नेकमा सकियो पहिलो चरणको प्रवेश परीक्षा
असार २५, २०८३, बिहीबार | राति ०८:२० बजे | 90
भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा शैक्षिक सत्र २०२६ इन्टेकका लागि विहीबार प्रवेश परीक्षा सम्पन्न भएको छ । विहीबार यो वर्षको पहिलो प्रवेश परीक्षा भए पनि दोश्रो चरणमा पुनः परीक्षा हुने कलेजले जनाएको छ ।
कलेजमा भर्ना प्रक्रिया सुरु भएसँगै विद्यार्थी तथा अभिभावकको उल्लेख्य चासो देखिएको कलेजले जनाएको छ । यो क्रम बिहीबार भएको पहिलो प्रवेश परीक्षामा पनि देखिएको थियो ।
कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले पूर्ववत जस्तै कलेजप्रतिको आकर्षण वढ्दो रहेको जानकारी गराए । सोही अनुसार प्रवेश परीक्षामा विद्यार्थीको उल्लेख्य सहभागी भएको उनले सुनाए । दसकौंदेखि प्राध्यापनमा रहेका उनका अनुसार अहिले इन्जिनियरिंगतर्फको प्राविधिक क्षेत्रमा विद्यार्थीको वढी चासो छ ।
पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपाल इन्जिनियरिङ कलेजले स्नातक तहमा आर्किटेक्चर, सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा डिप्लोमा धारका लागि सिभिल इन्जिनियरिङ (साँझ कार्यक्रम) सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि विभिन्न जिल्लाबाट विद्यार्थीहरू प्रवेश परीक्षाको तयारी र भर्ना प्रक्रियाबारे जानकारी लिन कलेज आएको र प्रवेश परीक्षामा सहभागी भएका थिए ।
कलेज प्रशासनका अनुसार गुणस्तरीय प्राविधिक शिक्षा, अनुभवी प्राध्यापक, प्रयोगात्मक सिकाइ, आधुनिक प्रयोगशाला तथा उद्योगसँगको सहकार्यका कारण विद्यार्थीको विश्वास निरन्तर बढ्दै गएको हो । कलेजले विगत ३२ वर्षदेखि प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको छ । देश तथा विदेशमा कार्यरत हजारौं इन्जिनियर उत्पादन गरिसकेको दाबी कलेजको छ ।
भर्ना खुला भएसँगै कलेज परिसरमा जानकारी लिन आउने विद्यार्थी तथा अभिभावकको चहलपहल बढ्दो थियो । विशेषगरी काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, मकवानपुर लगायत जिल्लाका विद्यार्थीले कलेजमा अध्ययन गर्ने इच्छा व्यक्त गरिरहेको जनाइएको छ ।
कलेजले यस वर्ष पनि महिला विद्यार्थीका लागि २० प्रतिशत आरक्षित छात्रवृत्ति, सातै प्रदेशका लागि छात्रवृत्ति योजना तथा आवश्यकताका आधारमा अन्य सहुलियतसमेत उपलब्ध गराउने जनाएको छ । यसले आर्थिक रूपमा कमजोर तर प्रतिभावान विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
शिक्षा क्षेत्रमा पछिल्ला वर्षहरूमा विदेश अध्ययनको आकर्षण बढे पनि देशमै गुणस्तरीय इन्जिनियरिङ शिक्षा लिन चाहने विद्यार्थीको संख्या उल्लेख्य रहेको कलेजको भनाइ छ । विशेषगरी सूचना प्रविधि, पूर्वाधार विकास, ऊर्जा, सञ्चार तथा डिजिटल प्रविधिसँग सम्बन्धित क्षेत्रमा दक्ष जनशक्तिको माग बढिरहेकाले इन्जिनियरिङ अध्ययनप्रति विद्यार्थीको आकर्षण कायम रहेको शिक्षाविद्हरूको धारणा छ ।
कलेजका अनुसार गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ, अनुसन्धानमुखी वातावरण र रोजगारमुखी शिक्षाका कारण नेपाल इन्जिनियरिङ कलेज विद्यार्थीको पहिलो रोजाइमध्ये एक बन्दै गएको छ ।
यस वर्षको भर्ना अभियानले पनि इन्जिनियरिङ शिक्षा प्रतिको आकर्षण घटेको नभई समयअनुसार नयाँ प्रविधि र रोजगारीका अवसरसँगै अझ सशक्त बन्दै गएको सन्देश दिएको छ ।
नेपाल इन्जिनियरिंग कलेज नाफा नलिने उद्देश्यका साथ सञ्चालित कलेज हो । यो कलेज भक्तपुरकै एउटा गौरबको रुपमा रहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...
