अस्पताल जानुपर्ने झन्झट सकियो !
असार २४, २०८३, बुधबार | राति ०७:४४ बजे | 105
ललितपुर महानगरले साउन १ देखि घरघरमै डाक्टर र औषधि पठाउने
नबराज काफ्ले
ललितपुर, २४ असार । ललितपुर महानगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षामा एउटा ऐतिहासिक र क्रान्तिकारी कदम चाल्ने घोषणा गरेको छ। अब ललितपुरका नागरिक बिरामी पर्दा अस्पतालसम्म दौडिनुपर्ने वा एम्बुलेन्स नपाएर छटपटाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। महानगरका लोकप्रिय मेयर चिरिबाबु महर्जनका अनुसार आउँदो साउन १ गतेदेखि महानगरभित्र कोही पनि व्यक्ति बिरामी परेमा मात्र एउटा संक्षिप्त नम्बर ‘११३१’ मा फोन गरे पुग्नेछ। फोन आएलगत्तै स्वास्थ्यकर्मीको टोली अत्याधुनिक सुविधासहित तपाईंको ढोकामै आइपुग्नेछ। के-के सुविधा पाइन्छ त यो नौलो सेवामा ? घरमै अस्पताल : ११३१ मा घण्टी बज्नासाथ डाक्टर, नर्स, आवश्यक औषधि र स्वास्थ्य सामग्रीसहितको विशेष एम्बुलेन्स बिरामीको घरमै ओर्लिनेछ। सुरुमै परीक्षण र उपचार: स्वास्थ्य टोलीले घरमै बिरामीको प्रारम्भिक जाँच गर्नेछ र सम्भव भएसम्म घरमै उपचार गर्नेछ। अस्पतालसम्मै 'स्कर्टिङ': यदि बिरामीको अवस्था गम्भीर छ र घरमा उपचार सम्भव छैन भने डाक्टर आफैँले 'रिफरल चिठ्ठी' तयार पारिदिनेछन् । त्यसपछि सोही एम्बुलेन्समार्फत बिरामीलाई सुरक्षित रूपमा उपयुक्त अस्पतालसम्म पुर्याइनेछ । धेरैजसो आपत्कालीन अवस्थामा समयमै एम्बुलेन्स र प्राथमिक उपचार नपाउँदा बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । महानगरको यो कदमले अस्पताल पुग्न लाग्ने समय (गोल्डेन आवर) को बचत गर्नेछ । नागरिकले आफ्नै आँगनमा अभिभावक सरकारको महसुस गर्न पाउने गरी सुरु हुन लागेको यो सेवा नेपालकै स्थानीय सरकारहरूका लागि अनुकरणीय मोडेल बन्ने अपेक्षा गरिएको छ । मेयरका अनुसार : "साउन १ देखि ललितपुरबासीले बिरामी पर्दा अस्पताल कसरी जाने भनेर आत्तिनु पर्दैन, ११३१ मा फोन घुमाउनुस्, डाक्टर-नर्स ओखती बोकेर तपाइँकै सेवामा हाजिर हुनेछन्।"
