ऐनाभित्र एक कित्ता जिन्दगी
असोज २८, २०७८, बिहीबार | दिउँसो ०३:०३ बजे | 50
पदम दाहाल
बाल सुलभ उमेर कटाएर हुर्किन्छु
जतिजति उमेरका सिँढी र पिँडीहरू उक्लिन्छु
उचालिन्छु किशोरावस्थामा
तब एक्लै लजाउन मन लाग्छ आफैँसित
हेर्दा हेदै अफ्ट्यारो भैसक्छु एक्लै एक्लै
कसैका लागि लोभलाग्दो कसैका लागि हुनसक्छु मातलाग्दो
हेरूँ हेरूँ लाग्छ ऐनाभित्र पसेर
खेलूँ खेलूँ लाग्छ आफु मात्रै बसेर
शरीरका एकेक अङ्ग प्रत्यङ्ग नियालेर
बन्छु रोमाञ्चित एक्लै एकान्तमा
आफ्नै ऐनासितको आत्मीय पारखी विम्बमा
उसैसँग अँगालो हालेर
मायापीर्ति बसाउँछु म
हर्ष बिभोर गराउँछ उसले
बिर्सनै नमिल्ने जिन्दगीको यौटा मोड गँसाउँछ
कहिले जिउभरि काउकुती भराउँछ
कहिले हठात् साउती मारौं कि झैं गर्न लाउँछ
चियाउँछ उसैले नियाली नियाली मभित्र
मेरो अन्तरङ्ग र आत्मसन्तुष्टिको मर्मभेदनभित्र
अनि पलाउँछन् उत्कट अभिलाषा
आफ्नै अन्तर कुन्तर तन र मनभरि
हेरेर थाक्तै नथाकेका लालची जोडी नयनभरि ।