यस सङ्ग्रहमा राख्नुभएको छ । यस कवितामा एउटा विदेशमा बस्ने छोरो मान्छे आफू स्वदेश फर्कदैछु भनी फर्कनुको कारण कवितालाई माध्यम बनाएर नेपाली समाजलाई जानकारी पढाइ रहेझैं लाग्छ ।
“न सम्झेर माटो नफर्केर गाउँ
सबै शून्य भो शून्य सुन्दैछु ठाउँ
म फिर्दैछु छोरो ढिलो भो म फिर्न
छ बाँझै बिरौटो छ रुम्टो विदीर्ण ।।”
६ वटा चरणको यस कविताले विदेशको मोहभंग गरी स्वदेशसित माया बसाई ममताको बखान गरिएको यो कविताले वर्तमान विदेश जान लर्को लाग्नेको लागि सचेत तुल्याउँछ । यस कविताले विदेशिन खोज्नेहरुलाई एउटा गतिलो स्वदेश प्रेमको पाठ सिकाएको छ । कवितामा प्रयोग भएका केहि शब्दहरु – फिर्दैछु, फिरौं, राँटो, पाला, विरौटो, रुम्टो, विदीर्ण आदिलाई आम नेपालीहरुले बोलिने चलन चल्तिका शब्दहरु यस कवितामा प्रयोग भएका छन् भन्न लाग्छ । अनुप्रासयुक्त शब्द शब्दावली अत्यन्त मिठो शैलीमा उपयुक्त पारी राखिएका छन् भन्ने लाग्छ ।
अब अर्को शार्दूल विक्रीडित छन्दको “मेरो आत्मीय सङ्खुवासभा” शीर्षकको कवितातर्फ लागौं । आफू जन्मेको जन्मथलो, जहाँ हुर्के बढेको ठाउँ हुनाले त्यस्तो जन्मथलो सबैलाई प्यारो लाग्छ । कवि हृदय भएकाहरुले कवितामा आफ्नो जन्मथलोको बयान गर्ने प्रचलन नेपाली साहित्यमा उल्लेखनीय उदाहरण पाइन्छन् । कवि पदमजीको यस कविताको चर्चा गर्द प्रसङ्गवस युग कवि सिद्धिचरण श्रेष्ठज्यूको – “मेरो प्यारो ओखलढुंगा” सम्झिन पुगिन्छ । त्यस कवितामा श्री सिद्धिचरण श्रेष्ठज्यूले जस्तै कवि पदम दाहालज्यूले पनि उक्त कविता रच्नुभएको भान हुन्छ । हाल मध्यपुर ठिमी लोकन्थली भक्तपुरमा बस्नु भएको छ तापनि जननी जन्मभूमीच स्वर्गादपी गरीयसी भन्ने महत्वपूर्ण श्लोकलाई आत्मसात गरी आफू जन्मेको सङ्खुवासभाको प्राकृति सौन्दर्य, नदी, नाला, भौगोलिक अवस्था त्यहाँ भएका विभिन्न जडिबुटी लगायत कुराको वर्णन यस कवितामा उहाँले गर्नुभएको छ ।
“प्राणीले बलशक्ति उर्वरपना हावा र पानी लिने
हाम्रै भाग्य सजाउने जगत हो दामी दिलासा दिने
बाहै्रकाल विलुप्त छन् विविधता आहलाद सम्पन्नता
चिन्तामा मुटुमै छ गर्व जननी ! को भूल्छ आत्मीयता ?”
नेपाली भाषाको गीत गायन क्षेत्रमा दोहोरी गीतको प्रचलन नयाँ होइन । विशेषगरी गाउँघरको चौतारीमा गाउँका केहि सङ्गीत प्रेमीहरुको उपस्थितिमा युवा र युवतीले एक अर्कालाई माया प्रीतिका कुरा, एकअर्कालाई अलि छेडछाडका कुरा व्यङ्ग्यात्मक गीतको भाखामा मिलाइ प्रस्तुत गर्ने पनि गरिन्छ । हिजो आज यो दोहोरी गीतको प्रचलन सहर बजारमा पनि दोहोरी साँझ, डान्सबारहरुमा प्रयोग हुन थालेको छ ।
आँसुको दह कविता सङ्ग्रहमा “जवानीको राग र कल्पनाको दरबार” शीर्षकको उपजाति छन्दमा एउटा कविता रचिएको पाइन्छ । यस कवितामा युवतीले प्रस्तुत गरेका ३ चरण र युवले प्रस्तुत गरेका ३ चरणको छन्दोबद्ध कवितामा एक आपसको पे्रमिल सम्बन्ध झल्किन्छ । युवतीलाई लागेको जवानीको राग यस्तो छ ।
“म यारको खोज हजारमा छु
म मूलढोका निर द्वारमा छु ।”
जवानी उमेरमा युवती जो प्रकृतिको प्रतीक हो उसलाई पुरुषको आवश्यकता पर्छ र उसले कुन पुरुष जीवन साथी बनाउने खोजमा लागेकी हुन्छे । यो स्वभाविक र प्रकृतिजन्य उद्गार हो । यस कवितामा युवकले दिएको जवाफ भने यस्तो छ ।
“मुहूर्त, बेला शुभ बारमा छु
मिठास मोहान्ध छ प्यारमा छु ।
नौलो जुनीको अवतारमा छु
म कल्पनाको दरबारमा छु ।”
उक्त जवाफका हरफहरुले युवक पनि मोहमा अन्धो बनेर प्यारमा रहेको र अनेकों कुराको कल्पनामा रहेको कुरा पोखिएको छ । जवानीमा माया प्रेम, भनेके प्रकृतिले नै विपरीत लिङ्गीप्रति आकर्षित गरिने सत्य कुरालाई पदम दाहालजीले यस कवितामा प्रस्तुत गर्नुभएको छ । हुनत सत्य र साँचो कुरा जुनसुकै उमेरकालाई पनि प्यारो लाग्दछ । माया प्रीतिका कुरा विशेषगरी युवा युवतीलाई नै अति प्रिय वस्तु हुन्छ । यस कवितामा प्रेम पाउन एकाङ्गी भैmँ बनेकी युवतीको आग्रहलाई युवकले सहर्ष स्वीकार गर्दैन । आफूले निज युवतीलाई बरु अर्को एकजना योग्य वर खोज्ने इच्छा प्रकट गर्दै युवतीको प्रेममा आफू फँस्न नचाहेको विचार अभिव्यक्त भएको छ ।
यस लेखको लागि छनौटमा परेको अन्तिम कविता “कोको होलो कोरोना” हो । चित्रा छन्दमा रचिएको यो कविता हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना जुन अत्यन्त सोचनीय अवस्थामा – कोको होलोको रुपमा छ । अति विकसित युरोप, अमेरिका मात्र होइन चीन बेलायत विकाशोन्मुख देशहरु र एशियाका धेरै देशहरुमा पनि कोरोनाले लाखौं मानिसको ज्यान गइसकेको अवस्था छ । यसको रोकथामको लागि अरबौं–खरबौं खर्च भइसकेको छ । उपचारको लागि कैयौं मानिस हस्पिटलमा उपचाररत रहेका छन्, कैयौं मानिस आइसोलेसनमा छन् । यस्तो विश्वकै लागि एउटा ठूलो समस्या र चुनौतीलाई विषय बनाएर पदमजीले यो कविता विश्व परिप्रेक्षलाई समेटेर लेख्नु भएको छ ।
“दन्क्यो ज्वालो, भुङ्ग्रालो भो अन्मियो देश देशै
कोको होलो भो, कोरोना विश्व साम्राज्य उस्ैछ
खायो, बुत्यायो रित्यायो राक्षसी, राक्षसै भो
दौड्यो पौड्यो पस्ता रकौलो भाग्य दुर्भाग्यझैं भो”
कविजीले कोरोनालाई राक्षसको प्रतीकको रुपमा लिनु भै त्यो राक्षसको ताण्डव नृत्यलाई यहाँ बडो रोचक ढंगले प्रस्तुत गर्नुभएको छ भन्ने लाग्छ । कोरोनाले आज विश्वलाई तहसनहस बनाइरहेको परिप्रेक्ष्यमा यो कोरोनाले मानव जंगलमा तहल्का मच्चाएको वास्तविक यथार्थलाई काव्यात्मक भावमा उनेर यो कविता उहाँले रच्नु भएको छ ।
८८८८