राष्ट्र नै नाङ्गिएछ


असार २७, २०७८, आइतबार | दिउँसो ०१:०१ बजे | 10


राष्ट्र नै नाङ्गिएछ

जीवनाथ अधिकार

औँसीको रात कालो गगनबिच अहो ! मेघले छोपिएको
धर्ती जम्मै उदाङ्गो हरपल चुहुँदो रक्तझैँ रोपिएको ।
छातीका माझबाटै चलमल नगरी वारपारै भएझैँ
रुन्थ्यो रे देश हाम्रो अविचल पथमा कम्प ठूलो गएझैँ ।।१।।

पाहाडी माथदेखि तलतिर खुकुलो दृष्टिमा दृश्य देख्ता
धर्तीलाई सखारै सुरपुर नभमा काव्यको गीत लेख्ता ।
इन्द्रेनीका रँगैको झिलमिल पटुकी बारुली कम्मरैमा
मागौँ झैँ बास बस्तै तल तल वनका सुन्दरीका घरैमा ।।२।।

फक्रेको लाल रङ्गी  वदन छ हँसिलो मुस्कुराएर हाँस्ने
केराका पातजस्तो फरफर नटझैँ मस्त भै नाच नाच्ने ।
देख्तैमा लोभ लाग्ने अति सरल कला नागझैँ बाङ्गिएछ
हेर्दाहेर्दै सुनौला जलप सब खसी राष्ट्र नै नाङ्गिएछ ।।३।।

झर्नाको निर्झरीमा अविचल मनका पोखिने स्वप्न मेरा
पन्छीका चिर्बिराहट स्थगन स्थगन भो भैसक्यो रे अबेरा ।
छैनन् बान्की परेका रहभरि सुकिला मत्स्यका चालढाल
लुप्तै भो शान्ति सारा जनमन छिचली क्या–न–मज्जा कमाल ।।४।।

निन्द्रा फालेर झट्टै सकअसक सबै हातमा हात लाई
यौटे झन्डा समाई जुरुजुरु बलले उठ्नुपर्ने छ भाइ ।
खाँडो ताजै छ ऐले चमचम खुकुरी दुष्टको ढाड ताक्ने

भुत्ते कैल्यै हुँदैनन् अविरल उँच छन् वीरको शान राख्ने ।।५।।

(अविदित यात्रामा प्रकाशित)

Comments