नव कविता वाचन कार्यक्रमको पाँचौँ शृङ्खला सम्पन्न


असोज ११, २०७८, सोमबार | विहान ०६:०४ बजे | 20


नव कविता वाचन कार्यक्रमको पाँचौँ शृङ्खला सम्पन्न

नव कविता वाचन कार्यक्रमको पाँचौँ शृङ्खला सम्पन्न भयो । शब्दयात्रा प्रकाशनको भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि डा अमर गिरी तथा विशेष अतिथि हरि मञ्जुश्री रहनुभएको थियो । संयोजक डिल्लीराम गौतमको अध्यक्षता तथा छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले सञ्चालन रहेको सो कार्यक्रममा पन्ध्र जना कविले कविता वाचन गर्नभयो । अतिथि कविका रूपमा कवि द्वय सुवास विभास (प्रदेश नं १, भोजपुर, त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष) तथा वास्मती राना थारू (सुदूर पश्चिम प्रदेश, कञ्चनपुर)ं हुनुहुन्थ्यो । यस्तै डा अमर गिरी (प्रमुख अतिथि) तथा हरि मञ्जुश्री (विशेष अतिथि) ले पनि कविता वाचन गर्नुभयो । अन्य सहभागी कविहरूमा डा इन्दुल केसी (शब्दयात्रा प्रकाशन), जीवनाथ अधिकारी (छन्द कविता मञ्च), डिल्लीराम गौतम (प्राञ्जल नेपाल), पदम दाहाल (शब्दयात्रा प्रकाशन), पुण्यवती घले (शब्दयात्रा प्रकाशन), प्रजापति तिमल्सिना (शब्दयात्रा प्रकाशन), बिरजा घिमिरे (छन्द कविता मञ्च), विनोद कोइराला (प्राञ्जल नेपाल), सुनिल सापकोटा (शब्दयात्रा प्रकाशन) हुनुहुन्थ्यो । कार्यक्रम साँझ ५ बजेदेखि करिब दुई घण्टा चलेको थियो । कार्यक्रमका प्रमुख अतिथि डा गिरीले मन्तव्यका क्रममा कविता हृदयग्राह्य र संवेदनायुक्त  हुनुपर्नेमा जोड दिनुभयो । कविताले हृदय परिवर्तन गरी सामाजिक परिवर्तसमेत गर्न सक्नुपर्ने उहाँको निष्कर्ष थियो । त्यस्तै विशेष अतिथि हरि मञ्जुश्रीले प्रस्तुत सबै कविताको सङ्क्षिप्त विश्लेषण गर्दै कविता समाजका लागि हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम सञ्चालक जीवनाथ अधिकारीले यो शृङ्खला अनुष्टुप छन्दमा सञ्चालन गर्नुभएको थियो । वाचित कविताहरू शास्त्रीय छन्द, मुक्त छन्द र गीति लयमा रचना गरिएका थिए । आगामी छैटौँ शृङ्खला असोज २३ गते सञ्चालन हुने जानकारी छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले गराउनुभयो ।

Comments