शब्दयात्रा प्रकाशनका दुई पुस्तक लोकार्पण
असोज १९, २०७८, मङ्गलबार | दिउँसो ०३:१६ बजे | 55
धुलिखेल । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई पुस्तकलाई मंगलबार धुलिखेलमा एक कार्यक्रम गरी लोकापर्ण गरियो । कालिकोटका नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ द्वारा लिखित लघुकाव्य ‘कुमारी सिन्दुर’ लाई शिक्षासेवी रामप्रसाद अधिकारीले र काभ्रेपलान्चोकका हर्षनारायण कर्माचार्यको लेखसङ्ग्रह ‘संस्मरण र आत्मवृत्तान्त’ लाई लेखक डा. इन्दुल केसीले सार्वजनिक गर्नुभयो ।
शब्दसारथि हरि मञ्जुश्री सभापति, गीतिभास्कर मच्छेश्वर सापकोटा अतिथि, कवि पदम दाहाल सञ्चालक र लेखक प्रकाशबहादुर कायस्थ पुस्तकका टिप्पणीकार रहनुभएको आजको कार्यक्रममा माधवप्रसाद आचार्यले कार्यक्रमको उद्घाटन, लेखक साधुराम गिरीले स्वागत मन्तव्य, कवि शारदाप्रसाद शर्माले नगेन्द्रप्रसाद आचार्य ‘विरामरश्मि’ को र लेखिका निर्मला श्रेष्ठले हर्षनारायण कर्माचार्यको परिचयात्मक जानकारी प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अमृत अधिकारी र सहदीप पलान्चोकेले रुद्राक्षको माला र कवयित्री पुण्यवती घलेले उपहार समर्पण गर्नुभएको थियो भने सङ्गीता केसी र दीपक तिमल्सिनाले सामग्रीको व्यवस्थापन गर्नुभएको थियो । प्रकृति प्याकुरेलले फेसबुक लाइभ गराउनुभएको आजको कार्यक्रममा शिक्षासेवी चूडाप्रसाद चौलागाई, पत्रकार प्रदीप केसी, कवि केदारनाथ तिमल्सिना, शकुन्तला बन्जारा, रामचन्द्र थापा, शिव गौतम, दीपकराम भण्डारी, पुरुषोत्तम हुमागाई आदिको उपस्थिति थियो । यी दुई पुस्तकसहित शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकको सङ्ख्या १ सय ५८ पुगेको जनाइएको छ ।