कोरा भक्तपुर २०२६ : साइकलमार्फत समुदाय सशक्तीकरणको अभियान


असार २५, २०८३, बिहीबार | राति ०८:४६ बजे | 50


कोरा भक्तपुर २०२६ : साइकलमार्फत समुदाय सशक्तीकरणको अभियान

भक्तपुर, असार २५

भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित 'कोरा यात्रा @ भक्तपुर २०२६' आयोजना हुने भएको छ। साइकल कनेक्ट भक्तपुरले बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गरी यस वर्षको कोरा कार्यक्रमलाई "सशक्तीकरण (Empowerment)" लाई मूल विषय बनाएर सञ्चालन गर्न लागिएको जानकारी दिएको छ।

सन् २०२१ मा केही साइकलप्रेमी युवाको पहलमा स्थापना भएको साइकल कनेक्ट भक्तपुरले नियमित सामूहिक साइकल यात्रा, सम्पदा राइड, सीपमूलक तालिम, जनचेतनामूलक अभियान तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्दै भक्तपुरमा दिगो साइकल संस्कृतिको विकासमा काम गर्दै आएको जनाएको छ। संस्थाले "पेडल र पैदलमैत्री शहर" को अवधारणालाई अघि बढाउँदै समुदायको सहभागितामार्फत दिगो साइकल संस्कृति निर्माण गर्ने लक्ष्य लिएको छ।

आयोजकका अनुसार कोरा साइकलिङ च्यालेन्ज सन् २०११ मा काठमाडौंबाट परोपकारी उद्देश्यका साथ सुरु भएको अभियान हो, जुन अहिले नेपाल र हिमालय क्षेत्रकै सबैभन्दा ठूलो सामुदायिक तथा च्यारिटी साइकल अभियानका रूपमा विकास भएको छ। प्रतियोगिताभन्दा पनि सहभागिता, व्यक्तिगत चुनौती, सामाजिक उत्तरदायित्व र समुदायबीचको एकतालाई यस अभियानले प्राथमिकता दिने बताइएको छ।

साइकल कनेक्ट भक्तपुरले सन् २०२१ देखि स्वतन्त्र रूपमा "कोरा भक्तपुर" आयोजना गर्दै आएको छ। पहिलो संस्करणमा ५० जना सहभागी रहेको कार्यक्रममा अहिले हजारौँ साइकलयात्री सहभागी हुने गरेका छन्। करिब १०० किलोमिटरको मुख्य रुटले सम्पूर्ण भक्तपुर जिल्लाको परिक्रमा गराउँदै सहभागीलाई सम्पदा, संस्कृति, गाउँबस्ती र प्राकृतिक सौन्दर्यसँग प्रत्यक्ष जोड्ने उद्देश्य राखिएको छ।

यस वर्ष "कोरा यात्रा @ भक्तपुर" को अवधारणाअन्तर्गत समुदायलाई जोड्ने आधुनिक अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यक्रमले युवा नेतृत्व विकास, महिला सहभागिता, स्वयंसेवकमार्फत सामाजिक नेतृत्व निर्माण, स्थानीय व्यवसाय र पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सक्रिय जीवनशैलीलाई प्राथमिकतामा राखेको छ।

कार्यक्रम अन्तर्गत फोटो प्रदर्शनी, बाल खेल उत्सव, वृत्तचित्र प्रदर्शन, मनोरञ्जनात्मक गतिविधि तथा लक्की ड्रसहितका विविध कार्यक्रम सञ्चालन गरिनेछ। आयोजकका अनुसार यस अभियानले भक्तपुरलाई नेपालको प्रमुख साइकलिङ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यस वर्षको सामाजिक उद्देश्य "साइक्लिङ माइचा" अभियानमार्फत महिलाको सशक्तीकरण रहेको छ। अभियानअन्तर्गत किशोरी तथा महिलालाई निःशुल्क साइकल तालिम, सडक सुरक्षा शिक्षा, आत्मविश्वास अभिवृद्धि र नेतृत्व विकासका अवसर उपलब्ध गराइनेछ। दुई वर्षअघि सुरु गरिएको कार्यक्रममा हालसम्म करिब १३० महिलाले निःशुल्क साइकल तालिम लिइसकेको आयोजकले जनाएको छ।

१८ वर्षमुनिका बालबालिकाका लागि किड्स कोरा भक्तपुर २०२६ असार २७ गते आयोजना हुनेछ। करिब पाँच किलोमिटरको रुटमा हुने कार्यक्रममा साइकल सीप प्रदर्शन, सडक सुरक्षा सचेतना तथा खेलकुदमूलक गतिविधि समावेश गरिनेछन्।

मुख्य कोरा यात्रा @ भक्तपुर २०२६ भने साउन २ गते शनिबार नःपुखु परिसरबाट सुरु हुनेछ। यस वर्ष सहभागीका लागि २५, ५०, ७५, १०० र पहिलो पटक १५० किलोमिटरको 'सुपर कोरा' रुटसमेत समावेश गरिएको छ। १५० किलोमिटरको नयाँ रुटले भक्तपुरसँगै काठमाडौं र ललितपुरका रमणीय भू–दृश्य तथा ऐतिहासिक मार्ग समेट्ने आयोजकले जनाएको छ। कार्यक्रमको समापन सल्लाघारीस्थित नेवाः ननीमा हुनेछ।

Comments