कर्मयोद्धासँग शब्द संवाद


साउन ३१, २०७८, आइतबार | विहान १०:४७ बजे | 30


कर्मयोद्धासँग शब्द संवाद

डा. इन्दुल के. सी.
पृष्ठभूमि
    विगत केहि वर्ष पहिलेदेखि शब्दयात्रा प्रकाशन काभ्रेद्वारा साप्ताहिक प्रवचन कार्यक्रम गर्ने गर्दथ्यो । यस कार्यक्रममा काभ्रे जिल्लाकासाथै अन्य जिल्लाहरुका विशिष्ट विद्वान्हरु, साहित्यिक व्यक्तिहरुको भेला हुने गर्दथ्यो । प्रत्येक हप्ता शुक्रबार हुने यस कार्यक्रममा कार्यक्रमको नाम अनुरुप विशिष्ट वक्ता र उपस्थित श्रोताहरुकोबिचमा अन्तरक्रिया हुने गर्दथ्यो । यसै कार्यक्रमको ६१ औं श्रृंखलामा आयोजक संस्थाले मलाई (इन्दुल) वक्ताको रुपमा आमन्त्रण गरेको थियो । शब्दयात्रा पत्रकार समाजका सदस्य, सञ्चारकर्मी तथा माध्यमिक विद्यालयका शिक्षक श्री शिव बन्जाराज्यूको सभापतित्व एवं काठमाडौं विश्वविद्यालय, धुलिखेलका एशोसियट प्रोफेसर डा. हेमराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम, शब्दयात्रा पाठक समाजका संयोजक श्री दामोदर घिमिरेज्यूले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरु
    त्यो दिनको कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष श्री हरि मञ्जुश्री, सदस्य श्री कृष्णमणी कुईकेल, ‘नेपाल भूमि साप्ताहिक’का कार्यकारी सम्पादक श्री चूडाप्रसाद चौलागाई, अग्रज लोकगायक गीती भाषकर श्री मच्छेश्वर सापकोटा, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, लेखकद्वय श्री जगन्नाथ गिरी र श्री केदारनाथ तिमिल्सीना, शिक्षासेवीद्वय श्री फनिन्द्रराज अधिकारी र श्री खड्गप्रसाद सापकोटा, रंगकर्मी श्री चन्द्रमान सुवाल, समाजसेवीज्यूहरु श्री छविलाल कुईकेल, श्री सहदीप पलाञ्चोक, श्री हरि प्रपन्न आचार्य, श्री कमलनयन उपाध्याय, श्री शकुन्ताला बन्जारा, श्री त्रिरत्न रजिंतकार, श्री धनराम सुवाललगायतका महानुभावहरुको उपस्थिति थियो ।
कार्यक्रमको रुपरेखा
    आयोजक संस्थाले मलाई प्रवचनको लागि दिएको विषय ‘स्वास्थ्य र उपचार’ थियो । मैले कार्यक्रमको शुरुमा विषयसँग सम्बन्धित मेरो रचना ‘उपचार’ शीर्षकको एउटा कविता प्रस्तुत गरेको थिएँ ।
 
प्रवचनको सारांश
    उक्त कविता वाचनपछि मैले प्रवचनको क्रममा निम्न कुराहरु प्रस्तुत गरेँ ः
संसारमा प्रचलित विभिन्न उपचार पद्धतिहरु – एलोपेथी (आधुनिक उपचार पद्धति), वैकल्पिक भनिएका अन्य उपचार पद्धतिहरु आयुर्वेद, प्राकृतिक चिकित्सा, जडिबुटी प्रयोग, उपचारात्मक योग (आसन, प्राणायाम, ध्यान), पञ्चतत्व (जल, वायु, अग्नि, माटो, आकाश), जापानी रेकी, कोरियन सुजोक, चुम्बक प्रयोग, धामीझाँक्रीद्वारा गरिने झारफुक, ज्योतिष–पण्डितहरुद्वारा ग्रह–नक्षत्रको प्रभावबाट लाग्ने दशा आदिबाट हुने रोगको उपचारका लागि गरीने मन्त्रतन्त्र, पूजापाठ इत्यादि सम्बन्धमा चर्चा गरियो ।
वर्तमान समयमा कोही व्यक्ति बिरामी भयो भने उपचारका लागि लाग्ने खर्च (आर्थिक भार), डाक्टर, वैद्य तथा अन्य उपचारकहरुले लिने शुल्कका सम्बन्धमा पनि चर्चा गरियो । प्रस्तुत भएको प्रवचनको छोटकरी रुप मात्र यो लेखमा समावेश गरेको छु ।

अन्तमा
    सहभागीहरुमध्ये निम्न महानुभावहरुको प्रतिक्रिया निम्न अनुसार रह्यो ः
१) श्री शिव बन्जारा ः आजको आवश्यकताका सम्बन्धमा अत्यन्त गहन विचार प्रस्तुत भएको छ ।
२) डा. हेमराज काफ्ले ः मेरो लागि यहाँसँगको (डा.इन्दुल केसी) चिनजान नै महत्वपूर्ण रह्यो । अनुभवले खारिएका अभिव्यक्तिहरु ज्ञानवद्र्धक र सान्दर्भिक थिए ।
३) श्री हरि मञ्जुश्री अधिकारी ः अचेल चिकित्सा क्षेत्रको जुन विधालाई वैकल्पिक उपचार पद्धति नाम दिइएको छ, त्यो नै यथार्थममा वास्तविक उपचार पद्धति हो, वैकल्पिक होइन । ‘वैकल्पिक’ त ‘एलोपेथिक’ चाहिँ हो । यो कुरा सबैलाई बुझाउन डा. इन्दुल केसीले प्रवचन कार्यक्रमहरुलाई भविष्यमा पनि निरन्तरता दिनुपर्छ भन्ने मलाई लाग्छ ।
४) श्री मच्छेश्वर सापकोटा ः सादा जीवन उच्च विचारका धनी व्यक्तित्व आदरणीय डा. इन्दुल केसीले प्रमुख वक्ताका रुपमा ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा बोल्नुभएका अभिव्यक्ति अत्यन्त मर्मस्पर्शी लाग्यो ।
५) श्री धनराम सुवाल ः कार्यक्रममा प्रस्तुत भएको परिचय र ‘उपचार’ शीर्षकको कविता, एलोपेथी र वैकल्पिक उपचार, डाक्टर र वैद्यको शुल्कका सम्बन्धमा गरिएको चर्चा–परिचर्चा, सहभागीहरुलाई पनि सबै बुँदाहरुमा बोल्न लगाई विचार आदानप्रदान गरिएको तरिका साह्रै राम्रो र सान्दर्भिक छ ।
६) पुण्यवती घले ः (क) वैकल्पिक उपचार विधिका बारेमा अझ बढी प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । (ख) वैकल्पिक उपचार केन्द्र पनि विभिन्न स्थानमा सञ्चालन गर्न सकिएमा अझ सुनमा सुगन्ध हुने थियो ।
७) श्री हरि प्रपन्न आचार्य ः जडिबुटी पहिचान र उपचार पद्धतिलाई धेरै व्यक्तिले नचिनेका र नजानेका कारण यो कुरा पछाडि परेको जस्तो लाग्छ ।
८) श्री चूडाप्रसाद चौलागाई ः ‘कर्मयोद्धासँग शब्दसंवाद’मा तपाईले व्यत्तः गर्नुभएका सबै कुरा जीवनसँग अति नै सान्दर्भिक छ ।
९) श्री चन्द्रमान सुवाल ः मानिसमा रोग लागेपछि उपचारबाट थोरैले मात्र लाभ प्राप्त गरी बाँच्न सकेको पाइन्छ । यस कार्यक्रममा उपस्थित सबै युवा, महिला, विद्वान्हरुले डा. इन्दुल केसीले प्रस्तुत गरेको प्राकृतिक उपचार बारेको ज्ञान या जानकारीले धेरै उपयोगी छ ।
    यस कार्यक्रमको अन्तमा मैले कार्यक्रमको आयोजक संस्था शब्दयात्रा प्रकाशन र उपस्थित सबैलाई धन्यवाद र आभार व्यक्त गरी कार्यक्रम अन्त गरेँ । यो लेख २०७५ कार्तिक ६ गते ‘नेपालभूभि राष्ट्रिय साप्ताहिक’ पत्रिकामा प्रकाशित समाचारमा आधारित छ ।


Comments