समुदायस्तरमा सुरक्षित वैदेशिक रोजगारी र मानसिक स्वास्थ्यबारे २३ वटा अभिमुखीकरण सम्पन्न
असार २४, २०८३, बुधबार | राति ०८:१० बजे | 120
भक्तपुर, असार २४ — वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा समुदायमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको समुदायस्तरीय अभिमुखीकरण कार्यक्रमअन्तर्गत २३ वटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन्।
चाँगुनारायण नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा सहभागीहरूलाई "स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं" भन्ने सन्देश दिइएको थियो। कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारी, वैदेशिक रोजगारीमा जानुअघि आवश्यक कानुनी प्रक्रिया, सीप विकास, श्रम स्वीकृति, श्रमिक अधिकार तथा विदेशमा हुन सक्ने जोखिम न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो।
यससँगै वैदेशिक रोजगारीका क्रममा तथा स्वदेश फर्किएपछि देखिन सक्ने मानसिक तनाव, चिन्ता, अवसादलगायत मनोसामाजिक समस्याबारे पनि सहभागीहरूलाई सचेत बनाइएको थियो। मानसिक स्वास्थ्य समस्यालाई लुकाउने वा कलंकका रूपमा हेर्ने प्रवृत्ति अन्त्य गर्दै आवश्यक परामर्श र सहयोग लिनुपर्नेमा कार्यक्रमले जोड दिएको आयोजकले जनाएको छ।
अभिमुखीकरणमा महिला, युवा, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समुदायका विभिन्न वर्गका व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना, आवश्यक सीप र कानुनी प्रक्रिया अत्यन्तै महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।
आयोजकका अनुसार समुदायस्तरमा सञ्चालन गरिएका २३ वटा अभिमुखीकरण कार्यक्रम मार्फत ठूलो संख्यामा स्थानीय नागरिकलाई सुरक्षित वैदेशिक रोजगारी र मानसिक स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गरिएको छ। यस्ता कार्यक्रमले वैदेशिक रोजगारीका क्रममा हुने ठगी, शोषण तथा मानव बेचबिखनको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा "मानसिक स्वास्थ्यप्रति सचेत बनौं, कलंक अन्त्य गरौं, स्वस्थ समुदाय निर्माण गरौं" भन्ने सन्देशलाई विशेष प्राथमिकताका साथ प्रवाह गरिएको थियो। आयोजकले भविष्यमा पनि समुदायमा यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै सुरक्षित आप्रवासन र मानसिक स्वास्थ्य प्रवर्द्धनका अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।
फाेटाेमा हेर्नुहाेस्...
