ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न


असार २, २०७८, बुधबार | विहान ११:०४ बजे | 30


ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न

जीवनाथ अधिकारी
भक्तपुर । “अग्रज दुव्र्यवहारविरुद्धको १६ औँ विश्व सचेतना दिवस” (१५ जुन) का अवसरमा भर्चुअल माध्यमबाट छलफल तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरियो । शब्दयात्रा प्रकाशन बनेपाको भक्तपुर सम्पर्क केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा पचहत्तर वर्षमाथिका  छ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै दुईओटा विषय ‘नव नेपाल निर्माणमा ज्येष्ठ नागरिकको भूमिका’ मा साहित्यकार हरि मञ्जुश्री अधिकारीले तथा ‘वैदिक–पौराणिक कालमा ज्येष्ठ नागरिकको अवस्था’ मा अध्यात्म चिन्तक डिल्लीराम गौतमले विषयवस्तु प्रस्तुत गर्नुभयो ।
शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्रका  संयोजक डिल्लीराम गौतमको सभापतित्व तथा  पूर्व प्रशासक, लेखक तथा साहित्यकार अग्रज चन्द्रमान प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त छलफलमा विषयवस्तु प्रस्तोता हरि मञ्जुश्री अधिकारीले वर्तमानमा  ज्येष्ष्ठ नागरिकको अवस्था, परवार तथा समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार, ज्येष्ठ नागरिकप्रति राज्यको दृष्टिकोणबारे चर्चा गर्दै वृद्धाश्रममा होइन, ज्येष्ठ नागरिकलाई परिवारमै ससम्मान स्थापित गरी उनीहरूका अनुभवजन्य ज्ञान र व्यवहारलाई आत्मसात गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यसै गरी अर्का प्रस्तोत डिल्लीराम गौतमले  पूर्व–प्राचीन हाम्रो समाजमा वृद्धवृद्धा अतीव सम्माननीय रहेका, उनीहरूले आर्जन गरेका ज्ञान र सिपलाई नै अहिले हामीले वैज्ञानिकीकरण तथा आधुनिकीकरण गर्दै उन्नतिपथमा लम्किरहेका छौँ भन्नुभयो । 
प्रमुख अतिथिका आसनबाट मन्तव्य व्यक्त गर्दै चन्द्रमान प्रधानले ज्येष्ठ नागरिकलाई आदर, सम्मान ्र माया गर्नुपर्ने, सरकारले उनीहरूको ज्ञान र सिपलाई ससम्मान उपयोग गनुपर्ने तथा समाजले सदैव उच्च मर्यादामा राख्नुपर्ने कु्रामा जोड दिनुभयो । 
छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले सञ्चालन गर्नुभएको उक्त छलफलमा भाग लिँदै पदम दाहाल, सुनिल सापकोटा, प्रजापति तिमिल्सिनाले पनि आ–आफ्ना धारणा प्रस्तुत गर्नुभयो । कार्यक्रममा ७५ वर्षमाथिका छ जना वरिष्ठ सर्जक व्यक्तित्वहरू चन्द्रमान प्रधान, काठमाडौँ, डा. इन्दुल केसी, भक्तपुर, पशुपतिमान पमाँ, भक्तपुर, ओतबहादुर खड्का, बनेपा, चुडाप्रसाद चौलागाईँ, बनेपा तथा केदारनाथ तिमिल्सिना, बनेपालाई सम्मान प्रदान गरिएको थियो । 
कार्यक्रममा वरिष्ठ गायक द्वय मच्छेश्वर सापकोटा तथा सरस्वती सापकोटाले ज्येष्ठ नागरिकहरूको बारेमा आधारित हृदयस्पर्शी गीत प्रस्तुत गर्नु भएको थियो भने बिरजा घिमिरे, देवु लुइँटेल, सीता सुवेदी पन्थी, पदम दाहालले ज्येष्ठ नागरिकका सम्मानमा छन्दोबद्ध कविता वाचन गर्नुभएको थियो । 
सम्मानित व्यक्तित्वका तर्फबाट डा. इन्दुल केसीले वृद्धवृद्धाहरूले भोग्न’परिरहेका तिता यथार्थको चित्रणसहित कविता वाचन गर्नुभएको थियो भने अर्का व्यक्तित्व पशुपतिमान पमाँले पनि वृद्धवृद्धाहरूको अवस्था घर–परिवारमा नै दर्दनाक रहेको भन्दै उनीहरूलाई समाजका गहनाका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
कार्यक्रम सञ्चालक जीवनाथ अधिकारीले शब्दयाात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्रले आगामी गुरुपूर्णिमाको अवसरमा विशेष  कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो । 
कार्यक्रम जुमबाट साथै छन्द कविता मञ्चको फेसबुक पेजबाट प्रत्यक्ष (लाइभ) प्रस्तुत गरिएको थियो । 

Comments