अचेल भगवान कहाँ गए ?


साउन ५, २०७८, मङ्गलबार | विहान ०१:१४ बजे | 50


अचेल भगवान कहाँ गए ?

सुनील सापकोटा   

अचेल भगवान देखिदैन 
कता गएछन्  ?
कहाँ  हराएछन् ?

मन्दिरमा, मस्जिदमा, गिर्जाघरमा 
पूजामा, किर्तनमा,सत्संगमा 
पहाडमा , गुफामा, हिमालमा
शहरमा , गाउँमा , जङ्गलमा 
सबैतिर सोधियो 
चारैदिशा खोजियो
कसैले पनि बताएनन् 

राजनीतिको भिडमा खोजियो
युद्धको रणभूमिमा खोजियो
तिर्थस्थलहरु र जात्राहरुमा खोजियो
लोकतन्त्र, गणतन्त्रमा खोजियो
भौतिकवाद र अध्यात्मवादमा पनि  खोजियो
तर कतैपनी देखिएनन् 

जति साधनागर्दा पनि 
जति सत्संग गर्दा पनि
जति भक्तिगर्दा पनि
जति भजन गाउँदा पनि 
जति दान गर्दा पनि 
जति तपस्या गर्दा पनि 
उनले दर्शन नै दिएनन् 
हराएको हराएै भए 

कहाँ गए ! कता विलाए ? 
कहाँ खोज्ने ? 
कसलाई सोध्ने ?
अब उनलाई  खोज्न 
दुई – चार ठाउँ मात्र बाँकी छ

अब गरीबहरुको भोको पेटमा खोज्नु छ 
अब बृद्ध—बृद्धाको सहारामा खोज्नु छ 
अब बालबालिकाको मायामा खोज्नु छ 
अब रोगी, विरामीहरुको औषधीमा खोज्नु छ 
अब दुःखीहरुको सुखःको आशामा खोज्नु छ 
अब त कि आफैलाई सोध्ने मात्र हो
अब त कि आफैमा खोजे मात्रै हो ..

Comments